वि.स. २०८१ साल भाद्र महिनाको पहिलो हप्ता म गण्डकी प्रदेशको मनाङ जिल्लामा थिएँ । मेरो जन्म गण्डकी प्रदेशको बागलुङ जिल्लामा भएको हाे । म पहाडी जिल्लाको मानिस हिमाली जिल्ला मनाङको थोंचे गाउँबाट तिलिचो तालसम्मको यात्रामा निस्किएको थिएँ ।
म आफ्नो काममा रमाउने र सफलता प्राप्त गर्नका लागि कडा मेहनत गर्नुपर्छ भन्ने मानिस हुँ। मेहनत बिना सफलताको शिखर चुम्न सकिँदैन भन्ने कुरालाई स्नेहसित मुटुमा सँगाल्छु । म कडा परिश्रम गरी एक छाक खानका लागि नदी किनारमा गिट्टी कुट्ने मानिसहरुलाई प्रेम गर्दछु । धरानमा हर्क साङपाङसँग कडा परिश्रम गर्न चाहन्छु । कालीगण्डकी नदीमा माछा मारी जीवन धान्ने माझी दाइसँग जति प्रेम छ, उति नै चिल्ला गाडीमा हिँड्ने र आरामको जिन्दगी जिउने मानिससँगको आत्मियताले मेरो मन प्रफुल्लित हुने गर्दछ ।
जीवनमा कति दु:ख पीडा काटियो होला र कति सुखको अनुभूति गरियो होला तर थोरै व्यक्तिले मात्र सुखको अनुभूति गरेका होलान् । जीवन सङ्घर्ष हो र जीवन यात्रा हो । जीवनमा सङ्घर्ष गर्ने मानिसले कति परिवर्तन गरेका छन् । सपनालाई साकार पारे, हजारौँ नयाँ योजना बनाए । तर आधुनिक युगका भलाद्मी र अल्छी मानिसहरु परिश्रम गर्न अप्ठेरो मानिरहेका छन् ।
कडा परिश्रम सफलताको प्रतीकको रुपमा लिइन्छ । तिनै परिश्रमी हातहरुले बनाएका अस्थायी कच्ची गोरेटो बाटो सर्पको हिँडाई आकारमा कहिल्यै सिधा नहुने गरी अल्छी मानिसहरुसँग रिसाउँदै बसिरहेको छ तिलिचो बाइस घुम्ती । कठिन यात्राको क्रममा यो बाटो सिधा कहिले होला भनि जति पुकारे पनि यो काम गर्नका लागि कोही तयार छैनन् । जुन घुम्ती काटेपछि स्वर्गको एक भाग तिलिचो ताल देख्न सकिने रहेछ ।
प्रकृति र जीवन एक अर्कामा परिपूरक छन् । मृत्युपछि जीवन प्रकृतिसँगै मिसिने गर्दछ । यही कुरालाई मनन् गर्दै प्रकृतिका सुन्दरतामा डुबुल्की मार्नका लागि म मनाङ जिल्लाको नासों गाउँपालिका थोंचेबाट तिलिचोको यात्रामा सरिक भएको थिएँ । प्राकृतिक सुन्दरताको भोकलाई आत्मसात गर्दै २०८१ सालको भाद्र महिनाको १ गते बिहानै खाजा खाएर हिँड्न तयार भएका हामी १० जना व्यक्ति गाडी चढेर ठीक ८ बजे थोंचे गाउँ छोडेका थियाैँ ।
यात्रा नै जीवन रहेछ । यात्राको क्रममा विभिन्न साथीहरुसँग भेट हुँदो रहेछ र आत्मीयता कायम हुँदो रहेछ । पद्मराज पन्थी, चन्द्रमणी पौडेल, प्रकाशराज ढकाल, सफल पन्थी, विशाल पौडेल, रविन राना, चेकमन गुरुङ र प्रमोद कुमार चौधरी, अनिल कुमार सर्राफ लाग्छ, यहाँ सबै भूगोलको प्रतिनिधित्व भएका साथीहरुको जमघट थियो । माया ममता र जिम्मेवार पनि सबैको उत्तिकै थियो । पद्मराज पन्थी श्री प्रकाश ज्योति मा.वि. थोंचेको प्रधानाध्यापक, चन्द्रमणी पौडेल वडा अध्यक्ष, सफल पन्थी विद्यार्थी, विशाल पौडेल, निर्माण व्यवसायी र अन्य सबै हामी शिक्षक थियाैँ । हामी सबैको भावना एकले अर्कालाई सम्मान गर्ने र हाम्रो यात्रालाई प्रभावकारी बनाउनु थियो । हामीहरुको यात्रामा हिमालदेखि तराईसम्मका साथीहरुको जमघट थियो । जमघट हुनुमा आ–आफ्नै आवश्यकता र रुचि थिए ।

