१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

चितवनलाई चिनाएको क्यान्सर अस्पताल

चितवनलाई चिनाएको क्यान्सर अस्पताल
अ अ+ अ-

चितवन । पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । नेपालमा अस्पताल नहुँदा विदेशमा उपचार गर्नुपर्ने बाध्यता थियो । बिपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उहाँले चीन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री ली फङ्गसँगको भेटमा नेपालमा क्यान्सर अस्पताल स्थापनाका लागि आग्रह गर्नुभएको थियो ।

तत्कालीन समयमा नेपाली कांग्रेस चितवनका सभापति रहनुभएका टेकप्रसाद गुरुङका अनुसार कोइरालाको आग्रहलाई चिनियाँ प्रधानमन्त्रीले स्वीकार गर्नुभयो र नेपालमा चीनको सहयोगमा एसियाकै नमूना अस्पताल बनाउने अभियान सुरु भयो । विगतलाई सम्झँदै गुरुङले भन्नुभयो, “गिरिजाबाबुलाई गणेशमान जीहरुले धुलिखेलमा क्यान्सर अस्पताल स्थापना गर्न सुझाव दिनुभएको रहेछ ।” नेपालमा क्यान्सर अस्पताल स्थापना गर्ने भन्ने सुनेपछि दलबलसहित प्रधानमन्त्री कोइरालालाई भेट्न गुरुङको टोली पुगेको थियो ।

सुरुमा धुलिखेलको कुरा कोइरालाले गरेपछि गुरुङको समूहले चितवनमा गर्नुपर्ने र जग्गा व्यवस्थापन गर्न सकिने भनेपछि कोइराला सकारात्मक हुनुभएको थियो । गुरुङले भन्नुभयो, “गिरिजाबाबुलाई टेकप्रसादले पेल्यो अब सकिन्न भन्नुभयो र यहाँ क्यान्सर अस्पताल आयो ।” भरतपुरमा बागवानी फार्मको ७५ बिगाहा १० कट्ठा जग्गा रामपुर कृषि क्याम्पसलाई दिइएको थियो । त्यही जग्गा मन्त्रिपरिषद्ले निर्णय उल्ट्याएर क्यान्सर अस्पताललाई दिएको गुरुङ बताउनुहुन्छ ।

यसरी स्थापना भएको क्यान्सर अस्पतालले चितवनका मात्रै होइन, देशभरि र भारत, भूटान, म्यान्मासम्मका बिरामीलाई उपचार सेवा दिँदै आएको छ । गुरुङले भन्नुभयो, “यसले चितवनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत गरेको छ ।” बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजयराज न्यौपाने नेपालमै क्यान्सरको उत्कृष्ट उपचारको केन्द्र यो अस्पताल रहेको बताउनुहुन्छ । अस्पतालले उपचार त गरेको छ नै यसले यहाँको आर्थिक क्षेत्रलाई समेत चलायमान बनाएको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “यहाँबाट दैनिक ३०–४० वटा बस देशका विभिन्न सहरमा पुग्ने गर्दछन् ।” अस्पताल वरपर १५० हाराहारी होटल रेष्टुरेन्ट चलेका छन् भने ६० हाराहारी औषधि पसल छन् । समग्रमा आर्थिक क्षेत्रलाई चलायमान बनाउने काम पनि अस्पतालले गरेको छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष विजय सुवेदी यहाँ क्यान्सर अस्पताल स्थापना हुँदा न्यून बिरामी भरतपुर अस्पताल र मेडिकल कलेजले उपचार दिने गरेको बताउनुहुन्छ ।

उहाँको भनाइमा त्यतिबेला बिरामीको खासै चाप हुँदैनथ्यो । क्यान्सर अस्पताल स्थापना भएसँगै निजी अस्पताल खुलेका, देश र विदेशबाट यहाँ बिरामी उपचार गर्न आउने गरेको उहाँ बताउनुहुन्छ । यो क्यान्सर अस्पतालले स्वदेश र विदेशससम्म चितवनलाई चिनाएको उहाँको भनाइ छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्न क्यान्सर अस्पतालको महत्वपूर्ण भूमिका रहेको बताउनुहुन्छ । अस्पतालको सञ्चालक समितिमा रहेर सात वर्ष काम गरेको भन्दै उहाँले यहाँ नेपाल र छिमेकी देशबाट बिरामी आउने गरेको बताउनुभयो ।

यहाँका अन्य अस्पतालमा आएका बिरामीलाई समेत क्यान्सर आशङ्का भएमा उपचार गर्न पाएको उहाँको भनाइ छ । अस्पतालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भरतपुरलाई चिनाएको उहाँ बताउनुहुन्छ । सङ्घीय अस्पताल भए पनि महानगरपालिकाले समेत सहयोग गर्दै आएको भन्दै उहाँले आगामी दिनमा अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सके अझै यसको गरिमा बढ्ने बताउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताउनुहुन्छ । अस्पतालमा आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ५१४ बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् । यो सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा एक लाख ६६ हजार २०० रहेको थियो । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा एक लाख ७४ हजार ९३५ रहेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा एक लाख ३१ हजार ३०५ रहेको थियो ।

उहाँका अनुसार सोही अवधिमा अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये नयाँ क्यान्सरका बिरामीको समेत सङ्ख्या बढ्दो रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा छ हजार ७९५ नयाँ क्यान्सरका बिरामी पहिचान भएको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा यो सङ्ख्या छ हजार ४८० रहेको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा यो सङ्ख्या छ हजार ५३५ रहेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या दुई हजार ९७९ रहेको थियो ।

अस्पतालको विसं २०५७ मा आजकै दिनबाट सेवा सुरु भएको हो । सुरुमा एक सय शय्याबाट सुरु भएको अस्पतालमा अहिले पाँच सय शय्या छन् । आठ सय ५० जना चिकित्सक तथा कर्मचारी कार्यरत छन् । अस्पतालमा बोनम्यारो प्रत्यारोपण बाहेकका सबै खालका क्यान्सरको उपचार हुँदै आएको छ । बोनम्यारो प्रत्यारोपण युनिट पनि चिनियाँ सरकारको सहयोगमा बन्ने क्रममा रहेको छ । साइक्लोटोनसहितको पेट स्क्यान ल्याउने तयारी गरिएको छ । रासस