४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति

‘दुखियाको हाँसोमा ईश्वरको बास’

‘दुखियाको हाँसोमा ईश्वरको बास’
अ+ अ-

जलेश्वर । वर्षभरि विभिन्न दुःख, पीडा र आर्थिक समस्यासँग जुध्दै आएको कुरा सुनाउँदै हिँड्ने जलेश्वर नगरपालिका–१ का रामजी डोम अहिले आफ्नै घर अगाडि मुसुमुसु हाँस्दै हातमा बाँस र बेंतका भाँडाकुंँडा बनाउँदै गरेको भेटिन्छन् । उहाँसहित उहाँका छोरा, नाति र घरका अन्य महिला पनि प्रसन्न मुद्रामा आपसमा विभिन्न कुराकानी गर्दै हातहातमा बाँस र बेंतको भाँडाकुँडा बनाइरहेको दृश्य हेर्दा जो कोहीलाई पनि खुसी हुन्छ । सायद यसैले भनिन्छ, ‘दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ ।’ हो यस कुरालाई छठपर्वको बेला बाँस र बेंतबाट डालो, नाङ्लो र टपरी बनाउन जुटेका महोत्तरीका डोम समुदायले चरितार्थ गरेको छ । अधिकांश तराईबासीको प्रमुख पर्वको रुपमा रहेको छठको तीन साता मात्रै बाँकी रहेको बेला सधैँ खान, लाउन धौधौ पर्ने डोम जातिको मुहारमा पनि हाँसो र मनमा उल्लास छाएकाले साँच्चिकै ईश्वरको बास दुखियाको हाँसोमा रहेको देखिन्छ ।

गरिबी र विपन्नतामा पिल्सिएका वर्षैभरि गाउँगाउँमा सुङ्गुर डो¥याएर चहार्ने महोत्तरीका डोम समुदायलाई अहिले छठपर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टालुटपरी बनाउन भ्याइनभ्याइ भएको छ । गाँस, बास र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेको डोमहरुले छठपर्व आउनासाथ कात्तिक महिनाभर आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको मनरासिस्वा नगरपालिकाका– ५७ वर्षीय हरिदेव डोमले बताउनुभयो ।

गाउँ, सहरमा हुने भोजभतेरबाट जुठोसमेत ल्याएर स–परिवार खाने गरेको डोमले कात्तिकमा नानाथरिका परिकार पकाएर खाने गरेको सोही ठाउँकी ६२ वर्षीया मरनी डोमिनले बताउनुभयो । डालो बुन्दै गरेकी जिल्लाको गौशाला नगरपालिकाकी ७० वर्षीया घुरनी डोमिनले गहभरि आँशु लिएर भन्नुभयो, “कात्तिक लाग्नेबितिक्कै घरका बच्चादेखि बुढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ भने बजारमा बेच्दा राम्रै आम्दानी हुने भएकाले हामी निकै खुसी हुन्छौँ ।” तर वर्षभरि काम नपाउने हुँदा फेरि केही दिनपछि उनीहरुको दुःख सुरु हुन्छ ।’’छठपर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्गलो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्दछ । सम्सी गाउँपालिकाका ६५ वर्षीय बेचना डोमले आफूहरु सोही कारण दिनरात व्रतालुहरुको निम्ति बाँसका भाँडा बनाउने गरेको सुनाउनुभयो ।

त्यस्तै जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाका इन्दल डोमले डालो, नाङ्लो र टालुटपरी बेचेर कात्तिकमा वर्षभरिकै सबै ऋण चुक्ता गरेर केही रकम बचाउने गरेको बताउनुभयो । जिल्लाको भङ्गहा नगरपालिकाका सिरिया डोमका अनुसार घरका बालकदेखि बुढासम्मले डालो, नाङ्लो बेचेर प्रतिव्यक्ति ५०/६० देखि ७०/८० हजार र प्रत्येक परिवारले दुई÷तीन लाखको हाराहारीमा आम्दानी गर्ने गर्दछन् । यतिबेला जिल्लाको प्रत्येक पालिकाको गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैले बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् । दिनदिनै छठपर्व मनाउनेहरुको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम जातिलाई भ्याइनभ्याइ भएको छ ।

