सम्माननीय प्रधानमन्त्रीज्यू,
तपाईले दोस्रोपटक प्रधानमन्त्री भएका बेला सम्बृद्ध नेपाल सुखी नेपाली भन्नुहुन्थ्यो । त्यो तपाईँजस्ता राजनीति गर्नेका लागि जनताको मन जित्ने र मत संकलन गर्ने स्लोगन हुन सक्छ, मेरा लागि आशाको दीयो थियो । अहिले त तपाईले त्यो नारा पनि बिर्सनुभयो या बिर्सन अभिसप्त हुनुहुन्छ किनभने तपाईलाई अहिले गठबन्धनका सहयात्रीलाई फुल्याउने र बचाउने गर्दामै औषधि खानै फुर्सद छैन ।
औषधि चाहिँ खान नबिर्सनुहोला, तपाईलाई जसले जति गाली गरेपनि र तपाईले जसलाई जति खिसीटिउरी गरे पनि हरेक जीवन मूल्यवान् हुन्छ । तपाई धेरै बर्ष बाँच्नुपर्छ । कम्तिमा पनि नेपालीलाई सपना देखाउन सक्ने नेता हो तपाई । बरु तपाई सपना देखाउनुहुन्छ गर्नुहुन्न, अरु सपना पनि देखाउँदैनन् र गर्दा पनि गर्दैनन् । त्यसैले तपाई बाँच्नुपर्छ ।
प्रधानमन्त्रीज्यू, तपाईको सम्बृद्ध नेपाल सुखी नेपाली भन्ने नाराको सफलीभूत कार्यान्वयनका लागि मसँग एउटा फर्मूला छ । यो देशमा गरिब को छ ? नेता धनी हुने नै भए । किनकी काम नगरि छ्याकन आउने पेशा राजनीति नै हो । यस्तो गजब छ नि राजनीति– एउटाले राजनीति गरेर पद पाएपछि अधिकाँशको परिवार, आफन्त र दरसन्तानलाई सम्पत्ति थोपर्न पुग्छ भन्छन् । पेशा गर्नेहरुले पनि खाएकै छन् । कतिले सिधा खाएका छन् त कतिले मिलाएर । खाएका छन् , लाएका छन् । अन्यको हकमा माथिबाट भएपनि तलबाट भए पनि छोराछोरी अमेरिका नसके अन्य देश पठाएका छन, नत्र कतार दुबइ त चुत्थो ।
छोराछोरी नआए पनि बेलाबेला पैसा आउँछ, जीवनकालमा एकपटक घुम्न जान पनि पाइन्छ अनि त खाएकै छन् । भोकै मर्लान् अनि नेपाललाई सम्बृद्ध नेपाल सुखी नेपाली हुन नदिने खलपात्र खेतबारीमा खेती गर्ने किसान हुन् । यिनीहरुलाई कि भुटानी शरणार्थी जसरी तेस्रो मुलुक पठाइदिम् , कि खेतीमा हाल्ने औषधीमा मान्छे पनि पुर्लुक्क हुने बिष चन्दामा दिम् । त्यो खाए पनि मरुन्, सुँघे पनि मरुन् ।
मैले यो फर्मूला त्यसै बनाएको होइन । भनिन्छ नि , नमरी स्वर्ग देखिन्न । आफै मरेर मर्नुको अर्थ बल्ल बुझेको छु । गाउँमा जमिन बाँझो भए भनेर अर्कालाई अर्ती दिनुभन्दा आफैले केही गर्नु उचित ठानेर गोरखामा बाजेले छाडिदिएको ३० रोपनी जमिनमा लगाएको कागती फल्न थालेको छ प्रधानमन्त्रीज्यू । तपाइलाई पनि चखाउन हुन्थ्यो कागती । गुलियो भाको भए र सरकारी अनुदान लिएको भए त्यो चाकडी पनि गथेँ होला तर अमिलो कागती तपाईँलाई मन नपर्ला भनेर । दुईजना मानिसले रोजगारी पाएका छन्, जमिन खाली छैन, बाताबरण हरियाली छ अनि गाउँका अन्य आफन्तले पनि अनुशरण गरेका छन्–योभन्दा खुसी हुने कुरा अर्को के भयो र ?
