४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बगेर खेर गइरहेछ भोटको नुन

बगेर खेर गइरहेछ भोटको नुन
अ+ अ-

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो ।

“मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो”, उहाँले भन्नुभयो, “आयोडिन मिसाएको नुन आउन थालेपछि हाम्रो खानीको नुन नर्साङखोलामा बगेर खेर गइरहेको छ ।”

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने नुनखानी उपभोग हुनसकेको छैन । कुनै समय ‘भोटको नुन’का रूपमा चिनने यहाँको खानी बेवारिसे बनेको छ । तेताङगाउँबाट नर्साङ खोलैखोला करिब एक घण्टा पैदलयात्रा गरेपछि नुनखानीमा पुगिन्छ । अग्ला पहाडको फेदीमा नुनिलो पानी निस्कने चारवटा मुहान छन् । प्रयोग हुन नसक्दा मुहानबाट निस्कने नुनिलो पानी नर्साङखोलामा बगेर खेर गइरहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का वडासदस्य तथा तेताङका बासिन्दा धवा गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार आयातित नुनको सहज उपलब्धतासँगै यहाँको खानी तीन दशकयता उत्खनन भएको छैन । “पहिले तेताङका बासिन्दा तीन महिनासम्म खानीमै बसेर वर्षमा ६०–७० मुरी नुन निकाल्ने गर्दथे”, उहाँले भन्नुभयो, “अहिले नुन निकाल्ने मान्छे पनि छैनन् । बाटो नभएकाले त्यहाँ पुग्न पनि गाह्रो छ ।”

स्थानीयवासीले परम्परागत प्रविधि अपनाएर नुनीलो पानीलाई सुकाएर ढिक्के नुन उत्पादन गर्दथे । नुनिलो पानीलाई कुण्डमा सङ्कलन गरी घाममा सुकाएर नुन बनाउने गरिएको थियो । मुहानबाट पाइपमार्फत कुण्डमा नुनिलो पानी ल्याएर सङ्कलन गर्ने संरचनाहरू अझै छन् ।

पहिले खाली जमिनमा सुकाइने नुनिलो पानी पछिल्लो समय त्रिपाल र प्लाष्टिकमाथि जम्मा गर्न थालिएको थियो । उत्खनन हुन छाडेपछि नाउर, झारल, घोरललगायत वन्यजन्तु नुन खानका लागि खानीमा आउने गर्छन् । नुनखानी हेर्न जानेहरूले वरपर जङ्गली जनावर देखिने बताउँछन् । घुम्न गएका पर्यटकले नुनिलो पानीलाई बोतलमा हालेर प्रसादका रूपमा घरमा लैजाने गर्छन् ।

बर्खामा नर्साङखोलामा बाढी आउने र हिउँदमा हिउँ पर्ने भएकाले वैशाख, जेठ र असारमा खानीमै बसेर नुन निकाल्ने गरिएको तेताङका बूढापाका बताउँछन् । राणा शासनकालमा थासाङ गाउँपालिका–१ टुकुचेका तत्कालीन सुब्बा शङ्करमान शेरचनलाई नुन उत्खननको जिम्मा दिइएको थियो ।

शेरचन र उहाँका सन्तानहरू बसाइँ सरेर काठमाडाँै गएपछि खानी उत्खनन हुन छाडेको हो । म्याग्दी, बागलुङ र पर्वतका बासिन्दा हप्ताँै पैदलयात्रा गरेर मुस्ताङमा नुन लिन जाने गर्दथे । बेनी नगरपालिका–५ का केदार पौडेलले मुस्ताङ गएर चामलसँग साटेर नुन ल्याउने गरेको सम्झनुहुन्छ ।

“मुस्ताङमा धानखेती नहुने भएकाले हामीले यताबाट चामल बोकेर लैजाथ्यौँ र एक पाथी चामलको एक पाथी नुन ल्याएर आउथ्यौँ”, ७० वर्षीय पौडेलले भन्नुभयो, “पछि पुतलीखेतमा गाडी आएपछि नुन ल्याउन मुस्ताङ जान छाडियो । अहिले त आयोडिनयुक्त नुन गाडीले गाउँगाउँमै ल्याउँछ ।”

गाउँघरमा बूढापाकाहरूले भोटको नुन ल्याउन थाकखोला जाँदाको अनुभव सुनाउने गर्छन् । भोटको नुन अहिले एकादेशको कथामा सीमित भएको छ । जोमसोमबाठ तल पर्ने थकाली समुदायको बसोबास भएको बस्तीलाई थाकखोला भन्ने गरिन्छ । नुनको माग रहेको बेला तेताङका धेरैले रोजगारी पाएका थिए । रोजगारीसँगै पैसा तिरेर महँगोमा नुन खान नपरे आफूहरूलाई ठीक हुने स्थानीयवासीको माग छ ।

