२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैंमा घर फिर्तीको हतारो (फोटो फिचर)



अ+ अ-

काठमाडौं । दशैंको बेला घर फर्किनेहरुको लर्को लागेको छ । नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किनेहरुको हतारो देखिन्छ ।

कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर घरको यात्रामा छन् । कोही भने अझैं सवारी साधनको खोजीमै छन् ।

सबैमा दशैंको उल्लास छ तर यात्रा सकस होला कि भन्ने चिन्ता पनि उतिकै छ । सडकका चोकचोकमा छन् घरसम्मको यात्रा तय गरेका यात्रुहरू । खाली छैनन् बसका सिटहरू । कलंकी चोक छोडेर बाहिरिरहेका छन् यात्रुले भरिभराउ सवारी ।

यात्रुहरुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छन् ।

प्रहरीले भीडभाडमा यात्रा गर्दा धनमाल चोरी हुनसक्ने जोखिम हुने भएकाले सजग रहन अनुरोध समेत गरेको छ ।

असोज ११ र १२ गते आएको बाढी र पहिरोले राजमार्गहरुको अवस्था भने बिग्रिएको छ । राजमार्गहरुमा सवारीको लर्को छ । अझै ५ वटा राजमार्गका केही खण्डमा यातायात सुचारु हुन सकेको छैन । यात्रुहरु घुमाउरो बाटो प्रयोग गरेर भए पनि गन्तव्यतर्फ लागिरहेका छन् ।

काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।

विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उहाँले भन्नुभयो, “आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ ।” दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् ।

नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिनुभयो ।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटाैँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

तस्बिर : हरिराम भेटुवाल / रासस