बोलेरो म्याक्स नाम गरेको गाडी त्यसमा पनि अनुभवी लमजुङतिरका दीपक नाम गरेका चालक थिए । उनले पनि भन्दथे जीवन सङ्घर्ष हो । नेपालमा नै चालक पेशामा छु तर परिवार पाल्नका लागि र छोराछोरीको पढाईलाई यो कमाइले पुग्दैन । यस्तो भन्दा मलाई लाग्थ्यो, के नेपालमा आकर्षक रोजगारी हुन सक्दैन ? परिवार पाल्नका लागि के नेपालीहरु विदेश नै जानुपर्ने हो ? जताततै यस्तै छ । पेशा अनुसारको जीवन धान्ने रकम किन दिन नसकेको होला राज्यले यस्तै कुराले मेरो मन खिन्न भएको थियो ।
हिमाली जिल्ला मनाङ राज्यको नजरबाट अलि टाढा रहेको ठाउँ बाटामा खाल्डाखुल्डी साँघुरो बाटो छिचोल्दै अस्ति भर्खरको बाढीले बगाएको तिमाङ गाउँभन्दा तलको पुलको अवलोकन गर्दै अस्थायी फलामको पुल हुँदै हामी करिब १० बजे मनाङको सदरमुकाम चामे पुगेका थियौँ ।
बाटामा एउटा रमणीय ठाउँ भेटियो भ्राताङ । मोटरबाटोको देब्रे र दाहिनेतिर स्याउ नै स्याउको बगान देखियो । जुन स्याउबारी पूर्व सङ्घीय सभासद पोल्देन छोपाङ गुरुङले स्थापना गर्नुभएको रहेछ । मनोमोहक देखिएको स्याउबारीका बोटहरुमा लटरम्म फलेका स्याउले हामी सबैको मन लोभ्यायो । हामी सबैजना गाडीबाट ओर्लेर स्याउबारीमा क्यामराले फोटाहरु खिच्ने काम गरिसकेपछि हाम्रो यात्रा अगाडि बढायौँ । केही समयको यात्रापछि मनाङ स्वर्गद्वारी आउँदो रहेछ ।
मर्स्याङ्दी नदीमा बनाएको पक्की पुल, वन र खाल्डाखुल्डीको बाटोको यात्रा पछि अलि माथि पुगेपछि एउटा अनौठो तथा सुन्दर भीमकाय पहाड देखियो । जसलाई स्वर्गद्वारी भनिने रहेछ । मलाई स्वर्गद्वारीको बारेमा जान्ने तिव्र इच्छा भयो र सोधिहालेँ यो स्वर्गद्वारी कसरी भएको ? हाम्रो यात्रामा चेकमान गुरुङ मनाङ जिल्लाकै स्थानीय भएकाले उहाँलाई यस जिल्लाको सबै ठाउँ जानकारी रहेछ ।

उहाँले भन्नुभयो, मानिसको मृत्युपछि सत्कर्म गरेका मानिसहरु यहि बाटो हुँदै स्वर्ग जाने र कुकर्म गरेका चाहिँ नर्क जाने किंवदन्ती छ । यस ठाउँमा पाँच पाण्डवहरु बसेको, कुकुर बाँधेको, र भगवान शिव र पार्वती समेत बसेको जानकारी भयो । साँच्चिकै यस ठाउँमा जाँदा मलाई पनि स्वर्गमा नै रहेको जस्तो महशुस भएको थियो । साँच्चिकै मान्छेका हजाराैँ दु:खपीडा भुलाउने ठाउँ रहेछ स्वर्गद्वारी । विश्वास नगरी त्यो भीमकाय स्वर्गद्वारीलाई नजिकबाट दृष्टिपात गरेपछि पहाडको टुप्पोतिर एउटा कुकुर बाँधेको जस्तो र शिवपार्वती ध्यानमा बसेको आकृति देखियो । जसले गर्दा मनमा उत्पन्न भएको अविश्वास मर्स्याङ्दी नदीमा मिसिन गयो ।
