काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक नेपाली सेनाका सैनिकको मृत्यु भएको छ । रामेछाप घर भएका ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँमा कार्यरत मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार मृतक लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए ।
यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय सङ्क्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो ।











