२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा सुन्तला बिक्रीबाट २२ करोड बढी आम्दानी



अ+ अ-

काँक्रेविहार । जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष किसानले रु २२ करोडभन्दा बढी आम्दानी गरेका छन् । जाजरकोट कृषि विकास कार्यालयका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले रु २२ करोड दुई लाख ७१ हजार पाँच सय आठ आम्दानी गरेका हुन् ।

जिल्लाबाट दुई हजार सात सय ५३ मेट्रिक टन सुन्तला अन्य जिल्ला खपत भएको कार्यालयका सूचना अधिकारी नवीनराज आचार्यले जानकारी दिनुभयो । जिल्लामा छ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आइएको छ । गत वर्षको तुलनामा किसानले बोटबाट मनग्य मूल्य पाएकाले बजारीकरणमा समस्या नपरेको उहाँले बताउनुभयो ।

“यस वर्ष बोटबाट रु ५० देखि रु ८० प्रतिकिलो सुन्तला बिक्री भएको छ । किसानले सुरुमा रु ५० मा बिक्री गरेकामा अन्तिम समयसम्म प्रतिकिलो रु ८० सम्म मूल्य पाएका हुन्”, आचार्यले भन्नुभयो । उहाँका अनुसार जिल्लाको कुसे गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, भेरी नगरपालिका, बारेकोट गाउँपालिकामा सुन्तला उत्पादन हुने गरेको छ ।

किसानको खेतबारीमा पुगेर मल प्रयोग, काँटछाँट तथा औषधि दिनेसम्मको प्राविधिक सहायता दिएर सहयोग गरिरहेको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

कुसे–५ दम्दालाका किसान रामबहादुर मल्लले पछिल्लो समय सुन्तलाखेतीबाट मनग्य आम्दानी हुनुका साथै बजारीकरणको समस्या नरहेको बताउनुभयो । पहिले सुन्तलाका लागि बजारको समस्या भए पनि अहिले सुर्खेत, नेपालगञ्जबाट व्यापारी बारीमा पुग्ने खरिद गरेका उहाँको भनाइ छ ।

पहिले अन्नबाली लगाउने खेतबारीलाई किसानले आजभालि सुन्तला बारी बनाउन लागेका कुसे–५ दम्दालाकी जानुका मल्लले बताउनुभयो । उहाँका अनुसार खेतीपातीभन्दा सुन्तलाबाट आम्दानी बढी हुने भएकाले यसतर्फ आकर्षित भएका हुन् ।

पछिल्लो समय जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय, पालिकाका कृषि शाखाले किसानका लागि प्राविधिक तथा यान्त्रिकीकरणमा सहयोग गर्दै आएका छन् ।