काठमाडौँ । नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी खड्गबहादुर श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी पार्टी मोरङका पूर्वमहाधिवेशन प्रतिनिधि श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
श्रेष्ठको शुक्रबार ९३ वर्षको उमेरमा मोरङको मिक्लाजुङ गाउँपालिकास्थित आफ्नै निवासमा निधन भएको थियो । स्वर्गीय श्रेष्ठले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको काँग्रेसले जनाएको छ ।
काँग्रेसले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।











