१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष सम्पादकीय : हाम्रो तीनवर्षे यात्रा- सूचना, निगरानी र खबरदारीको



अ+ अ-

काठमाडौं । आजदेखि हाम्रो यात्रा तेस्रो वर्षमा प्रवेश गरेको छ । केही श्रमजीवी पत्रकार साथीहरुको सत्प्रयासबाट स्थापित थर्ड पोल मिडिया ग्रुपद्धारा सञ्चालित यस न्युजपोलार डटकमले आज आफ्नो स्थापनाको दुई वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको छ । संविधान दिवसको दिन पारेर विसं २०७५ साल असोज ३ गते तेस्रो संविधान दिवसको समाचार पहिलो समाचार कन्टेन्टका रुपमा हामीले पोष्ट गरेका थियौँ । 

सूचना अहिलेको युगको सबैभन्दा ठूलो आवश्यकता हो । मानिसलाई शिक्षा, स्वास्थ्य र खाद्यान्नजस्तै सूचनाको पनि ठूलो महत्व छ, त्यसैले नेपालले र विश्वका अधिकांश देशका संविधानले सूचनालाई मौलिक हकका रुपमा राखेका छन् । भनिन्छ कि सूचना खान त मिल्दैन तर सूचना नपाए भोकै चाहिँ मरिन्छ । हो, हामीले पनि नेपाली जनमा त्यही सूचनाको भोक जगाउन र त्यो भोकलाई तृप्त गरिदिनका लागि यो समाचार पोर्टलको शुरुआत गरेका हौँ । सुसूचित समाज नै उन्नत समाज हो र हाम्रो सूचनाको यो अभियानले देशको समृद्धिको यात्रामा थप सघाउँछ भन्ने हाम्रो ध्येय हो । त्यसैले हाम्रो यो यात्राको थालनी भयो र आज हामी तेस्रो वर्षमा प्रवेश गरेका छौँ । 

हामीले यो सञ्चारमाध्यमको शुरुआत गरेपछि हरेक प्रस्तुतिलाई जनताको नजरबाट हेर्ने गरेका छौँ, जनताको भावनालाई समेट्ने गरेका छौँ । पत्रकारिताका अनेकन सिद्धान्तहरुमध्ये सामाजिक उत्तरदायित्वको सिद्धान्तप्रति हामी न्युजपोलार डटकमका समग्र समूह बढी सचेत र सजग छौँ । त्यस्तै काम गर्ने सिलसिलामा सकारात्मक र रचनात्मक विषयबस्तु हाम्रो प्राथमिकतामा पर्ने गरेका छन् । धेरैले ध्यान दिनुपर्ने वा जान्नुपर्ने तर पनि राज्य र सम्बद्ध सरोकारवाला निकायले वेवास्ता गर्ने गरेका विषयमाथि हाम्रो पहिलो नजर पर्ने गरेको छ । त्यसैले हाम्रा स्तम्भ र सामग्रीहरुमा धेरैको अभिरुची र चासो छ अनि उहाँहरुकै मार्गदर्शन नै हाम्रो कार्यदिशा बन्ने गरेको छ ।

समाचारलाई सन्तुलीत गर्न हाम्रा प्रयासहरु सघन रुपमा हुने गरेका छन् । त्यसैले पनि हरेक समाचारमा अर्को पक्षको प्रतिक्रिया समेट्ने हाम्रो समाचारको आधारभूत शैली जस्तै बनेको छ । हामीले स्वतन्त्र पत्रकारिताको खास र ठोस अभ्यास गरिरहेका छौँ । त्यसैले पनि कुनै दलीय झुकाव हाम्रा सामग्रीमा नदेखियोस् भन्नेतर्फ हामी अत्यन्त सतर्क भएका छौँ । पत्रकारिताको व्यावसायिकता र निश्पक्षता पनि यही हो र हामी यसबाट कहिल्यै विचलित भएनौँ र आगामी दिनमा पनि हुनेछैनौँ । सञ्चारमाध्यमको पहिलो सिद्धान्त र दायित्व देश र जनताको हितमा काम गर्ने हो भन्नेमा हामी स्पष्ट छौँ । यसैले शसक्त, जिम्मेबार र निश्पक्ष प्रस्तुतिमा खरो उत्रिने प्रतिबद्धतासहित तपाईहरुको यस्तै साथ सधैँ रहने अपेक्षा गर्दछाँै ।

हाम्रो यो दुई वर्ष सूचना, निगरानी र खबरदारीको हो । यसबीचमा हामीले धेरै निगरानी र खबरदारीको आवश्यकता देख्यौँ र गरिरहेकै छौँ । अहिले देशमा भ्रष्टाचार, अनियमिता र अत्याचार बढ्दो छ । एकातर्फ हामीले संसारकै उत्कृष्ट र समावेशी संविधान पाएका छौँ भने अर्कातर्फ यो संविधानबाट शासित हामी नेपालीमा यस संविधानको भावनाबमोजिमको विकास र समृद्धिको अभियान सुरु हुन सकेको छैन । त्यसैले पनि हामीले राज्य, समाज र यसका सञ्चालकहरुलाई निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने खाँचो छ । यी अव्यवस्थाहरुको साँचो सूचना नेपाली नागरिकसामु पुर्याइदिनुपर्ने अर्काे खाँचो छ । किनभने यी सारा कामहरुको मूल्यांकन गर्ने अन्तिम न्यायाधीश जनता नै हुन् । त्यसैले पनि हामी यस कार्यमा खरो उत्रिएको उदाहरण र उत्साह हाम्रा अगुवाहरुले दिने गर्नुभएको छ जुन हाम्रा लागि भोलि हिँड्ने बाटो हो । यी अपेक्षाहरु हामीबाट निरन्तर अपेक्षित छन् । हाम्रो प्राण नै पाठकहरु भएकोले हामी उहाँहरुबाटै जिउन चाहन्छौँ । 

जाँदाजाँदै, तपाईँहरु सबैको साझा सञ्चारमाध्यम यस न्युज पोर्टलका सबैजना शुभचिन्तकहरुप्रति हाम्रो नमन् छ । साथै हामीलाई यो दुई वर्षको अवधिमा माया गर्ने विज्ञापनदाता तथा सहयोगी सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । यस यात्रामा आबद्ध हामी सबै आज र आगामी दिनमा पनि बधाईको पात्र बन्न सकौँ भन्ने कामना गर्दछौँ ।