७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

प्रेम र यौन अनुभवबारे पारिजातको पत्र

प्रेम र यौन अनुभवबारे पारिजातको पत्र
अ+ अ-

डा. महेश ,

बल्ल आजदेखि केही दिनको निम्ति आफ्नो निजी लेखन खातिर समय निकालेकी छु, यद्यपि साथीहरू कराउँदैछन् । नयाँ वर्षको कार्ड पाउनु भयो होला । पत्र पढें, बुझ्ने क्रममा अझ पनि थुप्रै कुराहरू बुझ्न बाँकी नै छ । सिद्धान्ततः म मान्छु– यौन समागम सृजनाको एउटा प्राकृतिक र वान्छनीय प्रक्रिया हो । हुन सक्छ यो प्रक्रिया आफैमा सुन्दर होस् अथवा हुनसक्छ यस प्रक्रियाको सुन्दरतासँग कुनै सम्बन्ध नभई मात्र अर्गानिक ह्यापिनेस (organic happiness) सम्म सीमित होस् तर यसमा मैले सौन्दर्य खोजेँ र पुरुष शोषित र प्रताडित समाजमा आफ्ना यस्ता कोमल र सुन्दर धारणाहरू लिएर अग्रसर भएँ उही पनि यौनको संसारमा ।

तपाईं भन्नुहुन्छ अथवा विज्ञानले नै भन्छ कि यो एउटा प्रक्रिया हो (असुन्दर होइन) र हो पनि तर पनि मेरो मन मानिरहेको छैन । मैले आफूलाई विवश भएर एउटा पुरुषसँगको शारीरिक सम्पर्कमा हुत्याइदिन पर्दा ममा यही अमानवीय किसिमको धारणा विद्यमान थियो । यदि त्यो पुरुष सभ्य भइदिएको भए मेरो गलत धारणामा सुधार हुन सक्थ्यो होला तर त्यसो हुन सकेन । एकातिर म अति संकोचशील र विवश, अर्कातिर ऊ अति कामुक असभ्य र परपीडक, अनि जटिलता त आउने भइगयो । ती सम्पूर्ण यौन सम्बन्धको अवधिभरि मैले कहिल्यै पनि सुख प्राप्त गरिनँ । सहवासको क्रम सिद्धिसकेपछि म सधैँ शारीरिक साथै मानसिक पीडाले शिथिल हुन्थेँ । ऊ स्वाभाविक उत्तेजनामा आउँदा म सधैँ डर, त्रास, अपमान र दुःखले अधमरो भइरहेकी हुन्थेँ र यो कुरा मैले कहिल्यै उसलाई भनिनँ पनि । बरु छुटकाराको बाटो खोजिरहेँ ।

अझ पनि म भन्छु त्यो सम्बन्ध दुई नर र नारी बीच प्रेमपूर्वक भएको यौनक्रीडा थिएन, त्यो त मेरो निम्ति सधैँ सधैँ एउटा प्रतिरोधहीन बलात्कार सिद्ध भएको छ । हुन सक्छ ममा पनि केही कमजोरीहरू थिए, चिसी, निष्क्रिय र संकोची त म यो मामलामा छु नै । तपाईंले भन्नुभएझै मान्छे र परिस्थिति अनुरूप पनि यस्तो हुन्छ, सायद ठीकै होला । जुनबेला मेरो यो सम्बन्ध कायम भएको थियो, त्यो बेला म चर्को रूपले बिरामी पनि थिइनँ, शारीरिक रूपले सुन्दर साथै सक्षम पनि थिएँ तर मैले त्यो व्यक्तिसँग शारीरिक सम्बन्ध भने चाहेको थिइनँ । त्यो पीडादायक सम्बन्ध सम्झँदा अझ पनि सेक्सुअल रिलेसन (sexual relation) देखि मलाई डर लाग्छ ।

