९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान



अ+ अ-

सोलुखुम्बु: विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौँबाट एक सय ९८ वटा उडान भएका हुन् । हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन् । उक्त दिन एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन् ।

हवाईजहाजबाट एक सय ६७ स्वदेशी र छ सय ६७ जना विदेशी गरी आठ सय ४ तथा हेलिकप्टरबाट छ सय ९५ पर्यटक लुक्ला ओर्लिएका उहाँले बताउनुभयो । पर्यटक आगमनको याम सुरु भएकाले उडान सङ्ख्या अझै बढ्ने उहाँले बताउनुभयो । यद्यपि पर्यटक लिएर काठमाडौँ र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् । लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताउनुभयो ।

पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामीलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ छ ।”

पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् । त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल, लज पर्यटकले नै भरिभराउ छन् । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले बताउनुभयो ।

२०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जभित्रको गोक्यो ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो । सन् १९७९ देखि निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो ।

निकुञ्जमा कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग पाइन्छन् । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलले बताउनुभयो ।रासस