२५ माघ २०८१, शुक्रबार
,
Latest
हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन अर्जुन ट्रफी क्रिकेट : शनिबारदेखि सेमिफाइनलका खेल झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानल साइबर ब्युरोमा मीनबहादुर विश्वकर्माविरुद्ध धरान मेयर राईले हाले अख्तियारमा उजुरी जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छः मन्त्री राणा शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्छः पूर्व राष्ट्रपति भण्डारी सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान सिफल उकालोमा स्मृति सभा



अ+ अ-

काठमाडौं । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो ।

आज सभा गरिएको स्थानभन्दा करिब ५ मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो । सडक विस्तारका क्रममा शालिक भत्काउनु पर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो । यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो । यस स्थानलाई सुधार गर्दै महानगरले २०७६ सालमा पूर्ण कदको सालिकसहित पूर्वाधार विकास गरेको छ । यही स्थानमा स्मृति सभा गरिएको हो ।

सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोलले, जनमानसमा सहिदको योगदान पु¥याउन काम गरिएको बताउनुभयो । माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेल्नु भएको भूमिका र सामाजिक रुपान्तरणमा पुर्‍याउनु भएको योगदानको चर्चा गर्दै डंगोलले भन्नुभयो, ‘माथेमामा राजनीतिक चेतना थियो । उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवर्धक हुनुहुन्थ्यो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुस शासनविरुद्ध संघर्ष गर्ने उहाँको आँट युवाहरुले सिक्नु पर्ने पाठ हो । स्मरण गर्नु पर्ने इतिहास हो । शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रुपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो । त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो । उहाँको बलिदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ ।’

सभामा वडा नं. ७ का अध्यक्ष बिमल होडाले, असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदहरुको सपना पूरा हुने बताउनुभयो । अधिकार प्राप्तिका कोणबाट नागरिकहरुलाई प्राप्त भएको सुविधा जोगाउन सहिदले देखेको सपनालाई साक्षी राखेर काम गर्नुपर्ने बताउँदै होडाले, यस क्षेत्रमा पुस्तकालय बनाउने योजना सुनाउनुभयो । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा भन्नुभयो, ‘विद्यालयस्तरमा सहिदका आदर्श बुझाउन सके नेपालमा मानव अधिकार र नागरिक स्वतन्त्रता कसरी प्राप्त भयो, जान्न पाउँथे । यसले नागरिकहरुमा अहिले देखिएको नकारात्मक दृष्टिकोण कम गराउन मद्दत हुने थियो ।’

माथेमा काजी परिवारको हुनुहुन्थ्यो, उहाँलाई नपुग्दो केही थिएन । उहाँ दरवारभित्रैको पहुँचवाला हुनुहुन्थ्यो । उहाँले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र समृद्धिलाई महत्व दिनुभयो । शारिरीक सुगठन प्रतियोगितमा बंगाल च्याम्पियन हुनु भएका माथेमा राज त्रिभुवनका व्यायाम शिक्षक हुनुहुन्थ्यो । राजासँगको यो सम्बन्धका कारण वि. सं. १९९४ मा उहाँले राजालाई समेत प्रजा परिषदको सदस्य बनाउनुभएको थियो । वि. सं. १९९३ जेठ २० गते माथेमाकी फुपूको घर जोरगणेश ओमबहाल टोलमा धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द, र जीवराज शर्माले प्रजातन्त्र प्राप्तिको संयुक्त प्रतिवद्धताका साथ प्रजा परिषद गठन गर्नुभएको थियो ।

वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर उहाँलाई प्राणदण्ड दिइएको थियो । उहाँ बलियो भएकोले झुण्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो । ३ पटकसम्म प्रयास गरेपछि मात्र उहाँलाई सहादत प्राप्त भएको थियो । त्यस बेला उहाँ ३१ बर्षको मात्र हुनुहुन्थ्यो ।

वि. सं. १९६६ साल आश्विन ९ गते काठमाडौंको ओमबहाल, नवहिलमा जन्मनु भएका माथेमालाई तत्कालीन शाशकहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कार्तिक २ गते पक्राउ गरिएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।

माथेमाकी बहिनी मेनका देवीको विवाह शुक्रराज शास्त्रीसँग भएको थियो । प्रजा परिषदका गतिविधि सञ्चालन गर्ने क्रममा शास्त्रीसँग माथेमाको भेट भएको थियो । धर्मभक्तले प्रतिवन्धित समयमा राणाहरुको स्वीकृति नलिइ घरको छिँडीमा विद्यालय खोलेका थिए । फुपूको घरमा युवाहरुलाई व्यायाम सिकाउने ठाउँ बनाएका थिए ।