२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुइपाका चार टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध



अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित पेयपदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्‍याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीवासीले बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा यसअघि सेवन गरिँदै आइएको आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाएका हुन् ।

बाहिरी जिल्लाबाट आयातित पेयपदार्थ सेवनले आर्थिक, सांस्कृति तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गरेकाले पूर्ण रूपमा प्रतिबन्ध लगाइएको सामाजिक अभियान्ता अरुण राईले जानकारी दिनुभयो । “हाम्रो गाउँमा बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया, सांस्कृतिक चाडपर्व, मेलापातलगायत आयातीत पेयपदार्थ सेवन गर्ने चलन थियो । एउटा घरमा हुने कार्जेमा आयातित पेयपदार्थ प्रयोग गरेपछि अर्को घरले पनि प्रयोग गर्नैपर्ने बाध्यता सिर्जना भएको थियो । यसलाई रोक्न प्रतिबन्ध लगाइएको हो”, उहाँले भन्नुभयो ।

गैरी फुलेलीमा गत असोज २९ गते स्थानीय सुशीला राईको विवाहदेखि आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाइएको स्थानीयवासीले बताएका छन् । २८ परिवार रहेको गैरी फुलेलीमा स्थानीय फुलेली सेवा समाजको पहलमा गत असोज १६ गते भएको भेलाको निर्णयले गाउँमा हुने काजभोज तथा मेलापातमा आयातित पेयपदार्थ सेवनमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

कुसुङ्खाका स्थानीयवासीले भने गत वर्षदेखि नै पेयपदार्थ आयात तथा सेवनमा प्रतिबन्ध लगाएका थिए । बुइपाको एउटा गाउँबाट सुरु गरिएको यस अभियान क्रमश: अर्को टोल तथा गाउँमा विस्तार हुँदै जानु सकारात्मक भएको स्थानीय डार्विन चाम्लिङको भनाइ छ ।

आयातित पेयपदार्थ प्रतिबन्ध लगाइएका गाउँ तथा टोलहरूमा हुने काजकिरिया तथा चाडपर्वमा परम्परागत रूपमा प्रयोग हुँदै आएको सगुन (स्थानीयस्तरमा उत्पादन हुने जाँड, रक्सी र चिया) प्रयोग गर्ने गरिएको स्थानीयवासीले बताएका छन् । गाउँमा हुने बिहे तथा मेलापातमा यसअघि ड्यू, कोक, जुसका साथै मादक पदार्थका रूपमा सेवन गरिने विभिन्न कम्पनीका रम, बियरलगायत पेयपदार्थ प्रयोग गर्दा स्वास्थ्यका साथै यस्तो गर्नेहरूले ठूलो आर्थिक नोक्सानी हुने गरेको थियो ।

आयातित पेयपदार्थ सेवनमा प्रतिबन्ध लगाउने स्थानीयवासीको निर्णयलाई वडा कार्यालयको समेत सहयोग र समर्थन रहेको बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “स्थानीय अगुवा युवाहरूले स्वत:स्फूर्त रूपमा आयातित पेयपदार्थ सेवन नगर्ने निर्णय गरेका छन् । यसले परम्परागत संस्कार, आर्थिक, जनजीविका, स्वास्थ्यलगायत विषयमा समेत टेवा पुर्‍याएको छ”, उहाँले भन्नुभयो, “स्थानीयले अभियानका रूपमा सुरुआत गरेको यो अभियान प्रभावकारी देखिएको छ । अबको केही दिनभित्र सर्वपक्षीय भेला आयोजना गरेर वडामा नै पूर्ण रूपमा प्रतिबन्ध लगाउने योजना अघि सार्छौं ।” रासस