९ कार्तिक २०८१, शुक्रबार
,
Latest
उपप्रधानमन्त्रीसँग एमसिसीकी प्रमुख कार्यकारीको भेट ‘दाना’ चक्रवातको असरले नेपालमा केही ठाउँमा पानी पर्ने धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त खेतीमा प्रविधिको प्रयोगले बढायो आम्दानी आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध विद्युत प्राधिकरणले काट्यो महसुस नतिर्ने उद्योगको लाइन महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान्
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल



अ+ अ-

रामपुर, (पाल्पा) । रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गर्नुभएको छ । दुई दशक विदेश मजदुरी गर्नुभएका उहाँले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थाल्नुभएको हो ।

“लामो समयसम्म अर्काको देशमा पसिना बगाए, गाउँ फर्केलगत्तै जग्गा भाडामा लिएर सागसब्जीखेती सुरु गरेको छु, अहिले सागसब्जी, रोप्ने र रेखदेखमै व्यस्त छु”, उहाँले भन्नुभयो । उहाँले तीन वर्षका लागि वार्षिक रु ४० हजारमा जग्गा भाडामा लिनुभएको हो । बेमौसमी सागसब्जी उत्पादनलाई जोड दिनुभएका उहाँले काउली, ब्रोकाउली, बन्दा, धनियाँ, मुलालगायत सागसब्जी रोप्नुभएको छ ।

व्यवसाय सुरु गरेको पहिलो वर्षमा नै प्रशस्त आम्दानी भएपछि भुसाललाई सागसब्जीखेतीमा उत्साह थपिएको छ । एक वर्षमा उहाँले रु चार लाख आम्दानी गरेको बताउनुभयो । वार्षिक रूपमा रु सात लाखसम्म आम्दानी गर्ने उहाँको लक्ष्य छ । “अर्काको देशमा धेरै दु:ख छ, विदेशको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ, दिनमा कम्तीमा पनि १२ देखि १५ घण्टाको काम गर्नुपर्छ, तैपनि कामअनुसारको पारिश्रमिक पाइँदैन, आफ्नो देशमा आनन्दले परिवारका साथमा काम गर्न पाइन्छ, यसमै आनन्द छ”, विदेशमा आफूले भोगेको अनुभव उहाँ सुनाउनुहुन्छ ।

उद्यमी भुसाललाई आफ्ना उत्पादन बिक्रीको कुनै चिन्ता छैन । उहाँले उत्पादन गरेका सागसब्जी रामपुर बजारमा बिक्री हुने गरेको छ । व्यापारीले घरमा नै आएर खरिद पनि गर्ने गरेका छन् । उहाँ सागसब्जी मात्र नभई फलफूलका बिरुवा उत्पादन गरेर बिक्री पनि गर्नुहुन्छ । रासस