तर होइन रहेछ प्रधानमन्त्रीज्यू, सरकारी अनुदान लिएर कागजमा गर्नुपर्ने कागती खेती जमिनमा गरेपछि कति दुख । बल्ल थाहा हुँदैछ, टेलिभिजनमा बसेर तपाइ बाहेक अन्य नेतालाई प्रश्न सोध्नमात्र सजिलो रहेछ । किसानलाई त गौंडागौंडामा बसेर मारिँदोरहेछ । म खुलेर आज भन्न सक्छु–कि किसान नबन्नुस् कि पाइला पाइलामा मर्न तयार हुनुस् ।
प्रसंग, एकजना मित्रले कालिमाटीमा तुलनात्मकरुपमा कागतीको भाउ राम्रो पाइन्छ भनेपछि मैले ति मित्रलाई सम्पर्क गरेँ । उनले कागतीको फोटो पठाउन भनेँ ,मैले पठाएँ । सुरुमै उनले हतोत्साही पार्ने शैलीमा भने–सर कागती त खासै राम्रो रहेनछ । बजारमा बसेर छ्याकन खाने र किसानलाई हतोत्साही बनाउने उनको पेशै होला, उनले गरे । तर पनि उनले कागती झारिदिन भने– गाडीले ३ सय किलो कागती झारिदियो । उनका खेतालाले कागती जोखे । फेरि केही दिनमा कागती आउँदैछ है भन्दा उनले भैहाल्छ नि भने । फेरि झारियो साढे ७ सय किलो कागती । उनै उनका खेतालाले जोखे, चिर्कटोमा लेखेर दिए ।
भोलिपल्ट कालिमाटी बजारको कागतीको भाउ हेरेँ–किलोको १२५ रुपैया । बजारमा खुद्रा किन्ने ठाउँमा गएर सोधेँ–किलोको ३५० रुपैया । मनमा नराम्ररी हुरी आयो प्रधानमन्त्रीज्यु । पेट उमोठ्यो, टाउको चड्कियो । हामी उपभोक्ता र किसानलाई एकैचोटी मारेर बिचौलियाले कत्ति कमाएका होलान् ? करिब १५ दिनपछि तिनै ठेकेदारले मेसेज गरे, कागती अलि बिग्रिएको रहेछ ।
उनको नियतमा लाग्दै गरेको शंकाले आकार ग्रहण गर्दै थियो ,केही प्रतिक्रिया जनाइन । महिना दिन हुन लाग्दा आफैंले पैसाको कुरा गरेपछि उनले रंग देखाए । विगतमा मान्छेलाई किन बिचौलिया भन्नू, किन मान्छेलाई शंका गर्नू, व्यापार र मध्यस्तता गरेर केही लाभ लिनुलाई किन गलत भन्नु लाग्थ्यो । तर उनले १२२ केजी कागती बिग्रेको भन्दै रु ६० प्रति केजीको हिसाबमा पैसा पठाए । मलाई खास यो पैसा उनैलाई दिन मन थियो । किनकी म त किसानको एउटा यस्तो पात्र हो–जसको छाक टार्न यहि कागतीको पैसामा भर पर्न पर्दैन, छोरीहरुले राम्रै शिक्षा पाएका छन्, बस्ने घर छ, अनि दर्शकको माया र भरोसासहितको जागिर । तर ति किसान जो बोल्न सक्तैनन् ।
यी र यस्ता पात्रले किसानको उत्पादनलाई कमसल भनेर भाउ लाउँछन् , यीनलाई कृषि गर्दा कति दुख हुन्छ थाहा छ? किसानको उत्पादन लिन्नँ, भारतीय उत्पादनले बजारमा भाउ पाको छ, तपाईको बिक्दैन भनेर किसानको किलकिलेमा समाउँछन् र हलाल गर्छन् । किसानलाई जोखाइमा मार्छन् किनकी यिनीहरुलाई मर्न पर्दैन, मर्ने त किसान त हो । अनि पैसा दिँदा उनीहरुको निगाहमा हात थाप्नुपर्छ ।
प्रधानमन्त्रीज्यू, जवाफ दिन सक्नुहुन्छ ? एकपटक घनश्यामको हेभिमेटल बजाएर यी बिचौलिया सहललाई धपाउन सक्नुहुन्छ ? किसानको उत्पादनको न्यूनतम मुल्य तोक्न सक्नुहुन्छ ? किसानलाई हतोत्साही बनाउने यस्ता खुम्रे किराको उपचार गर्न सक्नुहुन्छ ? यिनीहरुलाई चुनावमा चन्दा दिएको भरमा लुटको साम्राज्य बनाउन रोक्नुहुन्छ ? कि यिनीहरुले मारेका ति जिउँदा किसानको दैनिक मृत्युमा भाषणको गीत गाइरहनुहुन्छ ? जवाफ छ ? किसानलाई न्याय दिन सक्नुहुन्छ ?
हैन भने मेरो फर्मूला छँदैछ– किसानलाई कि तेस्रो मुलुक पठाम्, नत्र औषधीमा बिष मिसाइ दिम् , टन्टै साफ ।