२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार



अ+ अ-

गलेश्वर, (म्याग्दी) । केही वर्षअघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदो हिजोआज सहरबजारका गन्यमान्यले पनि खोज्न थालेपछि जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार भएको छ ।

सहरबजारबाट कोदो खोज्दै गाडी लिएर व्यापारी गाउँगाउँमा नै आउन थालेपछि पश्चिम म्याग्दीका मालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा कोदोखेती थालिएको हो । कोदो टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा पेश्की दिएर जान थालेका मालिका गाउँपालिका–२ का किसान रणबहादुर शिर्पालीले बताउनुभयो ।

मालिका गाउँपालिका–६ का उपल्लो दरबाङ, दिच्याम गाउँमा जताततै कोदो लगाइएको छ । यहाँका स्थानीयले गत वर्ष दुई सय मुरीभन्दा बढी कोदो उत्पादन गरेकामा यस वर्ष साढे तीन सय मुरी कोदो उत्पादन गर्ने लक्ष्यका साथ कोदोखेती विस्तार गरेका दिच्यामका वीरबहादुर विकले बताउनुभयो । गत वर्षको भन्दा एक सय २० रोपनी बढी जग्गामा यस वर्ष कोदोखेती विस्तार गरिएको उहाँले बताउनुभयो ।

“सहरमा कोदोको माग उच्च छ, गाउँमा आफ्नो बारी बाँझै रहन्थ्यो, यस वर्ष कोदो रोप्ने समयमा बजारबाट गाउँ फर्किएर खेताला (कृषि मजदुर) खोजी दुई दिन लगाई कोदो रोपेँ, सात–आठ मुरी जति कोदो फल्ने अनुमान छ”, धवलागिरि गाउँपालिका–२ की शोभा पुनले भन्नुभयो ।

पोषणविज्ञहरूका अनुसार कोदोमा प्रशस्तमात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइन्छ । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई उपयुक्त मानिन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष म्याग्दीमा कोदोको उत्पादन बढ्ने भएको छ । गत वर्षको तुलनामा शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढ्ने केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । अनुकूल मौसम, रोग कीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा कोदो उत्पादन बढ्ने उहाँले बताउनुभयो । गत वर्ष म्याग्दीमा दुई हजार दुई सय ५० मेट्रिक टन कोदो उत्पादन भएको थियो ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्र खेती गरिएको छ । रासस