पछिल्लो केही वर्षदेखि तराईमा मात्रै नभएर देशको राजधानी काठमाडौंँसहित पोखरा, हेटौँडाजस्ता पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडा निर्यात हुने गरेको छ । छठपर्वको बेला महोत्तरीको विभिन्न १५ वटै पालिकामा उत्पादन गरिएको बाँस र बेंतका भाँडाकुँडा छठको बेला नेपालको राजधानी काठमाडौँसहित पोखरा, हेटाँैडा, चितवन, बुटबल, धरान जस्ता पहाडी क्षेत्रका साथै भारतको मधुबनी, दरभङ्गा, सीतामढी, मुजफ्फरपुर र पटनासम्म पुग्ने गर्दछ ।

मिथिलाको प्रमुख पर्वको रुपमा रहेको छठपर्वका लागि प्रत्येक परिवारले अहिलेदेखि डोमको आँगन र पिँढीमा बाँस र बेतबाट बनेको भाँडाकँुडा खरिद गर्नका लागि पुग्न थालेको बताउँदै औरही नगरपालिकाका सुरेश डोमले आफू परिवारसहित राति अबेरसम्म काम गरेर बाँसका र बेंतका भाँडाकुँडा बनाउने गरेको बताउनुभयो । छठ व्रत सुरु हुनुदेखि अन्त्य हुनुसम्म छठव्रत मनाउने प्रत्येक परिवारले पूजा सामग्री तथा पूजाप्रसाद प्रयोग गर्न डोमले बनाएकै बाँसका भाँडाकुँडा प्रयोग गर्नुपर्ने हुन्छ । यस पर्वमा सूर्य देवतालाई चढाइने प्रत्येक वस्तु (प्रसाद) बाँस र बेतकै भाँडाकुँडामा राख्नुपर्ने प्रचलन रहेको र ती सामग्री डोम समुदायका व्यक्तिले नै बनाउने हुँदा उनीहरुको जीवनस्तरमा सुधार ल्याउने माध्यम बनेको पिपरा गाउँपालिकाका सुरेश डोम बताउनुहुन्छ । डोम समुदायले छठ पर्वको भाँडाकुँडा बनाएर व्रतालुलाई एकातिर सहयोग पु¥याएका छन् भने अर्कोतिर आर्थिक उपार्जन पनि भइरहेको छ ।

यसैबीच डोम समुदायका युवाहरुले आफूले छठपर्वको बेला बाँस र बेंतबाट उत्पादन गरेको डालो, नाङ्लो, ढकिया, कोनिया जस्ता भाँडाकुँडाको व्यापार छठपर्वको बेला मात्रै चल्ने भएकोप्रति चिन्तित हुँदै यसको वर्षभरिको बजारीकरणको लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँगसमेत माग गरेका छन् । यस पर्वपछि पुनः उनीहरु आफ्नो पैतृक पेसा सुङुगुर पालनमै लाग्नुपर्ने बाध्यता रहेकाले उनीहरुले आफ्नो यस (बाँस र बेंतबाट भाँडाकुँडा बनाउने)पेसालाई वर्षभरि सञ्चालन पेसाको रुपमा विकास गरिदिएमा आफ्नो समुदायको जीवनस्तरमा सुधार आउने उनीहरुको विश्वास रहेको छ ।

महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरु मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि सम्पूर्ण मिथिला क्षेत्रमा छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य उपासना परम्पराको मोहक पद्दति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व पोखरी, नदी, तलाउ र अन्य जलाशयमा मनाउने गरिन्छ । धार्मिक आस्थाका साथै सामाजिक सद्भावको रुपमासमेत विकसित छठपर्व हिन्दूको सँगसँगै मुस्लिमहरुले पनि मनाउने गर्छन् । रासस