
एजेन्सी । रजनीकान्तको सुपरहिट फिल्म कबाली (तेलुगु संस्करण)का निर्माता केपी चौधरी सोमबार आफ्नै घरमा मृत फेला परेका छन् । उनले झुण्डिएर आत्महत्या गरेका हुन् ।
रिपोर्टका अनुसार उनी आर्थिक समस्याबाट गुज्रिरहेका थिए । उनी उत्तर गोवामा भाडाको घरमा बस्थे । त्यहाँ उनको शव फेला परेको थियो । प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ ।
केपी चौधरीको पूरा नाम कृष्णप्रसाद चौधरी हो । सन् २०२३ मा उनी लागूऔषध मुद्दामा पक्राउ परेका थिए । पछि उनले जमानत पाए । तर, केही समयपछि नै उनको पतन सुरु भयो । नयाँ जीवन सुरु गर्ने आशामा उनी गोवा सरेका थिए । उनी ६–७ महिनादेखि गोवामा बस्दै आएका थिए ।
केपी चौधरीका साथीले आज बिहान सम्पर्क गर्ने प्रयास गरे पनि फोन नलागेपछि साथीले घरधनीलाई सम्पर्क गरे । घरधनी जाँच गर्न गएपछि केपी चौधरीको शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।
केपी चौधरी तेलंगानाको खम्मम जिल्लाका बासिन्दा थिए । उनले मेकानिकल इन्जिनियरिङमा बीटेक गरे । उनले पुणेको इन्जिनियरिङ इन्स्टिच्युटमा निर्देशकको रूपमा पनि काम गरे । त्यसपछि उनले रजनीकान्तको फिल्म कबाली निर्माण गरे ।
कबालीले ६५० करोड कमाएको थियो
रजनीकान्तको फिल्म कबाली २२ जुलाई २०१६ मा रिलिज भएको थियो । फिल्मले विश्वभर ६५० करोड रुपैयाँ कलेक्सन गरेको थियो । फिल्मको मूल भाषा तमिल थियो । यसको तेलुगु संस्करण केपी चौधरीले निर्माण गरेका हुन् ।