मनमा साँच्चिकै उथलपुथल सिर्जना भयो । सृष्टिको लीला अपरम्पार छ । सल्लैसल्लाको जङ्गलको बाटोको यात्रा पछि हामी ढिकुरपोखरी पुग्यौँ । समय मद्यान्न भैसकेको थियो । हिमाली जिल्ला मनाङमा अन्य ठाउँमा मैले कहिल्यै ढुकुर चरा देखेको थिइनँ । गाडी अगाडि बढिरहेको थियो । गाडीको आवाजले गर्दा ढुकुरहरु उडिरहेको देखे । मरो मनमा लाग्यो ढुकुरपोखरी ढुकुर चराहरु पाउने भएकाले नै यसको नामकरण भएको होला । त्यस गाउँको नजिक पोखरी छ । त्यसलाई अहिले पनि ढुकुरपोखरी भनिन्छ । हामीलाई भोक लागेकाले कमला होटलमा मनाङमा पाइने च्याउको तरकारीसँग मिठो खाना खायौँ र हाम्रो यात्रा अगाडि बढायौँ । जङ्गल नसकिँदै बाटोको नजिकै एक ताल रहेछ । जसको नाम ग्रीनलेक ताल ।
पानी हरियो देखिने भएर होला यसको नाम ग्रीनलेक राखिएको, जसको छेउमा म नाचेको थिएँ । तालको अवलोकन र फोटाहरु खिचाउँदै जङ्गल सकिएपछि रमाइलो विशाल चउर आइपुग्यो । त्यसै चउरलाई हुँम्डे गाउँ भनिने रहेछ । बाटोका छेउछाउमा बाक्लै घरहरु, वरिपरिका सुन्दर हिमालहरु, बौद्ध संस्कृतिका गुम्बाहरु, र हुँम्डे विमानस्थलले त्यस गाउँको सौन्दर्यता बृद्धि गरेको छ । धावन मार्गको बाटो भएर साथीहरु समूहमा प्राकृतिक सुन्दरतालाई नियाल्दै र फोटो खिचाउँदै फेरि गाडीमा हाम्रो यात्रा अगाडी बढिरह्यो बढिरह्यो । हिमालका ससाना पहाडहरुमा लुकामारी खेल्दै मर्स्याङ्दी नदी निरन्तर बगिरहेको छालले हामीलाई कहिल्यै छोडेको थिएन ।
यात्राको क्रममा कहिले होहल्ला गर्दथ्यो भने कहिले शान्त हुन्थ्यो । त्यसैमाथि मोटरबाटो पर्ने मर्स्याङ्दी नदीमा गाडी गुड्ने पुल काठको देख्दा म अचम्मित भएको थिएँ । जसबाट यहाँका मानिसहरुको परिश्रम कति छ भन्ने थाहा पाउन सकिन्थ्यो र राज्यले गरेको उपेक्षा पनि प्रष्ट हुन्थ्यो । त्यसो त मर्स्याङ्दी नदी कहिल्यै परिश्रम गर्न थाकेकी छैनन् । सधैँ गन्तव्यमा पुगेकी छिन् । परिश्रम गर्ने मानिसहरु सधैँ उच्च शिखरमा पुग्छन् र हाम्रो पनि गन्तव्य थियो विश्वको सर्वाेच्च स्थानमा भएको हिमताल तिलिचो तालमा पुग्नु ।

मनाङ गाउँमा पुग्नै लाग्दा अँध्यारो भैसकेको थियो । गाडीको लामो समयको यात्राले गर्दा म थाकिसकेकाे थिएँ । अझै हाम्रो यात्रा केही घण्टा बाँकी नै थियो । मेरा साथीहरु गाडीमा कुराकानी गर्दै हुनुहुन्थ्यो । त्यत्तिकैमा साथीहरुको बिचमा भएको कुराकानी मैले सुने जुन डरलाग्दो थियो । २०५७ सालतिरको कुरा रहेछ, मनाङ जिल्लामा आउनुभएका प्रमुख जिल्ला अधिकारी भगवान श्रेष्ठ तिलिचो जाने क्रममा हाइ अल्टिच्युडको कारण बाइस घुम्तीमा मृत्यु भयो । यो सुनिसकेपछि मेरो शरीर डरले फुलिसकेको थियो । मेरो शरीर पसिना पसिनै भएको थियो । किनभने म समुद्री सतहबाट धेरै माथि उचाईमा आइसकेको थिएँ ।
