१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने

बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
अ अ+ अ-

खोटाङ । सगरमाथा राष्ट्रिय लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी नदीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको हो ।

फोक्सिङटारमा करिब ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गर्नेगरी ठेक्का आह्वान गरिएको सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल) सडक आयोजना कार्यालय उदयपुरका आयोजना प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार यही मङ्सिर १८ गतेसम्म ठेकेदार कम्पनीले दरखास्त हाल्न पाउनेगरी समयसीमा निर्धारण गरी सूचना प्रकाशन गरिएको छ । अहिले अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याउने र पुनः खोलेर राख्नेगरी ठेक्का आह्वान गरिएको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ ।

फोक्सिङटारमा २०७९ सालमा एक सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल बनेपछि लामो समयदेखि बर्सेनि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र झिकेर राख्नुपर्ने बाध्यता अन्त्य भएको थियो । दुई वर्ष नबित्दै बाढीले उक्त पुल बगाएपछि जिल्लावासीका लागि पुनःअस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो ।

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको सुनकोसीस्थित फोक्सिङटारमा विसं २०७९ मा खोलेर राखिएका सामानलाई पुनः राख्ने तयारी गरिएको आयोजना प्रमुख ज्ञवालीले बताउनुभयो । सो स्थानमा हिउँदमा राख्ने र वर्षा लाग्ने वित्तिकै झिक्ने गरी अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालन गर्ने गरिएको थियो ।

निर्माण कम्पनी गौरी–पार्वती–वाईपी जेभीले फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै विसं २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा मोटरेबल पक्की पुल बन्न १० वर्ष कुर्नुपरेको थियो ।

सडक कार्यालयले सूचना प्रकाशन गरेपछि संविधानसभा सदस्य विशाल भट्टराईले फोक्सिङटारमा आगामी पुस दोस्रो साताभित्र अस्थायी बेलिब्रिज जडान सम्पन्न गरेर सञ्चालनमा ल्याउनेगरी पहल भइरहेको जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका उहाँले वर्षाद्को समयमासमेत निकाल्नु नपर्नेगरी पुल निर्माण गर्न पहल थालिएको उहाँले तदारुकताका साथ लागेको उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभाका सांसद रामकुमार राई ‘पासाङ’ले फोक्सिङटारमा स्थायी पुल निर्माण गर्न सशक्त पहल गरिरहेको बताउनुभयो । “फोक्सिङटारमा तत्काल अस्थायी बेलिब्रिज जडान गर्न पटकपटक सम्बन्धित निकायमा खबरदारी गरेपछि सडक पूर्वाधार कार्यालयले ठेक्का आह्वान भएको सूचना प्रकाशन गरेको छ । सम्भवतः आगामी पुसभित्र अस्थायी बेलिब्रिज जडान भएर सञ्चालनमा आउँछ”, उहाँले भन्नुभयो, “यहाँ स्थायी पुल नबनेसम्म समस्या समाधान हुँदैन । स्थायी पुल निर्माण गर्न पहल भइरहेको छ ।”

कोसी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले फोक्सिङटार पुलको स्थायी समाधान गर्ने प्रयास जारी रहेको उल्लेख गर्नुभयो । प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’को सचिवालयले फोक्सिङटारमा स्थायी पुल बनाउन पहल गरिरहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।

यहाँको मोटरेलब पक्की पुल बाढीले बगाएपछि पूर्वी तराईसँगको सिधा सम्पर्क विच्छेद भएको वर्तमान अवस्थामा स्थानीय जनप्रतिनिधि र नागरिकको खबरदारीले यथाशीघ्र अस्थायी बेलिब्रिज जडान भएर सञ्चालनमा आउने अपेक्षा स्थानीयले गरेका छन् । मोटरेबल पक्की पुल बाढीले बगाएपछि जिल्लाको भौतिक पूर्वाधार विकास १० वर्ष पछाडि धकेलिएको जिल्लावासीको भनाइ छ ।

दिक्तेल–गाईघाट खण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काम अलपत्र छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको उक्त खण्डमा ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको स्थानीय बताउँछन् । रासस