दुबईः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा राजस्थान रोयल्स (आरआर) का राहुल तेबतीयाको महत्वपूर्ण इनिङको मद्दतले सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेको छ ।
केही सुस्त देखिएको पिचमा पहिले ब्याटिङ गरी हैदराबादले ४ विकेटको क्षतिमा १५८ रन मात्र बनाउन सकेको थियो । जितका लागि १५९ रनको मध्यम स्कोर पछ्याएको राजस्थानले १९.५ ओभरमा पाँच विकेट गुमाएर १६३ रन बनाएको थियो ।
राजस्थानका लागि जितको हिरो यसपटक पनि राहुल तेबतीया बने । एक समय राजस्थान पराजित हुने खतरा उत्पन्न भइसकेको अवस्थामा तेबतीयाले २८ बलमा २ छक्का र ४ चौका प्रहार गरी नटआउट ४५ रन बनाएका थिए ।
राजस्थानका लागि अन्य खेलाडीहरुमा रियान परागले ४५, सन्जु सामसनले २६, रोबिन उथप्पाले १८, जस बटलरले १६ तथा बेन स्टोक र कप्तान स्टिभन स्मिथले समान ५–५ रन मात्र बनाएका थिए ।
यसअघि हैदराबादले कप्तान डेभिड वार्नरको ४८ तथा मनिष पाण्डेको ५४ रन बनाउनु बाहेक अन्य खेलाडीले खासै रन बनाउन सकेनन् ।
राजस्थानका जोफ्रा आर्चर (१), एस गोपाल, कार्तिक त्यागी (१), जयदेव उनाडकट (१) ले कसिलो बलिङ गरेका थिए ।
यस खेलमा तेबतीयालाई म्यान अफ द म्याचको पुरस्कार दिइएको छ ।
यो जितसँगै राजस्थान रोयल्सले ७ खेलबाट ६ अंक बटुलेको छ र अंक तालिकाको छैटौं स्थानमा छ । हैदराबाद पनि ७ खेलबाट ६ अंकका साथ पाँचौं स्थान (रनरेटका आधारमा) मा कायमै छ ।
आइतबार दोस्रो खेल दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच भइरहेको छ ।
पछिल्लो अंक तालिका
दिल्ली क्यापिटल्स – १०
मुम्बई इन्डियन्स – ८
कोलकाता नाइट राइडर्स – ८
रोयल च्यालेन्जर्स बैंगलोर – ८
सनराइजर्स हैदराबाद – ६
राजस्थान रोयल्स – ६
चेन्नाई सुपर किंग्स – ४
किंग्स इलेभेन पञ्जाब – २
एजेन्सी