मभित्र भएको विरोधाभासको स्थितिबारे पनि अझ मलाई थुप्रै कुरा भन्नु छ साथै तपाईंको पत्रहरूद्वारा म कति आश्वस्त हुँदै छु अथवा मलाई अझ पनि आर्गुमेन्ट (arguement) गर्नु छ कि त्यो एकछिनलाई पन्छाएर म आफ्नो व्यक्तिगत जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष यहाँ भन्न चाहन्छु, जसले मेरो जीवनलाई तावाबाट भुङ्रोमा खसेको माछा तुल्याइदिएको छ । बिरामी भएर मेरो कलम एकाग्र भएको होइन, न म बिरामी हुनुभन्दा अघि सुखी, आशैआश र अर्थैअर्थले भरिएकी नै थिएँ । रोग मात्र मेरो प्रतिभा, प्रसिद्धि र दुःखको एक मात्र कारण होइन । धेरैले मलाई रोगबाट मूल्यांकन गर्छन्, मलाई चित्त बुझ्दैन, त्यसो त रोगको कुनै हातै नभएको पनि होइन । तपाईंलाई मेरो बारेमा धेरै कुरा थाहा भइसक्यो । त्यसैले तपाईं मलाई बेग्लै किसिमले मूल्यांकन गर्नुहुन्छ, मलाई विश्वास छ ।

रोगले मलाई गर्नु गरेको छ । यसले मेरो महात्वाकांक्षा, रहर, चाहना साथै चराजस्तो फुक्का जीवन बाँच्ने सपनाहरूको उडान भर्न नपाउँदै एकएक गर्दै पखेटाहरू काटेर मेरोअघि पहाड लगाइदिएको छ । घाइते चराजस्तो मुख बाउँदाबाउँदै म आफ्ना चाहनाहरूको संसारमा सांकेतिक मृत्यु मरिसकेकी छु । प्रकृति र स्वतन्त्रतासँग मैले कुनै खेलै खेल्न पाइनँ । लेख्ने, पढ्ने र केही गर्ने एउटा बौलाहा महत्वाकांक्षा मसँग अवस्थित थियो । मेरो भाषाशैली र कल्पना शक्ति सानैदेखि भरपर्दो थियो । एउटा बेजोड उपन्यास लेख्ने धुनमा झण्डै पाँचवटा जति उपन्यास लेख्दै डिस्ट्रोय (destroy) गर्दै गरेँ र बिरामी भइसकेपछि ‘शिरीषको फूल’ लेखेँ, त्यो सफल भयो । म रातारात प्रसिद्ध भएँ तर त्यो उपन्यासले मेरो व्यक्तिगत जीवनलाई यस्तो क्राइसिसको मुखमा ल्याएर फालिदियो, जोसँग जुझ्न भन्दा बरु एउटा अफ्ठ्यारो मृत्यु वरण गर्न सजिलो हुन्थ्यो होला तर मैले जुध्न सकेँ, डा. महेश, आफ्नो जीवनगाथाको दुई चार पानालाई गरिमाहीन र बिभत्स तुल्याएर । हो, त्यही माथि उल्लेखित विवश यौन सम्बन्ध मेरो जीवनको सबैभन्दा गरिमाही र कालोपन हो ।

त्यसपछि मृदु भाषामा साहित्यिक सन्दर्भका बौद्धिक कुरा गर्दै आँखाबाट वासना ओकल्ने बुद्धिजीवीहरूको सामना गर्न पर्यो । एकान्त खोज्ने, प्रेम (यौन) आग्रह गर्ने, ममा सकम्बरी देख्ने, मलाई सकम्बरी तुल्याउन खोज्ने, शिरीषको फूल प्रयोग गर्न खोज्नेहरूले क्रमशः मलाई घेरामा पार्दै लगे । भट्टीहुँदो मेरो चर्चा गर्ने, मेरो फोटो प्रदर्शन गर्ने, आफू–आफू झगडा गर्ने, ईश्र्या गर्ने, मकहाँ आएर एक–अर्काको निन्दा गर्ने, मेरो नजिक हुन खोज्ने, पैसा लुटाउनेसम्म देखिए । यति मात्र नभएर मेरो कोठामा मातेर आइदिने, आधारातमा मातेर आएर ढोका घच्घचाउने, सडकबाट बोलाइदिने आदि जस्ता बाजारु व्यवहारहरू र एउटा कोठावाल्नीले बेहोर्नपर्ने जस्ता समस्याहरूको सामना गर्न पर्यो । आत्मग्लानी र घृणाले म बिरामीजस्ती भएँ । के अर्थ थियो र मेरो बौद्धिक मानसिकताको जब कि पुरुषहरू यति तलसम्म ओर्लन सक्छन् भने । यी स्वार्थी र खुंखार ब्वाँसाहरूको नाउँ कुनै पनि समय म लेख्न सक्छु ।