मैले घरमा भएकी श्रीमती र दुई छोरीलाई सम्झेँ र मैले आफूलाई आफैँले सोधेँ यति धेरै जोखिम मोलेर किन म तिलिचो जानुपर्यो ? नगए हुँदैन ? यस्तै कुराले मलाई दुविधा बनाएको थियो । मैले सम्झेँ सङ्घर्ष गर्ने मानिसहरु सधैँ सफल हुन्छन् । मेरो शरीरले पनि उचाईसँग सङ्घर्ष गरिरहेको थियो । अझै आधा उचाइमा त जान बाँकी नै थियो । मोटरबाटो खाङ्सार गाउँसम्म पुगेको छ । अझै हाम्रो आधा घण्टाको गाडीको बाटो यात्रा बाँकी नै थियो । मस्र्याङ्दी नदीको किनार हुँदै हामी त्यो बेलुकी ३७५० मिटरको उचाईमा रहेको खाङ्सार गाउँमा त्यो रात दालभात खाई त्यस रात राम्ररी सुत्याैँ ।
भोलिपल्ट बिहानै हाम्रो यात्रा खाङ्सार गाउँबाट पैदल बाटो हुँदै तिलिचो बेसक्याम्पतिर अगाडि बढ्याे । बिहानको चिसो हावा खाँदै हामी तारेगुम्बा हुँदै शिरखर्कमा थकाई मार्यौँ । हामीहरु थप उचाईमा पुग्दै थियौँ । हिजो गाडीमा सरर हिँडेका हामी आज पैदल यात्रा गर्नुपर्दा कठिन महशुस भएको थियो । विभिन्न खाले विकाससँगै मानिसलाई पनि त्यो ढुङ्गे युगभन्दा अल्छी बनाएको जस्तो अनुभव भएको थियो । हाम्रो समाजको वास्तविकता पनि त यही थियो ।

शिरखर्कमा राजा महेन्द्रको पुरानो शालिक रहेछ । त्यसलाई नजिकैबाट अवलोकन गरिसकेपछि खाजा र थकाईलाई शान्त पार्न एउटा होटलमा पस्यौँ । मेरो साथी प्रमोदकुमार चौधरी सरको अनुहार बिग्रिसकेको थियो । सायद तराईमा जन्मे हुर्केको कारण होला उहालाई हाईअल्टीच्युडको समस्या देखा परिसकेको थियो । र उहाँलाई तत्काल तल फर्कने व्यवस्था मिलाई हामी केही समयको आराम पछि अगाडि हिँडिरह्यौं, हिँडिरह्यौं ।
नेपाल पर्यटनका दृष्टिले धर्तीको स्वर्ग हो । अनेकौँ सम्पदाले भरिएको मेरो प्यारो नेपालको प्रकृति गौरवशाली छ । म अचम्मित भएको थिएँ यहाँको सुन्दरताले । धानको ठुलो रास जस्तै हिमालको मनोरम थुम्काथुम्कीले हामी सबैको ध्यान आकर्षण गरिरहेको थियो । करिब पाँच घण्टाको हिमाली बाटामा कैयौँ हिमाली थुम्काहरुको फन्को मार्दै, हिमालको चिसो सिरेटो सँग सिँगौरी खेल्दै र लल्याकलुलुक भएको शरीरलाई गति दिँदै ३९०० मिटरको उचाईमा रहेको तिलिचो बेसक्याम्पमा भएको एक होटलको कोठामा पुगेर झोला थन्क्यायौँ ।
भोलिपल्ट बिहानै लक्षित गन्तव्यको यात्रामा निस्कँदा प्रकृति रिसाइरहेको थियो । राम्ररी उज्यालो पनि भएको थिएन हामी हिँड्दा । सिमसिम वर्षा परिरहेकाले हिँड्न गाह्रो भएको थियो । जीवन सङ्घर्ष हो, उच्च मनोबलका साथ काम गर्ने मानिस कहिल्यै थाक्दैनन् सफल हुन्छन्, हामीलाई पनि एउटै आकाङ्क्षा थियो, पवित्र भूमि पुग्ने । राम्ररी उज्यालो भैनसकेको, पानी, तथा चिसो हावाले हाम्रो सङ्घर्षको मापन गरिरहेको थियो । अझै हावा र पानीले भन्दा कठोर सङ्घर्ष गर्न सिकाएको थियो बाइस घुम्तीले ।
