काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्ड’मा तीन विधामा अवार्ड जित्न सफल भएको छ ।
कम्पनीले ‘सर्वश्रेष्ठ जीवन बीमा अवार्ड’, ‘बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड’ र ‘बीमा नेतृत्वमा महिला’ गरी तीन विधाका अवार्ड हात पार्न सफल भएको हो ।
यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेका थिए । यस कार्यक्रमले आईएमई लाइफ इन्स्योरेन्सका ग्राहककेन्द्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामूलक नेतृत्वको कदर गरेको छ ।
नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ ।
कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रूपमा सहभागी भएका थिए । उनीसँगै जिम विचर्डले आफ्नो २८ वर्षभन्दा लामो विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारे ।
कार्यक्रममा डा. राजीव सिंह, डाइरेक्टर जनरल (डीजी) आईसीसी, अतनु सेन, जिम बिचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पीडब्लूसीले विशेष सम्बोधन गरेका थिए ।