मैले आफूलाई एकदमै असुरक्षित पाउन थालेपछि भएकाहरूमध्येमा सबैभन्दा भद्र र घनिष्ठ देखिने पुरुषको आड लिन मलाई कर लाग्यो । विमलले त्यही मौका छोप्यो, पछि थाहा पाएँ उसमा पनि त्यत्तिकै स्वार्थी, कामुक र ब्वाँसो लोग्नेमान्छे लुकेको रहेछ । ऊ त झन् छेकावारको पछिबाट शिकार खेल्ने घृणित लोग्नेमान्छे रहेछ । अत्यासलाग्दो भासमा डुबिसकेपछि मैले मेरो गरिमामयी जीवनको सपनालाई यसो हेरेँ, मेरो सपनालाई खिल्ली उडाइरहेको थियो । मर्न नसकेपछि जीवनलाई चुनौतीको रूपमा लिन पर्दोरहेछ । मभित्रको मानवीयताले ठीक समयमा माक्र्सवादको लाइन नपाएको भए मैले त्यसबेला पक्कै पनि आत्महत्या गर्न पर्ने हुन्थ्यो । त्यस्तो अवस्थामा यसो भनौँ, एउटा कहालीलाग्दो जटिल मनस्थिति लिएर पनि मैले सिर्जना भने गरी नै रहेँ । ‘महत्ताहीन’ लेखेँ । ‘वैंशको मान्छे’ लेखेँ । मेरो शारीरिक मानसिक दुवै मृत्यु हुन सकेन । सामूहिकतामा हाम फालेपछि पनि मेरो जीवन सुगम भने हुन सकेन ।

दिल्लीमा उपचार गर्न जाँदा (२०३१ सालमा) प्रवेश धवन नाउँ गरेको एकजना पन्जाबी ठिटो र त्यहीको स्टाफ जे.आर. पुरी पछि लागेका थिए । यिनीहरू घोषित गुन्डाहरू थिए, जे पनि गर्न सक्थे । तर भाग्यले नै भनौँ, म आफूलाई बचाउन समर्थ भएँ । भारतजस्तो कुख्यात ठाउँमा धर्मशालामा बस्न पथ्र्यो, उही पनि एउटी महिला सुसारे राखेर । एकपल्ट तराईवासी नेपाली हुँ भन्ने एकजना समथिङ (something) पाण्डे भन्नेले षडयन्त्र गरी त्यसताकको भारतीय स्वास्थ्यमन्त्री कर्णसिहंकहाँ पुर्याउन लागेको रहेछ, समयमा नै कुरा बुझियो, नत्र अर्को समस्यासँग जुध्न पर्ने हुन्थ्यो ।

दुःख लाग्छ, डा. महेश ! मान्छेहरू यसरी अन्डरइस्टिमेट (underestimate) गरेको देख्दा । लाग्छ, मेरो आइमाई हावभाव घटिया र उच्छृंखल अवश्यै छैन, तथापि यस्ता घटनाहरू आइलागे । यति हुँदाहुँदै पनि मलाई पुरुषहरूकै संगत मन पर्छ । कति महान् पुरुषहरू मैले मेरो जीवनमा भेटेकी छु । कति जनासँग मेरो प्रगाढ स्नेहालु सम्बन्ध कायम छ र ताजै पनि छ । कति जना पुरुषहरूको अघि म रुनसम्म सक्छु । मानसिक दुःखको भुँवरीमा पर्दा पुरुषहरूले नै मलाई आँटभरोसा दिएका छन्, मलाई सुम्सुम्याएका छन् । म एन्टिमेल (anti-male) कदापि हुन सक्तिनँ ।

