काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) गोमादेवी तिमिल्सिनाले पशुपति क्षेत्र विकास कोषमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारीहरुको यथाशिघ्र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले पशुपति क्षेत्र विकास कोषका कर्मचारी निरन्तर आन्दोलनमा भएपनि सरकार गम्भिर नभएको बताउनुभएको हो । उहाँले अदालतले श्रमिकका पक्षमा फैसला गरेको भएपनि सरकारले चासो नलिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘लामो समयदेखि आन्दोलनमा रहेका पशुपति विकास कोषका श्रमिकहरुको बारेमा जानकारी छैन कि भनेर फेरि जानकारी गराउन खोजेको छु । ३७ जना महिला श्रमिकहरु दुई महिनादेखि आन्दोलनमा हुनुहुन्छ । उहाँहरु आन्दोलनमा लाग्न लागेको पनि दुई महिना वित्न लागेको छ । सरकारले त्यसबारेमा जानकारी नभएर हो कि चासो लिएको छैन । अध्यक्षज्युमार्फत सरकारलाई यो अनुरोध गर्न चाहन्छु ।’
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले डडेलधुरको परशुराम नगरपालिकामा छोटिभन्सार कार्यालय स्थापना गर्न माग गर्नुभएको छ । उहाँले परशुराम धाम नजिकै रहको छोटि भन्सार कार्यालय संघीयता आएसँगै खारेज भएको कारण स्थानीय प्रशासनबाट आम उपभोक्ता प्रताडित भएको बताउनु भयो । उहाँले तत्काल छोटि भन्सार कार्यालय स्थापना गर्न माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘डडेलधुराको परशुराम गरपालिकाको वडा नं ५ परिगाउँ भन्ने ठाउँमा छोटि भन्सार कार्यालय थियो । त्यो बन्द भएपनि त्यहाँबाट दुई सय भन्दा बढी मान्छेको ओहोर दोहोर हुने भइराख्छ । भारतबाट दशृनको लागि मान्छेहरु पनि आउने गर्छन । त्यहाँ छोटि भन्सार नहुँदा नागरिकलाई सानो सामान ल्याउँदा पनि स्थानीय प्रशासनले दुःख दिने काम गरेको छ । त्यहाँ तत्काल छोटि भन्सार कार्यालय स्थापना गर्न सरकारको ध्यानाकर्षण होस् भन्ने कुरा माग गर्न चाहन्छु ।’
उहाँले डडेलधुरामा परशुरामधाम समेत रहेको उल्लेख गर्दै स्थानीयको ओहोरदोहोर सजिलो बनाउन समेत माग गर्नुभयो ।










