५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित, प्रतिश जिसीले लिए तीन विकेट, पूल ‘बी’को विजेता बन्दै क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियाविरुद्ध शानदार जित निकाल्दै समूह विजेताका रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ । यो जितसँगै नेपाल पूल ‘बी’को विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

हङकङको मोङ कक मैदानमा आज टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो । अस्ट्रेलियाले सबै विकेट गुमाएर सय रन बनाएको हो ।

अस्ट्रेलियाका लागि ज्याक उडले १६ बलको सामना गर्दै अर्धशतक पूरा गरे । ६ छक्का र चार चौका प्रहार गरेर उनले ५५ रन जोडेका हुन् । एलेक्स रसले १४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले एकएक विकेट हात पारे । दुई ओभर बलिङ गरेका प्रतिशले २४ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । उनी म्यान अफ द म्याच बने ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले अर्धशतक पुरा गरे। उनले १६ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५१ रन बनाएका हुन् । हङकङ सिक्सेसमा उनको यो लागातार दोस्रो अर्धशतक हो । अघिल्लो खेलमा उनले इंग्ल्याण्डविरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए ।

लोकेश बमले १३ बलमा तीन चौका र तीन छक्काको मद्तमा ३३ रन बनाएका थिए । नेपालका लागि विवेक यादवले चार बलमा १२ रन प्रहार गरे । राशिद खानले दुई बलमा १२ रन बनाए भने एक बल खेलेका नारायण जोशीले एक रन जोडे ।

अस्ट्रेलियाका ज्याक उडले दुई विकेट हात पारे ।

यो जितसँगै नेपाल पूल ‘बी’ को विजेता बन्दै क्वाटरफाइनल पुगेको छ । पहिलो खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । नेपालले क्वाटरफाइनलमा पूल ‘डी’ को श्रीलंका वा बंगलादेशसँग खेल्ने छ ।

पूल बी बाट उपविजेता बन्दै अस्ट्रेलिया पनि क्वाटरफाइनलमा पुगेको छ । इङल्याण्ड दुवै खेल हारेर बाहिरिएको छ ।