१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि दोस्रो हिउँदे वर्षा, पश्चिममा आज, काठमाडौंमा भोलि



अ+ अ-

काठमाडौंं । पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आजदेखि पानी पर्ने भएको छ । आज र भोलि बदली भएर वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा हिमपातसमेत हुने छ ।

आज अपराह्न सुदूरपश्चिमबाट सुरु हुने यो अवस्था आइतबारदेखि मात्रै क्रमिक रुपमा सुधार हुने सम्भावना छ । यसको प्रभावले काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने हुनेछ ।

आज अपराह्नदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ ।

आज राति भने सुदूरपश्चिमका केही स्थानहरु, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुने पूर्वानुमान छ ।

यो प्रणाली क्रमश: पूर्वतिर सर्दै जानेछ र काठमाडौं उपत्यकामा पनि यसको प्रभाव देखिने छ ।

काठमाडौं उपत्यकाको हकमा आज पानी पर्ने सम्भावना देखिँदैन । आज राति काठमाडौंमा बादल लाग्ने र शनिबार हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

भोलि शनिबार देशैभर साधारण बदली हुन्छ । सुदूरपश्चिम र कर्णालीका धेरै स्थानहरुमा तथा कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि भोलि हल्का वर्षाको सम्भावना छ ।

यो अवस्था आइतबारबाट क्रमश: सुधार हुने देखिन्छ । आइतबार यसको प्रभाव छिटफुट मात्र रहन्छ । आइतबार पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना छ । बदली पनि अलि बढी पश्चिमतिर केन्द्रित रहने छ । आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मात्र वर्षा हुने देखिन्छ । अन्य स्थानमा भने खासै वर्षाको सम्भावना नदेखिएको महाशाखाले जनाएको छ ।