२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो



अ+ अ-

महोत्तरी । महोत्तरीको उत्तरी भेगका वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाएका छन् । पूर्वपश्चिम राजमार्गक्षेत्र दायाँबायाँका वन नजिकका बस्तीमा पछिल्ला तीन दिनयता जङ्गली हात्तीको उपद्रो बढेको हो ।

गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका बस्तीमा समूह मै पसेका जङ्गली हात्तीले मध्यरातपछि उपद्रो मच्चाउने गरेको बर्दिबास–५ गणन्ताका ८५ वर्षीय धनबहादुर स्याङ्वा बताउँछन् । पछिल्लो एक सातादेखि दिनभरि वनक्षेत्रमा लुकेर राति बस्ती पस्ने हात्तीले बर्दिबास नगरक्षेत्रभन्दा गौशालामा बढी क्षति गरेको छ ।

बिहीबार रातीमात्र हात्तीले गौशाला–८ ढल्केबरमा पाँच/सातवटा गोठघर भत्काइ दिएको छ । गज, ढोइ र छावासहितको हात्तीको समूहले सागरनाथ वनविकास परियोजनाको प्लटसँगै जोडिएका गौशाला–८ का पाँचभन्दा बढी बस्तीमा उखु, केरा, कोवी, मकै र गहुँसहितका बाली उखेल्ने, माड्ने गरेर क्षति पुर्‍याएको छ । जङ्गली हात्तीको समूह बिहानपख बर्दिबास–५ को सोनापेटी, ढुङ्ग्रे र खयरमाराका दक्षिणीटोल पसेको स्थानीयले बताएका छन् ।

अधिकांश मध्यरातपछिको समयमा हात्ती बस्ती पस्ने गरेको र बिहान चार बजेअघि नै वनक्षेत्रको सुरक्षित बासस्थानतिर जाने गरेको गौशाला–८ ढल्केबरकै मीन रहपाल बताउँछन् ।

जङ्गली हात्तीले बर्सेनीजसो बर्दिबास र गौशालाका बस्तीमा उपद्रो मच्चाउँदै आएपनि यसको समाधान भने हुन सकेको छैन । हात्तीले गत वर्ष हिउँदमा बर्दिबास–३ पाटुमा दुई वटा घर नै लडाएर विचल्ली बनाएको थियो । त्यसअघि हात्तीले बर्दिबास–३ कै पर्साहीधाप र रजबासका सात घर भत्काएको पीडितले अझै बिर्सेका छैनन् ।

यसपालि सर्लाहीतिरबाट महोत्तरी पसेको हात्तीले एक साताअघि छिमेकका सर्लाहीका बस्तीमा बालीनाली निकै क्षति गरेको थियो । कहिले सिन्धुलीतिरबाट चुरे कटेर महोत्तरी पस्ने हात्तीले धनुषाको मिथिला नगरपालिकाको ढल्केबर शिरानका बस्तीसम्म उपद्रो मच्चाउने गरेको छ । पाँच वर्षअघि हात्तीले ढल्केबरमा घर भत्काएर मान्छेलाई सुँडले तान्दै पछारेर मारेको जनाइएको छ ।

यी जङ्गली हात्ती आफ्नो पुरानो बाटोमै हिड्ने गरेका वन्यजन्तुविज्ञको भनाइ छ । तर पछिपछि हात्तीका पुराना बाटा फाँडिएर घर बनेपछि त्यस्तै ठाउँ नजिक हात्तीको उपद्रो बढ्ने गरेको छ । हात्तीको बाटो एकअर्को पुस्तासँग जोडिदै आउने गरेको विज्ञ बताउँछन् । अहिले बाबुआमासँग आएको छावा पछि यही बाटो अनुसरण गर्ने र त्यसपछि उसँग हिड्नेसँग बाटोको सम्बन्ध जोडिदै जाने परम्परा बसेको हेमन्तप्रसाद साह बताउनुहुन्छ ।

अहिले हात्तीको उपद्रो बढेका बेला तत्काल वनसम्बद्ध कार्यालय र वन सुरक्षाकर्मीले यसको कुशल व्यवस्थापनको चाँजो मिलाउन पर्ने बर्सेनीजसो क्षति पु¥याउँदै आएको बर्दिबास–३ का वडाअध्यक्ष विराटकुमार विष्टको भनाइ छ । यसैबीच डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रले मातहतका सबै सवडिभिजन वन कार्यालय र वनसुरक्षा गस्तीलाई सचेतता अपनाउन र बस्ती पस्ने हात्ती धपाउने कार्यमा स्थानीयबासीसँग सहकार्य गर्न भनिएको बताए । रासस