२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयः पदाधिकारीले दोहोरो सुविधा लिने नियम स्वीकृत, पेन्सन र सुविधा दुवै लिन पाउने



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले दोहोरो सुविधा लिने नियम स्वीकृत गरेका छन् । उनीहरुले चार वर्षअघि बनेको नियमलाई खारेज गर्दै पेन्सन र सुविधा दुवै लिने निर्णय गरेका हुन् । एक साताअघि सम्पन्न त्रिवि सभा (सिनेट) को भर्चुअल बैठकले २०७३ साल पुस १८ को नियमलाई उल्ट्याएर दोहोरो सुविधा लिने निर्णय गरेको हो । त्रिविको सेवामा कार्यरत शिक्षक, कर्मचारी, त्रिवि सेवाबाट अनिवार्य अवकाश भएपछि पेन्सन पाउने व्यवस्था छ । त्रिविका पदाधिकारीले यो व्यवस्था उल्ट्याएर पुनः दोहोरो सुविधा लिने निर्णय गरेका हुन् । नियममा त्रिविका शिक्षक, कर्मचारीहरु त्रिविको पदाधिकारी वा सरकारको अनुदानप्राप्त निकायमा नियुक्ति भएमा दुईमध्ये एक मात्र सुविधा लिनुपर्ने व्यवस्था थियो । तर सो व्यवस्थालाई उल्ट्याएर पेन्सन र सुविधा लिने व्यवस्था गरेको हो ।

यसअघि तत्कालीन उपकुलपति प्राडा तीर्थराज खनियाँको कार्यकालमा दुईमध्ये एक मात्र निकायबाट सुविधा लिने निर्णय गरेको थियो । ‘मेरो कार्यकालमा निर्णय गरे पनि अन्य सरकारी निकायमा कार्यरत कर्मचारीले दोहोरो सुविधा लिने गरेका थिए।’ –पूर्वउपकुलपति प्राडा खनियाँले भने । त्रिविको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ५४ ‘क’मा एउटा मात्र सुविधा पाउने उल्लेख थियो । भर्चुअल बैठकमा कतिलाई जानकारी नै नभईकन यो निर्णय गरिएको थियो ।‘भर्चुअल बैठकमा बसियो, यो निर्णय भएकोबारे न जानकारी भयो, न त राम्ररी पढ्नै पाइयो।’ –त्रिवि सभासद् एवं पूर्वउपकुलपति प्राडा हीराबहादुर महर्जनले भने । उनले यस्तो विषयमा प्रस्ताव लैजानुअघि सरोकारवाला निकाय र व्यक्तिसँग सल्लाह गर्नु आवश्यक रहेको टिप्पणी गरे।

अब त्रिविका पदाधिकारी रजिस्ट्रार प्राडा पेशल दाहाल, राष्ट्रिय योजना आयोगकी सदस्य उषा झालगायतले दोहोरो सुविधा लिन पाउनेछन् । रजिस्ट्रार दाहाल, उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटासमेत अवकाशप्राप्त शिक्षक हुन् । त्रिविका अनुसार उपकुलपति प्राडा बाँस्कोटा अस्ति २४ गतेबाट अवकाश भइसकेका छन् । सर्वोच्च अदातलले कानुन बनाउन निर्देशन दिएको थियो । त्यसलगत्तै त्रिविले नियम बनाएर दोहोरो सुविधा लिन नमिल्ने निर्णय गरेको थियो । पूर्वउपकुलति खनियाँले यस्ता संवेदनशील निर्णय गर्दा बजेट पारित गर्ने सिनेटले निर्णय गर्न नहुने तर्क गरे । त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले निर्णय गर्नुअघि छलफल नै नगरी कानुन नै खारेज गरेको विषय गलत प्रवृत्ति भएको टिप्णी गरे । उनले भने– ‘दोहोरो सुविधा लिनुपर्ने थियो त अघिल्लो सिनेटमा किन निर्णय नगरेको ?’ कोभिडले मुलुक थला पारेको अवस्थामा भर्चुअल सभामा सुटुक्क निर्णय गर्नु गलत भएको उनको तर्क थियो । त्रिविको यो निर्णयले सरकारी सेवा र सरकार नियन्त्रित संस्थामा नियुक्ति भएका सबै कर्मचारीलाई दोहोरो सुविधा लिने बाटो खुलेको छ ।

तीन पदाधिकारीको जोडबलमा आफैले दोहोरो सुविधा लिने गरेको निर्णय नियमविपरीत भएको केही सिनेट सदस्यको आरोप छ । सो सभामा बजेट पारित भएको थियो । विशेष गरी बजेट सभा भनेर चिनिएको सिनेट बैठकमा त्रिविका पदाधिकारीले एक्कासि सो एजेन्डा ल्याएको सदस्यको आरोप छ ।

उपकुलपति बाँस्कोटाले सल्लाहकार हटाए
वर्षौसम्म उपकुलपतिको सल्लाहकार रहेका राजेन्द्र पौडेल जिम्मेवारीबाट हटेका छन् । ६३ वर्षे अनिवार्य अवकाश पाएका पौडेलसँगै उपकुलपतिको सल्लाहकार पदसमेत हटाइएको छ । उनलाई कर्मचारीले बिदाइ गरिसकेका छन् । पौडेल पूर्वउपकुलपति माधव शर्माको कार्यकालमा ४ वर्ष, प्राडा हीराबहादुर महर्जन उपकुलपति हुँदा करिब ६ महिना सल्लाहकार र त्यसपछि केही वर्ष कार्यकारी परिषद्का सदस्य, अघिल्ला उपकुलपति प्राडा तीर्थराज खनियाँको कार्यकालमा कार्यकारी परिषद्को सदस्य भएका थिए । त्रिवि कार्यकारी परिषद्को सदस्यबाट हटेपछि केही समय खाली भएका पौडेल पुनः सल्लाहकार हुन शक्तिकेन्द्र धाएका थिए ।

लगत्तै उपकुलपति धर्मकान्त बाँस्कोटाले उनलाई पुनः नियुक्त गरेका थिए । राजनीतिका आडमा त्रिविमा सुविधै सुविधा पाउने गरी नियुक्त भएका पौडेललाई अवकाश भएपछि हटाइएको हो । स्रोतका अनुसार पौडेललाई उपकुलपति बाँस्कोटाले ४ वर्षका लागि नियुक्त गरेकोमा एकाएक हटाएपछि आपत्ति जनाएका छन् । हटाइएका पौडेलले आफूलाई ४ वर्षका लागि नियुक्ति गर्ने अहिले अवकाश हुनेबित्तिकै हटाउने भन्दै नियुक्तिपत्र देखाउँदै राजनीतिक वृत्तमा भौंतारिरहेको स्रोतको भनाइ छ । नेपाल समाचारपत्र दैनिक