१४ श्रावण २०८३, बिहीबार
,
Latest
सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी जीवनमा समस्या देखियो: महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको औँल्याउनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय सङ्गठन विभागको आयोजनामा ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने कार्यशालाको आज उद्घाटन गर्दै उहाँले पार्टीको नीति जनतासम्म पु¥याउन तथा वैचारिक राजनीतिक सङ्घर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताउनुभयो ।

महासचिव पोखरेलले अहिले पार्टीको जुन ढङ्गले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने बताउनुभयो । उहाँले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताउनुभयो ।

महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले पार्टी निर्माणमा सहयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्ने बताउनुभयो । उहाँले पार्टीको वार्षिक कार्ययोजनाका बारेमा अभिमुखीकरण गर्नुहुँदै पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधारहरू र सम्पादित कामका बारेमा सहभागीको ध्यानाकर्षण गर्नुभयो ।

महासचिव पोखरेलले मिसन–२०८४ मा आधारित वार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीलाई नभएको बताउनुभयो । यस सन्दर्भमा पार्टी सदस्यता नवीकरण सर्वाधिक महत्त्वपूर्ण काम भएको भन्दै महासचिव पोखरेलले पार्टी कमिटीले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्त्वका साथ काम नगरेको बताउनुभयो ।

पार्टी सदस्यलाई केन्द्रीय स्कुल विभागले मात्र प्रशिक्षण दिएर सम्भव नहुने भन्दै उहाँले माध्यमिक र आधारभूत तहको प्रशिक्षणको काम प्रदेश र जिल्ला कमिटीले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले पार्टी र पार्टी नेतृत्वविरूद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरूद्ध पार्टीपङ्क्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको बताउनुभयो । उहाँले मुलुकमा देखिएको निराशालाई चिर्न राजनीतिक स्थायित्व  आवश्यक रहेको हुँदा निर्वाचनबाट बलियो शक्ति स्थापना गरेर त्यसकै जगमा स्थिर सरकार निर्माण गर्नुपर्ने बताउनुभयो ।

स्थायी कमिटी सदस्य तथा केन्द्रीय सङ्गठन विभागका प्रमुख काशिनाथ अधिकारीले पार्टीको सङ्गठनात्मक अवस्था, स्थानीय तहको पार्टी काममा देखिएका समस्या र समाधानका उपाय प्रस्तुत गर्दै पार्टीको अबको ध्यान वडा केन्द्रित अभियानमा हुनुपर्ने जोड दिनुभयो ।

एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीलाई नयाँ गतिका साथ अझ सशक्त रूपमा अगाडि बढाउन कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

कार्यशालामा उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सचिवद्वय लेखराज भट्ट, पद्मा अर्याललगायतको सहभागिता रहेको थियो । कार्यशालामा एमाले पार्टीका प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव र सङ्गठन विभागका प्रमुख, जनसङ्गठनका केन्द्रीय अध्यक्ष र महासचिव तथा महानगर र उपमहानगरका निर्वाचित प्रमुख र उपप्रमुखको सहभागिता रहेको छ । रासस

 




भर्खरै