७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सन्दर्भ फाल्गुनन्द जयन्ती : कुरीतिविरुद्ध धर्ममुचुल्का गराउने महागुरु

सन्दर्भ फाल्गुनन्द जयन्ती : कुरीतिविरुद्ध धर्ममुचुल्का गराउने महागुरु
अ+ अ-

झापा । किराँत धर्मका महागुरु फाल्गुनन्दले ९३ वर्षअघि नै सामाजिक कुरीति र विकृति हटाउने उद्देश्यले काटमार, मांसाहार र मदिरा सेवन गर्न नहुने धर्ममुचुल्का गराउनुभएको स्थानीय ज्येष्ठ नागरिकहरूले बताउनुभएको छ ।

समाज सुधारकको रूपमा परिचित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज देशभर मनाइँदैछ । सरकारले २०६६ साल मङ्सिर १६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको जन्म १९४२ साल कात्तिक २५ गते इलामको माङ्सेबुङ गाउँपालिका–२ इभाङको चुम्चिनाम्बामा भएको थियो । विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा उहाँको निधन भएको हो ।

महागुरु फाल्गुनन्दको जन्म अति गरिब परिवारमा आमा हंशमति र बुबा जगनबाज लिम्बूको कोखबाट साहिला सन्तानका रूपमा भएको थियो । उहाँ आठ वर्षकै उमेरमा ज्ञानी र ध्यानी हुनुभएको थियो । न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उहाँ बेलायती फौजमा फाल्गुनन्दको नामबाट भर्ती हुनुभएको थियो । बेलायती सेनामा केही वर्ष काम गरेपछि फाल्गुनन्दले युद्धप्रति वितृष्णा जागेको भन्दै सेनाको जागिर त्यागिदिनुभएको थियो । जागिर छाडेर उहाँ अहिंसा र किराँत धर्मको प्रचार गर्दै नेपाल, भारत र भूटानसम्म पुग्नुभएको थियो ।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमका अनुसार किराँत धर्मावलम्बीहरूले उहाँलाई पृथ्वीलोकमा धर्म प्रचार र मुक्तिका लागि ईश्वरीय प्रतिनिधि (देवदूत)का रूपमा सम्मान गर्छन् । उहाँका अनुसार महागुरु फाल्गुनन्दले १९८८ साल वैशाख २५ गते दश लिम्बू र १७ थुमका अगुवा व्यक्तित्वहरूलाई पाँचथरको लेबे्रकुटीमा एकत्रित गराएर ‘सत्य हाङ्मा मुचुल्का’ गराउनुभएको थियो । उक्त १० बुँदे मुचुल्कालाई फाल्गुनन्दको धार्मिक सन्देशका रूपमा मानिन्छ । तत्कालीन लिम्बूवान क्षेत्रका सबै अग्रजहरूले सहीछाप गरेको उक्त मुचुल्का नौ हात लामो काँचो कागजमा लेखिएको र त्यसको प्रतिलिपि सुरक्षित राखिएको अध्यक्ष थेगिम बताउनुहुन्छ ।

किराँती समुदायमा जन्म, मृत्यु, विवाह र उत्सवहरूमा भेला हुँदा अत्यधिक मदिरा र मासु खुवाउने उसबेलै चलन थियो । पशुको काटमारले मानिसमा हिंस्रक प्रवृत्ति र मदिराको अधिक प्रयोगले विकृति बढ्ने महागुरुले निष्कर्ष निकाल्नुभएको उहाँको तर्क छ । सामाजिक रीति र संस्कारमा मदिरा, बलि र तडकभडक हटाउन सहज थिएन । त्यहीकारण महागुरुले किराँत समुदायका अग्रजहरूलाई लेब्रेकुटी भेलाको आयोजना गर्नुभएको थियो । भेलाका सबै सहभागीले धर्म मुचुल्कामा राजी भएर सहीछाप गरेका थिए ।

महागुरु फाल्गुनन्द किराँत वेद ‘मुन्धुम’को ज्ञाता हुनुहुन्थ्यो । किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिनुहुने फाल्गुनन्दले प्रतिपादन गर्नुभएको धर्म मुचुल्कामा किराँतीहरूले मासु र मदिरा खान नहुने, छोरीलाई छोरासरह समान शिक्षा र अधिकार दिनुपर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गर्नुपर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिनदिन नहुने, स्वदेशी कपडा प्रयोग गर्नुपर्ने, सिरिजङ्गा लिपि प्रचलनमा ल्याउनुपर्नेलगायत सामाजिक सुधारका नीतिहरू समावेश भएका छन् । नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनुपर्ने उहाँको सन्देश लैङ्गिक समानताका लागि उल्लेखनीय योगदान मानिन्छ । किराँती समुदायमा आज पनि महिला सशक्तीकरणको अवस्था सराहनीय छ ।

महागुरु फाल्गुनन्दको सम्मानमा सरकारले २०५० सालमा रु १५ को हुलाक टिकट प्रकाशित गरेको थियो । विसं २०७२ देखि फाल्गुनन्द जन्मजयन्तीका अवसरमा सरकारले किराँत धर्मावलम्बीका लागि बिदा दिन थालेको हो ।

झापाको दमक, मेचीनगर, शिवसताक्षी र अर्जुनधारा, बुद्धशान्ति, इलामको माङ्सेबुङ, चुलाचुली, पाँचथरको फिदिम, ताप्लेजुङको फक्ताङलुङलगायत पालिकाले कात्तिक २५ गते फाल्गुनन्द जयन्तीका अवसरमा विगतदेखि नै सार्वजनिक बिदा दिने गरेका छन् । मुलुकभित्र र बाहिर फाल्गुनन्दको सयौं सालिक स्थापना भइसकेका छन् ।

विश्वबन्धुत्व र अहिंसाका महान् तपस्वी किराँत धर्मगुरु फाल्गुनन्दको धार्मिक सन्देशलाई विश्वभर फैलाउने कार्यमा उहाँका नाति धर्मगुरु आत्मानन्द लिङ्देनले हाल अगुवाइ गरिरहनुभएको छ । इलामको माङ्सेबुङस्थित लारुम्बामा धर्मगुरु आत्मानन्द लिङ्देनले स्थापना गर्नुभएको माङ्हिम अहिले किराँत धार्मिकस्थलको रूपमा प्रसिद्ध छ । पाँचथरको लेबे्रकुटी, सिलौटीलगायत स्थान फाल्गुनन्दकै कारण धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित छन् । रासस