२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

स्मृतिमा नातिकाजी: गाउँदा, लेख्ता र सङ्गीत भर्दा नेपाली मुटुको धुकधुकीको अनुभूति

स्मृतिमा नातिकाजी: गाउँदा, लेख्ता र सङ्गीत भर्दा नेपाली मुटुको धुकधुकीको अनुभूति
अ अ+ अ-

ढल्के टोपी नलाउनू दाइ
मेरो मनमा कुतकुती लाग्दछ,
एकोहोरो नहिँड लौ न
मनको कुरो मनमै अड्कन्छ ।

नातिकाजी मलेकुको जन्म १९८२ सालको पुस ३ गते ललितपुरको पुलचोकमा भएको थियो । उनका बाबुआमाको नाउँ मोहनलाल श्रेष्ठ र चम्पादेवी थियो । उनका बाबु राणाका दरबारमा जागिरे थिए ।

नातिकाजी सात वर्ष टेक्ता नटेक्तै हार्मोनियम बजाएर गीत गाउन सक्षम थिए । उनले सुरुमा तुयुनारायण श्रेष्ठसँग साङ्गीतिक शिक्षा हासिल गरे । आफ्नो घरमा, साथीभाइमाझ र भजनगृहमा गीत गाउँदागाउँदै उनी रेडियो नेपाल पुगे । उनी २००७ सालमा रेडियो नेपालमा प्रवेश गरे, तर उनलाई एक वर्षपछि मात्र नियुक्तिपत्र थमाइएको थियो । २००८ सालदेखि २०३४ सालसम्म उनी रेडियो नेपालको नायव सुब्बास्तरका सङ्गीतकारका रूपमा जागिरे थिए । त्यसपछि राजाको हुप्रद्वारा उनी शाखा अधिकृत स्तरमा बढुवा भए र त्यसको केही समयपछि उनी रेडियो नेपालकै उपसचिवस्तरीय सङ्गीतकारमा नियुक्त भए ।

नातिकाजीले नेपाली आधुनिक सङ्गीतलाई एकछत्र रूपमा एउटै बाटोबाट अविरल हिँडाए । उनको अविरल योगदानले उनी नेपाली सङ्गीतका एउटा चिरस्मरणीय विम्ब, साधक र साधन भए । त्यसैले उनी यसैबाट नै नेपालमा सर्वप्रिय पनि भए । त्यति मात्र होइन भारतलगायत संसारमा जहाँजहाँ नेपालीको आवास छ, भावना छ र पाइला छ त्यहाँत्यहाँ उनले आफ्नो नाउँ रोपे-

पहाड बसी वनमा खेली हुर्केकी अकेली
वनको फूल शिरमा गुथी बनेकी मोहनी !

नातिकाजीले २०१७ सालमा सरस्वती राजभण्डारीसँग लगनगाँठो कसे । बिहेपछि पनि उनी उही ताल, उही सुर र उही स्वर बोकेर गीतियात्रामा संलग्न भइरहे । उनी वैवाहिक जीवनमा बाँधिएपछि उनको सङ्गीतमा सरस्वती झनै उत्साह, प्रेरणा र जागरणकी प्रतिमूर्ति बन्न थालिन् ।

नातिकाजीले प्रवेशिका परीक्षामात्र समुत्तीर्ण गरे । तर उनी सङ्गीतमा स्नातक भए । उनले शैक्षकि योग्यता जेजति हासिल गरे तापनि उनी सङ्गीतका सिङ्गो विद्यालय बने, महाविद्यालय बने र विश्वविद्यालय नै पनि बने । पढेर भन्दा परेर जानिन्छ भन्ने लोकोक्तिका उनी एउटा सग्ला उदाहरण भए । उनी नेपाली गीतिआकाशका नअस्ताउने तारा भए ।

