१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा वर्षाजन्य विपद्: थप छ जनाको शव भेटियो



अ+ अ-

पाटन । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले आज दिनुभएको जानकारी अनुसार विपत्तीको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र आज बिहानसम्म छ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो ।

फेला परेका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भई आफन्तले बुझेर लगेको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी गराउनुभयो । “पाटन अस्पतालमा आएका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भइ आफन्तले बुझेर लैजानुभएको छ, अरु फेला परेका शवलाई प्रहरीको सहयोग र समन्वयमा पोष्टमार्टमका लागि पाटन ल्याउने काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

नेपाल प्रहरीले आज बिहान अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल गाउँपालिका वडा नं २ मानिखेल लक्ष्यबास बस्ने वर्ष ९ का आयुष स्याङ्तान, महाङ्काल–२ ठोस्ने खोला बस्ने एकै परिवारका वर्ष ४० की राममाया स्याङ्तान, निजका छोरा वर्ष १४ का अजय स्याङ्तान, अर्का छोरा वर्ष ११ का सुवास स्याङ्तान र छोरी वर्ष नौकी सलिना स्याङ्तानको शव फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार वर्षाजन्य विपद्मा परेर अझै १० जना बेपत्ता रहेका छन् । प्रहरीले अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल–३ गोटीखेल बस्ने इश्वर तिमल्सिना, उहाँकी आमा र श्रीमती गोमा असोज १२ गतेबाट बेपत्ता छन् ।

त्यस्तै रौतहट घर भई ललितपुर महानगरपालिका–१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष पाँचका सेतु साह, ओखलढुङगा घर भई ललितपुर बस्ने वर्ष ४० का देवराज कार्की, रौतहट गौर गाउँपालिका वडा नं ६ घर भई ललितपुर–१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष ३२ का बिकाउ साह बेपत्ता छन् ।

गोदावरी नगरपालिका–६ आनन्दवन अस्पतालमा काम गरी बस्ने वर्ष ३० का विवेक सिंह, बागमती गाउँपालिका–१ घुसेलका वर्ष ५० का केशव न्यौपाने, महाङ्काल वडा नं २ बस्ने वर्ष १२ की सञ्जिता स्याङ्तान, वर्ष ३५ का छविलाल स्याङ्तान र छविलालकी भाउजु (नाम नखुलेको) बेपत्ता छन् । रासस