९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण

भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण
अ अ+ अ-

काठमाडौँ। चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आवको अर्धवर्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार, विप्रेषण आप्रवाह (नेपाली मुद्रामा) चार दशमलव एक प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर चार दशमलव दुई प्रतिशतले वृद्धि भई रू आठ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ दशमलव एक प्रतिशतले बढेको थियो ।

अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ११ दशमलव सात प्रतिशतले वृद्धि भई दुई लाख ३० हजार चार सय ३९ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा समीक्षा अवधिमा २१ दशमलव चार प्रतिशतले वृद्धि भई एक लाख ६२ हजार ६ सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या छ प्रतिशतले घटेको थियो । यसरी वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको छ महिनाको तुलनामा १५ दशमलव पाँच प्रतिशतले बढेको छ ।

यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति रू दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा थियो । गत पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तको रू २० खर्ब ४१ अर्ब १० करोडको तुलनामा १३ दशमलव पाँच प्रतिशतले वृद्धि भई रू २३ खर्ब १६ अर्ब ८४ करोड कायम भएको छ ।

उक्त सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेकोमा १० दशमलव तीन प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा १६ अर्ब ८४ करोड अमेरिकी डलर कायम भएको छ । यो सञ्चिति १७ दशमलव तीन महिनाको वस्तु आयात र १४ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ । गत पुस मसान्तमा कायम कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २४ दशमलव तीन प्रतिशत रहेको छ ।

यस्तै, कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव आठ प्रतिशतले वृद्धि भई रू ९८ अर्ब ७९ करोड कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यातमा सात दशमलव दुई प्रतिशतले कमी आएको थियो । यो अवधिमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै, कुल वस्तु आयात सात दशमलव एक प्रतिशतले वृद्धि भई रू आठ खर्ब २२ अर्ब ३७ करोड कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु आयात तीन दशमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा कच्चा भटमास तेल, चामल, धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटामा चार दशमलव चार प्रतिशतले वृद्धि भई रू सात खर्ब २३ अर्ब ५८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा दुई दशमलव छ प्रतिशतले घटेको थियो । रासस