नातिकाजीले आफ्नो जीवनको सम्पूर्ण भाग नेपाली सङ्गीतको आराधनामा समर्पित गरे । यिनका सङ्गीतमा पाइने दुःखात्मक, सुखात्मक र राष्ट्रनिर्माणमा जुर्मुराउने उत्साहपूर्णलयले गर्दा उनी अमर भए । वास्तवमा उनको त्यो कलात्मक व्यक्तित्वले उनी नेपाली सङ्गीतका ज्योति भए । गाउँपाखा, सहरबजार सबै तिरका नेपाली अझै पनि बोल्छन् – “नातिकाजी नै रेडियो नेपाल हो र रेडियो नेपाल नै नातिकाजी हुन् ।” वास्तवमा त्यति बेला नातिकाजीले यसबारेको एउटा ठूलो फाँट नै स्थापना गरेका थिए । त्यसैले उनलाई नेपाली साङ्गीतिक क्षेत्रका सङ्गीतशिरोभूषण भनियो । कर्मको गुण, परिमाण र योगदानको मर्मलाई समेट्न उनका लागि यो उपमा पनि थोरै हुन्छ भने उनी नेपाली सङ्गीतका शङ्कराचार्य हुन् ।

नातिकाजीको अविरल सृजनायात्राले नेपाली सङ्गीतको बगैँचा अङ्कुरित भयो, फुल्यो र फक्र्यो । उनको सङ्गीतमा नेपालीको भावना फरफराएको छ । त्यसैले उनको सङ्गीतले नेपाली माटोमा जरा गाडेको छ । उनका सङ्गीतमा आबद्ध मीठामीठा आवाजले नेपालीहरूका मनमस्तिष्कमा झन् अपार स्नेह गाँसिसकेको छ-

धरती भई एकचोटि सही हेर अरूले कुल्चेको,
आगो भई एकचोटि बली हेर अरूले तापेको ।

नेपाली आधुनिक सङ्गीतको बगैँचामा नातिकाजीले नै राम्राराम्रा सुगन्धित फूलहरू फुलाए । नातिकाजीको सङ्गीतले नेपालको दक्षिण तराईका सम्पूर्ण फाँटहरू रङ्गाएको छ, उत्तरका हिमश्रृङ्खलाहरू ढाकेको छ भने त्यसैगरी उनको सङ्गीतमा अन्तर्निहित नेपाली भावनाले दार्जीलिङ, सिक्किम, भूटान र आसाममा नेपालको गौरवगाथा पुर्‍याएको छ । त्यति मात्र होइन उनले नेपाली स्वर, ताल र सुरलाई क्रमशः भूगोलभरि घुमाएका छन् । नेपालीहरू विराजमान भएको पृथ्वीभरि उनको धून पुगेको छ ।

नातिकाजी नसा र मुटुको रोगबाट थला परे । आफ्नी श्रीमती सरस्वती र तीनजना छोरी सङ्गीता, कविता र सविताले उनको सकेसम्मको सेवा गरे । वास्तवमा त्यसबेला पनि उनी रोगसँग युद्ध गर्थे र नेपाली गीतमा सङ्गीत समर्पण गरिरहन्थे । आफ्नो शारीरिक अवस्था जेजस्तो भए तापनि विभिन्न सांस्कृतिक समारोहहरूमा पुग्न पनि उनी पछि पर्दैनथे । साथै उनी वाङ्मयसेवामा पनि समर्पित थिए । उनी नइले स्थापना गरेको लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संस्थापक सहअध्यक्ष पनि थिए । पछि त्यो संस्था त्रिमूर्ति निकेतनमा आबद्ध भयो ।

नेपाली वाङ्मयसेवामा समर्पित भइरहेकै अवस्थामा नातिकाजी स्वर्गीय भए । २०६० साल कात्तिक १६ गते नेपाली साङ्गीतिक आकाशमा चिरस्मरणीय गहिरो शोक परेको थियो ।

