२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना

बच्चालाई तँ र तिमी पनि सिकाऔं

बच्चालाई तँ र तिमी पनि सिकाऔं
अ अ+ अ-

एउटा निजी स्कुलमा एक कार्यक्रममा मलाई स्वास्थ्यसम्बन्धी छलफल गर्न बोलाइएको थियो । स्कुल जाँदा शिक्षकले विद्यार्थीलाई भनेको सुनेँ, ‘हजुरले के भनिबक्सेको, भनिस्योस् न ।’

त्यो वाक्यांश सुनेपछि मैले ठानेँ, शिक्षकले विद्यार्थीसँग जिस्केको होला अथवा विद्यार्थीले केही गल्ती गरेपछि रिसाएर त्यसरी ‘भनिस्योस् न’ भनेको होला । तर पछि थाहा भयो कि सबै शिक्षकले विद्यार्थीसँग त्यसैगरी बोल्दा रहेछन् । मैले उनीहरुसँग तपाईंहरुले किन विद्यार्थीलाई तपाईं, हजुर भनेको भनेर सोध्दा उनीहरुले जवाफ दिए, ‘हामीलाई आजकल त्यसैगरी बोल्नू भनिएको छ ।’

यस्तो निर्देशन कसले दियो भन्ने जिज्ञासा राख्दा उनीहरुले पाठ्यपुस्तक र तालिमहरुको उदाहरण दिए । पाठ्यपुस्तकमा प्रश्नको उत्तर दिनुहोस्, खाली ठाउँ भर्नुहोस् भनेर लेखिएको छ । अनि तालिम गर्दा पनि विद्यार्थीहरुलाई तपाईं भन्नुहोस् भनेर सिकाइन्छ भन्ने उनीहरुको कुरा थियो ।

त्यो निजी स्कुल थियो त्यसैले विद्यार्थीलाई बढी आदर गरेको होला भन्ठानेँ । पछि पहाडी जिल्लाका केही सरकारी स्कुलमा जाँदा पनि सानासाना विद्यार्थीलाई पनि शिक्षकहरूले हजुर/तपाईंसम्बोधन गरेको सुनेपछि त उदेक नै लाग्यो । हुँदा हुँदा कति बाबुआमाले समेत छोराछोरीलाई हसाना नानीलाई, विद्यार्थीलाई तपाई भन्ने चलन कसरी आयो होला भनेर मैले धेरै शिक्षकहरुसँग सोधे ।

केही सरकारी स्कुलका शिक्षकले भने, ‘हामीलाई तालिम दिदा नै विद्यार्थीलाई आदर गरेर बोल्नुपर्छ भनेर सिकाइन्छ । अनि विद्यार्थीले पनि सिक्छन् रे । अब त बानी नै परिसक्यो विद्यार्थीलाई तपाईं भन्ने ।

अनि विद्यार्थीले तिमी, तँ भन्न कहिले सिक्छन् त भन्ने प्रश्न गर्दा त्यस्ता शब्द किन सिक्नुपर्यो ? सबैलाई आदर गरेर तपाईं नै भने भइहाल्यो नि भन्ने उत्तर अयो ।

उनीहरुले त्यसो भनेपछि मैले आफ्नो स्कुल पढ्दाको समय सम्झिएँ । हामी स्कुलका नजिकका साथीलाई तँ भन्छौं, तिमी भन्छौं । त्यो सम्बोधन जीवनभर रहन्छ ।

४० वर्षअघि स्कुलमा सँगै पढेका केही साथीलाई अहिले पनि तँ भन्छु, कलेज पढ्ने साथीलाई चाहिँ तिमी भन्छु । तिनीहरूमध्ये कुनै औपचारिक मञ्चमा सँगै बस्दा मात्र ‘तपाईं’ भन्छु, मञ्चबाट ओर्लने बित्तिकै तिमी भन्छु ।

यसरी शिक्षकले विद्यार्थीलाई तपाईं भन्दैमा आदर गरेको बुझिन्छ र ? यसो गर्दा त हाम्रो भाषाको सुन्दरता नै जान्छ । अंग्रेजीमा एउटै मात्र तिमी सम्बोधन छ भन्दैमा नेपालीमा त्यसै गर्नु उपयुक्त होला र ?

