८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी

घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी
अ+ अ-

महोत्तरी । तिहार (दीपावली) पर्वको पक्ष शुरु भएपछि महोत्तरीका सर्वसाधारण गृहिणीको थैलीमा अतिरिक्त आम्दानी हुन थालेको छ । आफ्नै घर आँगन वरपरको डिलमा शोभाका लागि लगाइएको फूलबाटै केही आम्दानी हुन थालेपछि यहाँका सर्वसाधारण गृहिणीको थैलीमा नसोचेको अतिरिक्त आम्दानी पर्न थालेको हो ।  तिहारअघि फूल खोज्दै बस्ती÷बस्ती पस्ने व्यापारीले घर आँगनकै फूललाई राम्रो मूल्य दिन थालेपछि थैलीमा हम्मेसी पैसा नपर्ने गृहिणीमा खुशी थपिएको छ । “यसको पनि पैसा पाइन्छ भनेर त सोचेकै थिइनँ”, आफ्नै घरआँगनका डिलमा ढकमक्क देखिने सयपत्री र मखमली फूल देखाउँँदै बर्दिबास नगरपालिका–२ की गृहिणी वृन्दा अधिकारीले भने , “फूल खोज्न आउनेले त बैना भनेर एकहजार पो दिएर गयो ।” वृन्दाको आँगन डिलमा सयपत्री र मखमलीसहित ५० बोटमध्ये ३० बोटको तीनहजार मोल दिने भनेर बैना समातेको उनको भनाइ छ । 

यसरी घर वरपर सजावटका लागि रोपिएका फूलबाटै थैली भरिन लागेपछि यहाँका सर्वसाधारण गृहिणी व्यावसायिकरूपमै फूल खेती गर्ने  टुङ्गोमा पुगेका छन् । यसपालि तिहार शुरु हुनपूर्व नै आफ्नो घर करेसामा फुलेको फूल किन्न ग्राहक र व्यापारीको धुइरो लागेपछि अब चाहिँ फूल खेती व्यावसायिकरूपमै गर्न गृहिणीहरुको रहर जागेको हो । तिहारका बेला सोच्दै नसोचेको आम्दानी घरघरै आएका व्यापारीले दिएपछि सर्वसाधारण गृहिणी अहिले दङ्ग छन् । “तिहारमा फुल्ने गरी जति खेती गरे पनि हुने रे’छ” बर्दिबास–५ की गृहिणी फूलमाया ब्लोनले भन्नुभयो, “यो आँगनको डिलमा ४०÷५० बोट सयपत्रीका होलान्, मलाई त एक व्यापारीले चारहजार दिन्छु भनेर बैना दिएर गा’छन् ।” आर्जनका लागि नभई शोभाका लागि लगाइएको केही बोटबाटै यति आम्दानी हुने भएपछि अब चाहिँ तिहार लक्षित फूलखेती गर्ने टुङ्गोमा पुगेको फूलमायाको भनाइ छ ।   

घर करेसा वरपर शोभाका लागि लगाइएको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी दुई÷चार हजार आम्दानी बनाइदिएको घरायसी काममै व्यस्त रहने गृहिणीले बताएका छन् । यसपालि तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ३०÷३५ जति बोटका सयपत्री फूलको तीनहजार दिन्छु भनेको जिल्लाकै भङ्गाहा–४ की गृहिणी दीपमाया श्रेष्ठ बताउछन् । करेसाबारी र घरआँगन वरिपरिकै फूलका बोटबाट दीपमायाले तीनहजार पाउने देखेपछि छिमेकका अरु गृहिणीले पनि अब व्यावसायिकरूपमै फूल खेती गर्ने निर्णय गरेका छन् ।

अहिले तिहारअघि फूल खोज्ने ग्राहकको जिल्लाका गाउँ÷नगर बस्तीमा लर्को नै लागेको छ । पर्व विशेषले गर्दा फूल खोज्ने ग्राहक र व्यापारीले राम्रो मूल्य दिन थालेपछि अब प्रत्येक वर्ष तिहारमा उत्पादन लिने गरी फूल खेती गर्न आफ्नो बस्तीका कतिपय गृहिणी अग्रसर देखिएका भङ्गाहा–६ हतिसर्वाकी राजवती थारु बताउछन् । जिल्लामा फूलको व्यावसायिक खेती निकै विस्तार नभए पनि अब यसको सम्भावना बढेको कृषि विज्ञ बताउँछन् । तिहार र छठजस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चनालाई लक्षित गरी  यसको व्यावसायिक खेती शुुरु गरिए जिल्लामा थप एउटा आर्जनको बाटो खुल्ने भर्खरै जिल्लामा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादव बताउछन् । किसानले फूलखेती गर्ने निर्णय गरेर यसका लागि प्राविधिक र राम्रो उन्नत जातको बीउ माग गरे यस्ता सहयोग बढाइने केन्द्रले जनाएको छ । 

 जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये बलवा नगरपालिकाको पडौल र बनौटा बस्तीमा भने केही किसानले थोरै क्षेत्रफलमा केही वर्षयता व्यावसायिकरूपमै फूल खेती गर्दै आएका छन् । आफ्नो उत्पादन व्यापारीले फूलबारीबाटै लाने गरेका बनौटा र पडौलका किसानको भनाइ छ । यी बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकाले व्यापारीको  रोजाइमा  पर्ने गरेको किसान बताउँछन् । यहाँ  उत्पादित फूल राजधानी काठमाडौँसहित विभिन्न शहरमा पुग्ने गरेको बनौटाका किसान फूलदेव महतो बताउछन् । पछिल्लो पटक फूलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा  सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको सङ्ख्या बढ्दै गएको छ । फूलखेतीबारे रुचि देखाउनेमा महिलाको सङ्ख्या अधिक रहेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।