नेपाली सङ्गीतमा नातिकाजीको धूनले दीप प्रज्वलित गरेपछि साङ्गीतिक संस्कृतिले सही बाटो समातेको हो । उनी गीतमा सङ्गीत भर्दा शब्दका मर्म , भाव र ज्ञान समाउन पुग्थे । त्यसैले उनी सङ्गीतका विशेषज्ञ भनेर पनि चिनिए । उनका सङ्गीतले जति राम्राराम्रा शब्दहरू प्राप्त गर्न सके त्यति नै मीठा स्वरलहरीले यिनका धूनमा पालिस लगाए ।

नातिकाजीका त्यस बेलादेखिका सङ्गीतका सम्पूर्ण सङ्ग्रहहरू हेर्ने हो भने यिनका दुई हजारभन्दा बढी साङ्गीतिक धूनहरू रेडियो नेपालमा रहेका छन् । यिनले युवावस्थामा गीत पनि गाएका थिए । त्यसबेला गाएका यिनका दुई सयवटा गीतहरू रेडियो नेपालमा सुरक्षति छन् । त्यति मात्र होइन यिनका बाईसवटा अपेराहरू रेडियो नेपालमा मौजुद छन् । यिनले आफैले गीत पनि लेखे । यिनले जम्मा सातवटा गीतहरू लेखे । मान्छेले गीत सुन्ने इच्छा मात्रै गर्छ भने पनि यिनको स्वर, सङ्गीत र रचनालाई मन नपराउने मान्छे नै हुँदैन; किनभने यिनी गाउँदा, लेख्ता र सङ्गीत भर्दा नेपाली मुटुको धुकधुकीबाट प्रस्तुत गर्ने गर्थे-

एउटा तारा डाँडावारि अर्को तारा पारी,
नेटो काटी गए पनि दिल हाराहारी ।

नातिकाजीले सङ्गीतकै सिलसिलामा नेपालका विभिन्न भूभाग डुले । नेपालीहरूका घरआँगनमा गएर गीत गाउने, सङ्गीत पोख्ने र रचना गर्ने नातिकाजी सरल जीवन र उच्च विचारका कुबेर थिए । उनको सरलताको अझै धेरैले तारिफ गरे, उनको व्यवहारको थुप्रैले पाठ सिके र उनको महानताको कदर गर्ने मान्छे पनि त्यत्ति नै भेटिए ।

नातिकाजीले केही मित्रराष्ट्रहरूको पनि भ्रमण गरे । उनको सीप, जाँगर र समर्पणबाट नेपालीहरू मात्र होइन विदेशीहरू पनि उनीसँग नजिक रहे ।

विभिन्न विभूषणबाट विभूषित नातिकाजीले जीवनभरि सङ्गीतमा समर्पित भएवापत इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, छिन्नलता गीतपुरस्कार, भूपाल सङ्गीत पुरस्कार र नइ सुरसम्मान प्राप्त गरे । यिनले नेपालका विभिन्न साङ्गीतिक, साहित्यिक र सामाजिक सङ्घसंस्थाबाट अरू पनि पुरस्कार, सम्मान र अभिनन्दन पाए । साथै उनको जीवनकालमा नइद्वारा सम्पादित ‘सङ्गीत शिरोभूषण नातिकाजी’ नामक ग्रन्थ पनि प्रकाशनमा आयो ।

नातिकाजीले नेपाली चलचित्रहरूमा पनि सङ्गीत दिए । उनीद्वारा प्रदत्त सङ्गीतहरूले चलचित्रलाई निक्कै नै लोकप्रिय बनाए । जहाँ र जेजसरी भए पनि उनले आफ्नो साङ्गीतिक कौशल नेपाली पटभूमिमा समर्पण गरे । नेपाली धरतीमा आफ्नो साङ्गीतिक सीपबाट अमर हुने काम नातिकाजीद्वारा भयो-

यो नेपाली शिर उचाली संसारमा लम्कन्छ
जुनकीरी झैँ बत्ती बाली अन्धकारमा चम्कन्छ ।