१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छठका लागि महँगो मूल्यमा केरा किन्न बाध्य छन् जनकपुरवासी



अ+ अ-

जनकपुर । मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारीमा श्रद्धालुहरु लागेका छन् । व्रतालुहरु आज नहाए खाए विधिसँगै छठ व्रतको शुभारम्भ गरेका छन् भने श्रद्धालुहरु छठ पर्वमा प्रयोग हुने पूजाका सामग्री जुटाउने तयारीमा लागेका छन् । छठ पर्वमा अनिवार्य रुपमा प्रयोग हुने पूजा सामग्रीमा केरा तथा नारिवल लगायतका फल पर्छ ।

अहिले फलफूल मण्डीमा केरा किन्न आउनेहरुको भीड बढेको छ । छठ पर्वको प्रमुख प्रसादको रुपमा प्रयोेग हुने केरा किन्नेहरुको जनकपुरधामका प्रमुख बजारहरुमा केही दिन यता भीड लागेको छ । प्रत्येक वर्ष जस्तै यसवर्ष पनि केराको विक्री छठ पर्वको पूर्वसन्ध्यामा व्यापक वृद्धि भएको छ । यद्यपि अन्य वर्षहरुभन्दा महँगो मूल्यमा श्रद्धालुहरु केरा किन्न बाध्य भइरहेका छन् । यस वर्ष पछिल्लो वर्षको तुलनामा दोब्बर मूल्य तिरेर केरा किन्न परिरहेको गुनासो उपभोक्ताहरुको छ ।

यस वर्ष भारतबाट खरिद गरेर नेपाल भित्र्याउन रोक लगाएकाले केराको अभाव भएको जनकपुरधामस्थित फलफूल व्यवसायी संघका महासचिव भूवनेश्वर पूर्वेले बताउनु भयो । उहाँकाअनुसार जनकपुरधाम बजारमा पछिल्लो वर्ष ८० ट्रक केराको आयात गरिएको थियो भने यो वर्ष भन्सारमा रोक लगाइएकाले ६० ट्रक केरा आयात गरिएको छ ।

जनकपुरधाम बजारमा भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढी लगायतका क्षेत्रबाट आयात गरिँदै आएको थियो । जबकि यस वर्ष नवलपरासीको त्रिवेणीबाट मात्रै केरा बढी मात्रामा आयात गरिएको छ ।

भारतको केरा सस्तो भएपनि नेपाल भित्र्याउन समस्या भएपछि त्यसको मार उपभोक्तामा पर्ने निश्चित रहेको फलफूल व्यवसायी दीलिप साले बताउनु भयो ।

छठका लागि केरा किन्न पुगेका उपभोक्ता पहिलेको तुलनामा छठ पर्व धेरै महँगिएको बताउँछन् । पहिला पहिला ३ सयदेखि ५ सय रुपैयाँमा केरा किन्न पुग्थ्यो । तर यस वर्ष कम्तीमा ८ सयदेखि १ हजार रुपैयाँसम्म मात्रै केरा खरिद गर्नुमा खर्चिनु परिरहेको छ ।