२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरुको स्वागत गर्दै नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिइआएको बताउनुभयो ।

“भूकम्पलगायत प्राकृतिक विपत्तिमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति हामी आभारी छौँ, नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “हामी औद्योगिक विकास, निर्यात प्रतिस्पर्धी क्षमता विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।”

उहाँले मानव संसाधन विकासमा जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति (जेडिएस) योजनाअन्तर्गत विभिन्न क्षेत्रमा नेपालका सरकारी अधिकारीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएकामा जापान सरकारप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “नागढुङ्गा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा सुरुङ प्रविधिको सुरुवात गर्ने नेपालको प्रमुख कार्यक्रममा जापान नजिकको विकास साझेदार भएकामा खुसी व्यक्त गर्दछु ।”

जापान नेपालको एक महत्वपूर्ण व्यापार साझेदार तथा नेपाली वस्तुको महत्वपूर्ण गन्तव्यका रुपमा रहँदै आएको उल्लेख गर्दै उहाँले जापानले अति कम विकसित मुलुकलाई दिएको सामान्य ग्राह्यता प्रणालीको सुविधाबाट नेपाल पनि लाभान्वित भइराखेको बताउनुभयो ।

“नेपालमा वैदेशिक लगानी प्राप्त भइरहेका मुलुकमध्ये जापान पनि एक रहेको छ, नेपालमा सूचना प्रविधि, जलविद्युत्, पर्यटन, कृषिमा आधारित उद्योगजस्ता क्षेत्रमा लगानीको प्रशस्त अवसर तथा सम्भावना रहेका छन्, नेपाल सरकारले लगानीमैत्री तथा व्यावसायिक वातावरण प्रवद्र्धन गर्न नीतिगत तथा कानुनी सुधारलाई निरन्तरता दिइरहेको विषयसमेत म महामहिममार्फत सम्पूर्ण जापानी लगानीकर्तालाई जानकारी गराउन चाहन्छु”, मन्त्री भण्डारीले भन्नुभयो ।

जापानीहरुका लागि नेपाल महत्वपूर्ण गन्तव्य भइरहेको र नेपालमा जापानी पर्यटकको अलग्गै प्रतिष्ठा रहेको उल्लेख गर्दै उहाँले जापानी नागरिकलाई नेपाल भ्रमणका लागि थप प्रोत्साहित गर्न आग्रह गर्नुभयो ।

राजदूत तोरुले नेपाल र जापानबीच आगामी सन् २०२६ मा कुटनैतिक सम्बन्धका ७० वर्ष पूरा हुने उल्लेख गर्दै भविश्यका दिनमा पनि दुई देशबीचमा सम्बन्ध झन प्रगाढ हुँदै जाने बताउनुभयो । प्राकृतिक प्रकोप तथा विपद्मा दुई देशबीच आपसी सहयोग आदानप्रदान भएको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि जलवायु परिवर्तन एवं विपद्जन्य अवस्थामा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तोरुले नेपाली जनताको मौलिकता अनुसार जापान सरकारले नेपालमा उद्योग स्थापनामा सघाउने बताउनुभयो । साथै उहाँले नेपाली वस्तुको जापानी बजारमा राम्रो माग रहेको उल्लेख गर्दै नेपाली उत्पादनको गुणस्तर र परिणाममा ध्यान दिए बजार विस्तारमा कुनै समस्या नहुने बताउनुभयो । उहाँले नेपाली वस्तुको जापान निर्यातमा जापान सरकारबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो ।