२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा



अ+ अ-

पाटन । ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा आएको छ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पुल्चोकस्थित ललितपुर महानगरपालिका अगाडिको सडक छेउमा रहेको ‘स्विच अन’ गरेर आज यो प्रविधिको शुभारम्भ गर्नुभएको हो ।

ललितपुर महानगरपालिकाको लागतमा सवारीसाधन व्यवस्थापनका लागि सडकमा इन्टेलिजेन्स ट्राफिक लाइट शुभारम्भ गरिएको हो । त्यस अवसरमा मन्त्री महर्जनले ललितपुरमा ट्राफिक व्यवस्थापनका लागि राम्रो प्रयासको सुरुआत भएकामा प्रशंसा गर्नुभयो । “महानगरका सबै प्रमुख सडक क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि यो प्रणाली प्रभावकारी हुनेछ, देशभर दर्ता भई सञ्चालनमा रहेकामध्ये ६० प्रतिशत सवारीसाधन बागमती प्रदेशमा छन्, यसलाई व्यवस्थापन गर्नु ज्यादै चुनौतीपूर्ण छ । विज्ञान र प्रविधिमा आधारित गरेर ‘स्मार्ट ट्राफिक’ व्यवस्थापनका लागि भएको यो काम महत्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

ललितपुर प्रतिनिधि क्षेत्र नं २ का सांसद प्रेमबहादुर महर्जनले नयाँ प्रविधियुक्त प्रणालीले ट्राफिक व्यवस्थापन प्रणालीले यातायात सञ्चालनमा सहजता र यात्रुलाई समय व्यवस्थापनमा प्रभावकारी हुने बताउनुभयो ।

ललितपुर क्षेत्र नं २ ‘ख’ प्रदेशबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले जनतासँग जोडिएको महत्वपूर्ण समस्या समाधानका लागि ललितपुर महानगरले सराहनीय काम गरेको बताउनुभयो । “लोकतन्त्र र गणतन्त्रमा जनतालाई अनुभूति गर्नेगरी सेवा दिने काम महत्वपूर्ण हो, ट्राफिक व्यवस्थापन, वायु प्रदूषण र फोहोरमैला व्यवस्थापन उपत्यकाको प्रमुख समस्या हो, यसका लागि ललितपुर महानगरले गरेको प्रयास सराहनीय छ”, उहाँले भन्नुभयो ।

महानगर प्रमुख चिरिबाबु महर्जनले महानगरबाट अध्ययन गरेर ट्राफिक व्यवस्थापनका लागि लाइट जडान गरिएको र यो नेपालमै पहिलोपटक भएको बताउनुभयो । “हाम्रो उद्देश्य काठमाडौँतर्फको ट्राफिक समस्या पार गरेर थापाथली पुल हुँदै ललितपुरतर्फ आएकालाई केही समय पनि रोक्न नपरोस् र ट्राफिक लाइटले सहजता प्रदान गरोस् भन्ने हो”, उहाँले भन्नुभयो,“यो लाइट स्वचालित भएकाले अन्य परम्परागत ट्राफिक लाइटभन्दा फरक र सहज पनि रहेको छ । सँगै राखिएको ‘भेहिकल डिटेक्टर’ले सवारीसाधनको नम्बर तथा विवरण ‘रिड’ गर्छ । प्रणालीले नै कुन दिशातर्फ कति समय चाहिने हो आफैँ निर्धारण गर्छ । हाल यसको ‘मनिटरिङ’ प्रणाली ट्राफिक कार्यालयमा राखिएको छ ।”

महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले धेरै विद्यामा ललितपुर महानगरपालिकाले नयाँ कामको सुरुआत गरेको छ भन्नुभयो । “एक सय छ औँ स्थापना दिवसको सन्दर्भमा हामीले यो प्रविधिको प्रयोग सुरु गरेका छौँ, हामीले गरिरहेका काममा बौद्धिक जगत्ले पनि सहयोग र समन्वय गरेर हौसला प्रदान गरिरहेको छ । उपत्यकाले झेलिरहेको ट्राफिक समस्या व्यवस्थापनका लागि ललितपुर महानगरले यो नयाँ र नौलो प्रयास गरेको छ”, उहाँको भनाइ थियो ।

उपप्रमुख बज्राचार्यले नेपालमै पहिलोपटक सञ्चालनमा आएको यो प्रविधिलाई प्रभावकारी बनाउन सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सवारीसाधन र सवारीचालक तथा पैदलयात्रीलाई ध्यान दिएर ‘म्युनिसिपल मास्टर प्लान’ अन्तर्गत यो परियोजना लागू गरिएको बताउनुभयो ।

ललितपुर महानगरपालिकाले दसैँअघि सुरु गरेर कुपन्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरेको छ । जडानको सबै प्रक्रिया सकिएपछि सोमबारदेखि नियमित सञ्चालनमा ल्याइएको हो । पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँचवटा लाइट जडान गरिएका छन् ।

लाइटसँगै राखिएको ‘भेहिकल डिटेक्टर मेसिन’ले सडकमा सवारीसाधनको सङ्ख्या तत्काल ‘रिड’ गरेर तत्कालै ‘ट्राफिक लाइटको चिप तथा सर्भर’लाई जानकारी गराउँछ । सोही आधारमा व्यवस्थापन प्रणालीले जता धेरै सवारीसाधन छन् त्यतातिर हरियो बत्ती बाल्छ । काठमाडौँतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३० देखि ५० सेकेन्ड मात्रै पर्खे पुग्ने अवस्था बनाइएको महानगरले जनाएको छ ।

यो ‘लाइट फिक्स, पुलिस म्यानुअल, सिङ्क्रोनाइजेसन, एटिसिएस’ लगायत आवश्यकता अनुसारको ‘मोड’मा प्रयोग गर्न सकिने प्राविधिक सुयसभक्त माथेमाले जानकारी दिनुभयो । उहाँका अनुसार यसमा पाँच वर्षसम्म तथ्याङ्क भण्डारण हुन्छ भने सवारीसाधनको र दुर्घटनाको विवरणसमेत रहन्छ । लाइट जडान गरेको नमूना पावर ग्रेड जेभीले सुरुमा एक सय १७ स्थानमा सम्भाव्यता अध्ययन गरे पनि अति आवश्यक पर्ने पाँच स्थानमा यो प्रविधि जडान गरिएको हो ।