हेर्नुस्, कुराहरू कति विशृंखलित तरिकाले लेख्दैछु म हगि ? पत्र लेखेको होइन, गफ गरेको जस्तै भइरहेछ । यो पत्र हिजै सिध्याउने अठोट थियो, तर सकिनँ । राम नवमीको मौका, हिसिलाजी, पम्फा, मिनु अमात्य, राधिका आएका थिए, दिनभरि डिस्कस (discuss) चल्यो । विषय थियो प्रेम, विवाह र साम्यवादमा हाम्रो नैतिकताको विकास । साम्यवादसम्ममा हाम्रो प्रकृतिले सर्वहारा एकनिष्ठताको उच्चतालाई पूर्ण विकास गरिसक्छ र हामी कानुनले मात्र होइन, प्रवृत्तिले पनि एकनिष्ठ हुन्छौँ भन्ने कुराको धेरै बेर छलफल भयो । सेक्स रिलेसन र साम्यवादलाई लिएर हिसिलाजीमा केही भ्रम रहेछ, त्यो झण्डै क्लियर (clear) भयो तथापि उहाँको सेक्स (sex) प्रतिको आधुनिक समझदारीलाई म राम्रैसँग सराहना गर्छु । निषेधको निषेध (negation of negation) माथि बहस चल्यो । असाध्य रमाइलो भयो तर थाकियो ।

साँझ फेरि बुद्धिजीवीहरू आए । विद्यार्थी चुनाब, इनर पार्टी कन्फ्लिक्ट (inner party conflict) र डेभियसन (deviation) मा फेरि उही बहस । राति थाकेर चुर । हिसिलाजीले लिएर आउनुभएको तपाईंको पत्र आज बिहानै उठेर पढेँ । मेरो शुभकामना सार्थक भएछ खुसी लाग्यो । मानुषी पाएँ, आज पढ्छु । ‘जन प्रवाह’ अर्को बुद्धिजीवीले लगेका छन्, आज ल्यादिन्छन् । अँ, सुवाससँग पनि हिजै भेट भयो । ‘जनचेतना’को लेख हिसिलाजीको बुँदा अनुसार उहाँकै मात्र हल्का पारिदिनलाई लेखेकी हुँ । तपाईंको पत्र र सुवासको भर्सन (version) बाट अझ क्लियर (clear) भएँ । रघु पन्तभन्दा माथिको स्तरको इन्टेलक्चुअल (intellectual) सायद उनीहरूसँग छैन । रघु पन्त त साह्रै टेम्परवाला र निहुँ खोजुवा पो छन् । यहाँ उनी साह्रै अनपपुलर (unopular) पनि छन् । अँ, हिजोको डिस्कस (discuss) मा मलाई तपाईंको मोरालिटी (morality) सम्बन्धी विचारले प्रशस्त मद्दत पुर्याइरहेको थियो । मनु गुरुङ (नाउँ अर्कै छ, पछि भनुँला) बिएस्सी नर्सिङ (BSC nursing) पढ्नलाई चण्डीगढ जाँदैछिन् । कल्चर (culture) मा रुचि छ, वैचारिक स्तर राम्रै छ उसमाथि अखिल छैठौँ । तपाईंहरू उनीसँग राम्रै काम लिन सक्नुहुन्छ । अब यो पत्रलाई यहाँ जबर्जस्ती टुंग्याइदिऊँ । बाँकी अर्को पत्रमा । आजको दिन पनि उस्तै प्याक्ड (packed) । शुभकामना ।

अक्षर त खतम छ है माफ गर्नुहोला ।

पारिजात

६ वैशाख २०४०

वेदना२०५२पूर्णाङ्क ५४ बाट साभार ।