२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले किन खोस्यो रवि लामिछानेको डायरी ? अपहरणको शैलीमा पोखरा लगेको आरोप



अ+ अ-

काठमाडौं । सहकारीको बचत अपचलनको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडियाका तत्कालीन प्रबन्धक निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको डायरी प्रहरीले खोसेको आरोप लागेको छ ।

लामिछानले कास्की प्रहरीले आफ्नो ‘हिरासत डायरी’ जफत गरेको बताएका हुन् । चितवनबाट पोखरा ल्याइएपछि ब्याग खानतलासीका क्रममा डायरी प्रहरीले लिएको उनको भनाइ छ ।

चितवनको साहारा सहकारीको रकम हिनामिना गरेको बारे छानबिन गर्न लामिछानेलाई चितवन पुर्‍याइएको थियो । दुई दिनसम्म सरकारी वकिलको कार्यालयमा बयान गराइएपछि उनलाई कास्की प्रहरीले रातारात पोखरा लगेको थियो । लामिछानेलाई हिरासतमै भेटेका रास्वपाका नेता दीपक बोहोराले प्रहरीले डायरी खोसेको आरोप लगाएका हुन् । उनले न्यूजपोलारसँग कुरा गर्दै भने– ‘उहाँले हिरासतमा बस्दा आफ्ना अनुभव र भोगाइहरु डायरीमा उतारिरहनु भएको छ । काठमाडौं र चितवन जाँदा त्यो डायरी उहाँको ब्यागमा नै थियो । तर, आज बिहान तीन बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएपछि आफ्नो डायरी प्रहरीले जफत गरेको उहाँले मसित बताउनुभएको छ । प्रहरीलाई उहाँको डायरीसित पनि किन यत्रो डर हो बुझ्न सकिएन ।’।

तर कास्की प्रहरीले भने रविको डायरी नखोसेको बताएका छ । डायरी खोस्नुपर्ने आवश्यकता पनि नरहेको प्रहरीको भनाइ छ ।

अपहरणको शैलीमा पोखरा पुर्‍याइएको भन्दै रास्वपाका नेताहरुको आपत्ति

अनुसन्धानका लागि काठमाडौंबाट चितवन पुर्‍याइएका लामिछानेलाई ‘अपहरण’को शैलीमा मध्यरात पोखरा लगिएको आरोप रास्वपाका नेताहरुले लगाएका छन् । निदाइ रहेको व्यक्तिलाई उज्यालो नहुँदै लगिएको आरोप उनीहरुको छ ।

हिजो दिनभरि रविको चितवन सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो । बयान कक्षमा नै बिहान–बेलुकाको खाना खुवाएर १२ घन्टासम्म उनको सोधपुछ भयो । राति साढे नौ बजेतिर उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा फर्काइयो । दिनभरिको थकाइले गर्दा उनी चाँडै सुतेका थिए ।

मस्त निद्रामा रहेका रविलाई मध्यरातमा प्रहरीले उठायो । उनलाई अहिल्यै पोखरा जानुपर्ने भनियो । जबकी भोलिमात्र जाने कुरा थियो ।

रास्वपाका नेता बोहोराले न्यूजपोलारसँग भने, ‘आज पोखरा लैजाने कुनै कुरा थिएन । बिहीबार बिहानको फ्लाइटमा लैजाने भनेर मलाई नै प्रहरीले भनेका थिए । तर मध्यराति नै उठाएर अपहरणको शैलीमा लगियो । प्रहरीको यो कार्य निन्दनीय छ ।’