विसं २०७७ मा खानी तथा भूगर्भ विभागका प्राविधिक इन्जिनियरसहितको टोलीले यस क्षेत्रमा स्थलगत रूपमा नुन खानीको अध्ययन गरेको थियो । टोलीले यो खानीको नुनमा ७० दशमलव २८ प्रतिशत देखि ९३ दशमलव ७ प्रतिशतसम्म सोडियम क्लोराइड रहेको र यहाँको नुन खान योग्य भएको पुष्टि गरेको थियो ।

जोमसोम देखि ३० किलोमिटर टाढा छुसाङको तेताङ नजिकैको नर्साङखोला आसपासको दुई किलोमिटर क्षेत्रफलमा नुनको भण्डार रहेको विभागको अध्ययन प्रतिवेदनमा उल्लेख छ । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सोमप्रसाद पाण्डे आफँै नुनखानीको अनुगमन गर्न आउनुभएको थियो ।

पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनका अनुसार मुस्ताङको नुनलाई ‘हिमालयन साल्ट’का रूपमा ब्राण्डिङ गरेर बिक्री गर्ने लक्ष्यसहित २०७७ सालमा खानी तथा भूगर्भ विभागले नुनखानी उत्खननका लागि प्रस्ताव आह्वान गरेको थियो । विभागका अनुसार नुनखानी उत्खनन गर्न कुनै पनि कम्पनीले प्रस्ताव गरेनन् । निजी क्षेत्रले चासो नदेखाएपछि नुनखानी उत्खननको विषय ओझेल परेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का वडाध्यक्ष विनोद गुरुङले बताउनुभयो ।

“भूगोल हाम्रो भए पनि खानी उत्खनन गर्ने सामथ्र्य र अधिकार गाउँपालिका वडालाई छैन”, उहाँले भन्नुभयो, “खानीलाई संरक्षण गरेर पर्यटकीयस्थल बनाउन सकिन्छ । त्यसका लागि बाटोको समस्या छ ।” सडकमार्गको पहुँच र नुनखानी रहेको पहाडबाट बग्ने नुनिलो पानीलाई पाइप लाइनमार्फत सहज ठाउँमा ल्याएर उत्पादन गर्न सकिने सम्भावना छ । परम्परागत रूपमा विगतमा नुनको उत्खनन भए पनि त्यसलाई आधुनिक तरिकाले गर्न आवश्यक छ । उत्खनन भएको नुनलाई आयोडिन मिसाएर प्रयोगयोग्य बनाउन सकिन्छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले नुनखानी भएको ठाउँलाई तेताङ र छुसाङका बासिन्दाहरूको आफ्नो भूगोलमा पर्ने दाबी गर्दा विवाद भएको र व्यक्तिगत जग्गामा खानी भएकाले त्यसका लागि सरकारले नीतिगत निर्णय गर्नुपर्ने बताउनुभयो ।

यसअघि गाउँपालिकाले २०७५ सालमा नुनखानीबाट निस्कने नुनिलो पानी सङ्कलन गर्ने तीनवटा पोखरी बनाएको थियो । गाउँपालिकाले बनाएको उक्त अस्थायी संरचना नर्साङखोलाको बाढीले क्षति पुर्याएको छ ।

मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले खानी रहेको ठाउँको जग्गा व्यक्तिको स्वामित्वमा रहेकाले त्यहाँ सरकारी निकायबाट पूर्वाधार बनाउन नीतिगत समस्या हुने भएकाले अलमल रहेको बताउनुभयो ।

मुस्ताङमा नुनको मात्र नभएर युरेनियम, कोइला र ग्यासको खानी छ । मुक्तिनाथ मन्दिर परिसरमा ग्यासको खानी भएकाले त्यहाँ निरन्तर बलिरहने ज्वाला छ । खानी तथा भूगर्भ विभागले २०७०र७१ सालमा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किमी लम्बाइ र तीन किमी चौडाइमा युरेनियम भेटिएको थियो ।

युरेनियनको खानीको संरक्षण र सुरक्षाका लागि लोमान्थाङको लुङखुफाँटमा नेपाली सेनाको क्याम्प राखिएको छ । युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ । जोमसोम नजिकैको ठिनी लेकमा कोइला खानी छ । मुस्ताङमा रहेका खानीको व्यवस्थित हिसाबले उत्खनन र संरक्षण गर्न सकेमा रोजगारी सृर्जना, आयात घटाउन र देशको अर्थतन्त्रमा योगदान पुग्ने देखिन्छ ।

सन्ताेष गाैतम/रासस