मोहम्मद सदरुल, विराटनगर । प्रदेश सभा सचिवालय प्रदेश न.१ विराटनगरको प्रदेश सभा भवनको आज यहाँ एक समारोहको बीच सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गर्नु भएको छ ।
सातौँ अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न स्वामीनारायण निर्माण सेवा प्रालि धरानले रु.दुई करोड ५१ लाख ८१ हजार ९७६ मा ठेक्कामा लिएको छ । निर्माण कम्पनिले अगामी फागुन मशान्त भित्रमा निर्माण कार्य सम्पन्न गर्ने सो भवन जिल्ला समन्वय समितिको परिसर भित्र निर्माण भइरहेको छ । हल करिव ३०० मानिस अट्ने क्षमता भएको सुविधा सम्पन्न हुने भनिएको छ ।
सभामुख भण्डारीले विगतमा अनेक बाधा अड्नका बाबजुद पनि सञ्चालन भएको सभा अब नयाँ भवनले सहज एवं सरल हुने बताउनुभयो । उहाँले यो भवन समयमै निर्माण गर्न र गुणस्तरीयमा विशेष ध्यान दिन निर्माण कम्पनिलाई आग्रह गर्नुभयो ।
अन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले पहिलो निर्माण गर्न लागेको यो पहिलो संरचना हो भन्नुभयो । मन्त्री कार्कीले नीति निर्माण गर्ने सार्वभौम थलोको रुपमा रहेको प्रदेश सभाको हल निर्माण भएपछि सभा सञ्चालन गर्न सहज हुने भन्नुभयो । उहाँले यो भवनको गुणस्तरमा कुनै कमी हुन नदिन निर्माण कम्पनिलाई खबरदारी गर्दै अगामी दिनमा सभा सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले नयाँ भवनले प्रदेश सभाको सभा सञ्चालन गर्न निकै सुविधा हुने भन्दै भवन सममै निर्माण गर्न निर्माण कम्पनिलाई निर्देशन दिनुभयो ।
नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यो भवनले प्रदेश सभामा सहभागी हुने सांसदहरुलाई सहज हुने भन्दै भवनको गुणस्तरमा सबै ध्यान दिनु पर्ने बताउनुभयो ।
जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले ढिलो भएपनि बन्न लागेको यो भवनले हामीलाई संसदमा छलफल एवं नीति निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशप्रसाद पोखरेलले जिल्ला समन्वय समितिको एक विगहा तीन कठ्ठा क्षेत्रफल भित्र बन्न लागेको यो भवनले संसद सञ्चालन गर्न सुविधा पुगोस् भन्ने शुभकामना दिनुभयो ।
प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले साविक जिल्ला विकास समितिको सभा हलमा प्रदेश सभा सञ्चालन गर्न निकै कठिनाई व्योहरी रहेको अवस्थामा यो भवनले सहज हुने विश्वास व्यक्त गर्नुभयो ।











