६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नब्बे वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय



अ+ अ-

डडेल्धुरा । सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ । तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रुपमा सक्रिय हुनुहुन्छ । यो उमेरमा उहाँले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

उहाँले ४० रोपनी जग्गामा तरकारीखेती गर्नुभएको छ । तरकारीबाटै वार्षिक रु १० लाख आम्दानी लिने गरेको उहाँले बताउनुभयो । विगत ३० वर्षदेखि भट्टले खसीबाख्रा र भैँसीपालन गर्दै आउनुभएको छ । हाल उहाँको गोठमा ५० वटा खसीबाख्रा छन् । तीन वटा उन्नत जातका भैँसी छन् । घरका भित्ताभरी माहुरीका आधुनिक तथा परम्परागत घार छन् । आँगनको कुनामा खरायोका खोर छन् ।

कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उहाँ बताउनुहुन्छ । “सानैदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन”, उहाँ भन्नुहुन्छ, “यही काम गर्दागर्दै मर्न परोस अरु मलाई केही चाहिएन ।”

खेती र पशुपालनबाटै आर्थिक रुपमा सम्पन्न उहाँले गाउँघरका छिमेकीलाई सङ्कट पर्दा सरसापटी दिने गर्नुहुन्छ । उहाँको जाँगर देख्ने जोकोहीले प्रेरणा लिने गरेको स्थानीय दुर्गा भट्टले बताउनुभयो ।

उहाँले व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेदेखि हालसम्म सरकारी अनुदान लिनुभएको छैन । तर माहुरीका लागि भने केही अनुदान पाए सहज हुने र हौसला मिल्ने आशामा हुनुहुन्छ ।

भट्टको अनुभवमा पछिल्लो समयमा हावापानीमा देखिएको परिवर्तनले धेरै असर गरेको छ । बजारमा पाइने नयाँ बीउ, मल, विषादीले पनि असर गरेको उहाँको अनुभव छ । पहिले–पहिले पाँच किलोसम्मको काउली उत्पादन हुने उहाँको बारीमा आजभोलि त्यत्रो काउली फल्दैन । पहिलेको परिमाणमा भैँसीले दिने दूध नै घटेको उहाँ बताउनुहुन्छ । “कतै पछिल्लो समयमा आएका यी विकासे घाँसले दूधको उत्पादन घटाएको त होइन ?”, उहाँले भन्नुभयो ।

देशमै व्यावसायिक कृषि गर्न सके केही हदसम्म रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाइ छ । आफ्नै देशमा पसिना बगाउन सके सोहीअनुसार फल प्राप्त गर्न सकिने उहाँको सुझाव छ ।