१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री

पाल्पामा सयपत्री फूलको माग उच्च

पाल्पामा सयपत्री फूलको माग उच्च
अ अ+ अ-

रामपुर । ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केर पुष्प व्यवसायमा लागेका पाल्पा रामपुर नगरपालिकाका युवा दिलबहादुर थापा र लालबहादुर थापा बारीभरि फूल देख्दा खुसी हुनुहुन्छ । बारीमा फूलको रेखदेख गर्ने, ग्राहकको विवरण सङ्कलन गर्न उहाँको व्यस्तता बढ्न थालेको छ ।

यस व्यवसायबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्दै आएको उहाँ बताउनुहुन्छ । करिब चार रोपनी क्षेत्रफलमा फूलखेती गरिहनुभएको छ । तिहार पर्वलाई लक्षित गरी लगाइएको फूलले राम्रो आम्दानी दिएको उहाँ बताउनुहुन्छ । यसपटकको तिहारमा रु दुई लाखदेखि दुई लाख ५० हजारसम्म आम्दानी हुने उहाँको अनुमान छ ।

“तिहारमा सधैँ फूलको अभाव हुने भएपछि व्यावसायिक रूपमा खेती सुरु गरेको हो, सुरुमा फूल व्यवसाय गर्दा छिमेकी, आफन्त यस व्यवसायले बजार लिन्छ भनेर पत्याएका थिएनन्”, उहाँले भन्नुभयो, “चुनौतीका बाबजुद पनि व्यवसाय सुरु गरियो, पहिलो वर्षमा नै नसोचेको आम्दानी भएपछि व्यवसायलाई निरन्तर रूपमा अगाडि बढाइएको छ ।”

यहाँ उत्पादन भएको फूल प्रतिकिलो रु पाँच सय खुद्रा, होलसेल रु चार सय, प्रतिमाला रु एक सय ५० खुद्रा, होलसेल रु एक सय २० कायम गरिएको छ । बुटवल, नेपालगञ्ज, तानसेनलगायत विभिन्न बजारबाट फूलमालाको माग धेरै आएको लालबहादुर थापा बताउनुहुन्छ । रामपुरमा फूलमालाको अभाव हुन नदिन स्थानीय ग्राहकलाई नै प्राथमिकतामा राखेर बिक्री गर्दै आएको लालबहादुरले जानकारी दिनुभयो ।

“तिहार सुरु नहुँदैदेखि नै फूलमालाको माग धेरै आएको छ, हामीले बाहिर बजारमा पठाउँदैनाँै, स्थानीय ग्राहक तथा व्यापारीलाई नै बिक्री गर्ने गरेका छौँ, स्थानीय ग्राहकलाई पुर्याउन हामीलाई हम्मेहम्मे पर्ने गरेको छ”, उहाँले भन्नुभयो ।

उहाँहरूले बिगत पाँच÷छ वर्षदेखि निरन्तर रूपमा व्यवसाय गरिरहनुभएको छ । यहाँ कर्मा ५५५ जातको सयपत्री फूल लगाइएको छ । यस जातबाट उत्पादन राम्रो हुने भएपछि कर्मा ५५५ लाई रोजाइमा पार्नुभएको छ । दिलबहादुर र लालबहादुरले जग्गा भाडामा लिएर फूलखेतीसँगै तरकारी खेती पनि गरिरहनुभएको छ । तरकारीको तुलनामा फूलबाट छोटो समयमा दोब्बर बढी आम्दानी लिन सकिने, मेहनत र लगानी धेरै नपर्ने व्यवसायीको अनुभव छ ।

रामपुर नगरपालिकाले प्लास्टिकजन्य माला बिक्री तथा प्रयोगमा रोक लगाएपछि व्यवसायीलाई हौसला मिलेको छ । यस वर्षको तिहारलाई लक्षित गर्दै नगरपालिकाले अग्रिम सूचना जारी गरी प्लाष्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न सम्बद्ध व्यवसायीमाझ अनुरोध गरेको छ । नगरपालिकाले प्लाष्टिकजन्य फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएपछि यस वर्ष सयपत्री फूलमालाको माग रामपुर बजारमा बढेको छ ।

रामपुरका दिलबहादुर र लालबहादुरले थालनी गरेको पुष्प व्यवसाय देखेर पछिल्लो समय घर तथा विद्यालय, विभिन्न सङ्घसंस्थामा फूल लगाउन थालिएको छ । यहाँबाट बिरुवा खरिद गरेर लगाउने कार्य भइरहेको छ । यतिबेला ढकमक्क फुलेको फूलमा रमाउँदै तस्बिर खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने, अवलोकन गर्न जाने, फूलखेतीबारे जानकारी लिन जानेको चहलपहल छ ।

रामपुर नगरपालिकाले यहाँ थालनी गरिएको व्यवसायमा हौसला प्रदान गर्न सहयोग गर्दै आएको छ । नगरपालिकाको सहयोगमा एकहप्ते पुष्प व्यवसाय तालिम लिएर व्यवसाय थालनी गरिएको व्यवसायीले बताएका छन् । यहाँ तिहारमा मात्र नभई अन्य समय पनि सयपत्री फूलखेती हुने गरेको छ । नगरपालिकाभित्र हुने विभिन्न सङ्घसंस्थाको सभासमारोह, कार्यक्रम, विवाह, व्रतबन्ध, शुभकार्यलगायतमा राम्रो खपत हुने गरेको छ ।