१२ असार २०८३, शुक्रबार
,
Latest
कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन श्रष्टा सम्मानित



अ+ अ-

काठमाडौँ । स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो ।

स्वरसम्राट नारायण गोपालसँग सामिप्यता रहनुभएका र सङ्गीतमा विशेष योगदान दिनुभएका श्रष्टालाई योगदानको कदरस्वरूप जनही रु ५१ हजार र ताम्रपत्रबाट सम्मान प्रदान गरिएको कोषका अध्यक्ष दीपक केसीले जानकारी दिनुभयो । “स्वरसम्राट नारायण गोपालको विषयमा हामीले जति चर्चा गरेपनि पुग्दैन”, उहाँले भन्नुभयो, “अहिलेको पुस्ताले पनि उहाँको गीत मन पराउनाले उहाँको गीतसङ्गीत कति बुलन्द रहेछ भन्ने प्रस्ट्याउँछ । उहाँले नेपालीलाई कालजयी गीत दिनुभएको छ ।”

अध्यक्ष केसीले बुधबार देशभर उहाँको सम्झनामा विभिन्न कार्यक्रम पनि भएका जानकारी दिनुभयो । उहाँले धुम्वाराहीमा नारायण गोपाल सङ्गीत कोषले आफ्नो भवन निर्माण गरिरहेको पनि बताउनुभयो ।

सम्मानित हुनुभएका सङ्गीतकार मुकारुङले नारायण गोपाल जस्तो व्यक्तिको नामसँग जोडिएको सम्मान पाउनु आफ्नो लागि विशेष महत्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नारायण गोपाल सङ्गीतको विश्वविद्यालय हुनुहुन्छ । विगत छ दशकदेखि समकालीन सुरकर्मीसम्म उहाँको गीत पहिलो रोजाइमा पर्नुले उहाँको क्षमतालाई प्रस्ट्याउँछ । यस्ता धेरै कारणले उहाँ स्वरसम्राट हुनुभएको हो । यो सम्मान मेरो लागि अस्कर अवार्ड भन्दा ठूलो छ । उहाँको गीत प्रत्यक्ष सुन्न पाउनु, सामीप्यता राख्न पाउनु मेरा लागि गौरवको विषय हो ।”

‘सम्झनामा नारायण गोपाल’ अन्तर्गत श्रष्टाहरूले उहाँलाई गीतमार्फत सम्झिनुभएको छ । गायक दीव्यकुमार सिटौलाले ‘मलाई छोडी मेरै छायाँ…’, गायक साजन लामाले ‘यति चोखो यति मिठो…’, गायक राजेन्द्र श्रेष्ठले ‘गल्ती हजार हुन्छन..’, गायक महेन्द्र गुरुङ र रोजी श्रेष्ठले ‘ए कान्छा ठट्टैमा यो जोवन…’, गायक सम्भव जङ्गम थापा र सङ्गीत तिमिल्सिनाले ‘मेरो जोवन लौजाउ..’, गायक रामकृष्ण ढकालले ‘तिमीलाई भुल्दा…’, गायक छिरिङ भुटियाले ‘मन्दिरमा छकी मूर्तिमा माया…’ लगायत गीत प्रस्तुत गर्दै स्वरसम्राट नारायण गोपालको स्मरण गर्नुभयो ।

विसं १९९६ असोज १८ गते जन्मनुभएका स्वरसम्राट नारायण गोपालको विसं २०४७ मङ्सिर १९ गते निधन भएको थियो । प्रत्येक वर्या मङ्सिर १९ गते उहाँ र गीतसङ्गीतलाई स्मरण गर्दै स्मृति दिवसलाई मनाउने गरिन्छ ।