म पछिल्लो ३ महिनामा तराई र पहाडका गरेर ४०–४५ स्कुलमा गएँ । तराईको, सुदूर पश्चिमका केही स्कुलहरुमा चाहिँ शिक्षकहरुले विद्यार्थीलाई प्राय तिमी नै भनेर सम्बोधन गरेको सुनेँ त तर पहाडका, काठमाडौंका स्कुलमा भने तपाईं थोरै सुनेँ । त्यसरी हरेक स्कुलमा जाँदा मैले शिक्षकहरुलाई सोधेँ, ‘के तपाईहरू आफ्ना छोरा छोरीलाई पनि तपाईं भन्नुहुन्छ ?’

उनीहरुले उत्तर दिए, होइन उनीहरूलाई तिमी भन्छौं । बदमासी गरे भने गाली गर्दा चाहिँ तँ भन्छौं ।

मैले मेरी छोरीहरूलाई केही बदमासी गर्दा तपाईं भन्थेँ । मैले तपाईं भने पछि छोरीहरूले बुझ्थे कि केही गल्ती भएको छ ।

३०–४० वर्षअघि हाम्रा स्कुल, कलेजका शिक्षकले हामीलाई तिमी नै भन्थे । अहिले विद्यार्थीलाई तपाईं भन्दैमा उनीहरूको मान बढ्ने होइन, ‘तिमी’ भनेर राम्रो सँग व्यबहार गर्दा उनीहरूको सम्मान हुन्छ भन्ने कुरा कसले सिकाउला ?

कति बाबुआमाले आफ्ना सन्तानलाई, भतिजा, भतिजीलाई ‘तँ’ भनेर सम्बोधन गर्छन् । साथी, ठूलालाई तपाईं भन्छन् । त्यसो गर्दा बालबालिकाले कसलाई तपाईं, कसलाई तिमी, कसलाई तँ भन्ने कुरा सिक्छन् ।

तँ भन्ने शब्द पहिले आफू भन्दा कमजोर दासदासीहरूलाई, दलितहरूलाई प्रयोग गरिन्थ्यो, सायद त्यसैले यो शब्द अपमानसँग गाँसियो होला । स्कुलमा पनि पहिले पहिले शिक्षकहरूले विद्यार्थीहरू, विशेष गरी दलित समुदायका विद्यार्थीलाई ‘तँ’ भनेर सम्बोधन गर्थे ।

तर समाजमा आएको परिवर्तन सँगै, विद्यार्थीलाई अपमानित गर्नु हुँदैन, पिट्नु हुँदैन भन्ने भावना विकसित हुदै आयो । सायद अपमानजनक शब्द प्रयोग नगर्ने भनेर छलफल भयो होला ।

तँ, तिमी पनि प्रयोग नगर्ने सबैलाई आदर गरेर बोल्नुपर्छ भनेर आवाज उठेपछि लौ त तपाईं भन्ने गरी तालिम दिइयो । तर विद्यार्थीलाई तपाईं भन्नुपर्छ किनभने शिक्षकले जे भन्यो, विद्यार्थीले त्यही सिक्छन् भन्ने अर्थ लगाइयो ।

भर्खर स्कुल जान थालेका ४–५ वर्षका नानीलाई पनि शिक्षकले तपाईं भने । हिन्दी भाषामा पनि तु, तुम र आप जस्ता आदरार्थी शब्दहरू छन् । भारतका स्कुलमा शिक्षकले स्कुलका विद्यार्थीलाई ‘तुम’ अर्थात ‘तिमी’ भन्छन् । अंग्रेजी स्कुलमा त ‘यु’ भनेपछि मिलिहाल्छ ।

आफ्नो भाषालाई समृद्ध बनाउनुको साटो सबैलाई तपाईं सम्बोधन गर्दा विद्यार्थीलाई मान गरेको बुझ्ने ठान्नु ठीक होइन । त्यसै गर्ने हो भने त भविष्यमा ‘तँ’ र ‘तिमी’ जस्ता शब्द त शब्दकोषमा मात्र भेटिन सक्छ ।