सिङ्गो प्लाष्टिकलाई शरीरमा ओढाएर दुई वटा प्वाल पारी आँखा मात्र देखिने गरी झिसमिसेमा लौरो टेकेर हिँडेको याद आउँछ मलाई । बिहान उज्यालो हुँदै थियो हामीहरु पानी, हावा नभनी अगाडि बढिरहेका थियौँ । सधैँ सेतो देखिने अन्नपूर्ण हिमाललाई बादलले ढपक्क ढाक्न खोज्दा हावालाई रिस उठेछ क्यारे ! हाम्रो हिँडाइको केही समय पछि नै बिस्तारै बादल हराइसकेको थियो । मौसम सफा हुँदै थियो । तर एउटा कठिन मोड पार गर्नुपर्ने थियो बाइस घुम्ती ! किनभने यस घुम्तीले कयौँ मानिसहरु खाइसकेको थियो भने धेरै मानिसलाई थला पर्ने गरी बिरामी गराएको थियो । जुन अति नै निर्दयी थियो । यतिसम्म कि मानिसलाई यसले टाउको र घाँटीमा छोप्थ्यो र स्याँस्याँ गराई मानिसको श्वास थुनेर मार्ने गर्दथ्यो । यससँग लडेर जित्ने मानिसहरु सिद्धि प्राप्त गर्दथे ।
यही घुम्तीसँग लड्नका लागि सजिलो होस भनि हामीले युद्धका सामग्रीहरुको बन्दोबस्त गरेका थियौँ लसुन,टिमुर र धैर्यता । जब हामी यस घुम्तीमा पुग्यौँ पहिलो घुम्तीमै हामीमाथि आक्रमण सुरु भयो । हाम्रो खुट्टा कमजोर बनाउन खोज्यो, टाउकामा हान्दै गयो, घाँटी थिचेर मार्छ कि जस्तो भयो, तर हामीहरुले त्यसको युद्धका सामग्रीको प्रयोग गर्दै प्रतिकार गर्दै अगाडी बढिरह्यौँ । धैर्यतालाई टुट्न दिएका थिएनौ । एक्काइसौँ घुम्ती पार गरिसकेका थियौँ ।
त्यस घुम्तीमा पद्मराज पन्थी र अनिल कुमार सर्राफलाई घाँटीमा नै छोपेछ । अगाडि हिँडिरहेका हामी सफल र मलाई उहाँहरु दुवै जनाले हातले ईशारा गरी भन्नुभयो सास फेर्न गाह्रो बनायो । केही समयको आरामपछि हामीहरु सकुशल बाइस घुम्ती काट्न सफल भयौँ । जब हामी यो अप्ठेरो मोड काट्यौँ त्यसपछि पवित्र भूमि स्वर्गमा प्रवेश गरेको आनन्द भयो । हामी सफल भयाैँ ।

सफल हुनका लागि मानिसमा धैर्य र साहस पनि चाहिँदो रहेछ । त्यो पाटनको सिधा बाटो हिँड्दा वरीपरीका हिमालको सुन्दरताले मन लोभ्याएको थियो । हामीहरु तिलिचो तालको नजिकै आइपुगेका थियौँ । मैले हिमालमा काग देखेको थिइनँ । अचम्मको कुरा त्यहाँको पाटनमा काग देखेँ । जिज्ञासा लागेर बुझ्दै जाँदा त्यस ठाउँमा काकभुशुण्डीले तपस्या गरेको ठाउँ रहेछ । आफ्ना गुरुले भगवान शिवको मन्त्र जप्न भनेको, मन्त्र जप्दाजप्दै घमण्ड आएकाले आफ्नै गुरुलाई प्रणाम नगरेको भगवान शिवले देखेपछि उनलाई श्राप दिएको गुरुले आफ्ना शिष्यलाई बचाउन खोजेको तर आफ्नै गुरुले दिएको ज्ञानलाई उत्तर प्रतिउत्तर गरेकाले श्राप दिएर चाण्डाल पंक्षी काक भएर पर्वतमा बसेको कथा रहेछ । त्यसैले यो हिमाललाई काकभुशुण्डी लेक भनिएको रहेछ । जुन रामायणमा उल्लेख छ । जुन लेकमा अहिले पनि काग देख्न सकिन्छ ।
एकातिर प्राकृतिक सुन्दरता भने अर्कातिर काकभुशुण्डीले भगवान शिवको तपस्या गरी सिद्धि प्राप्त गरेको पवित्र भूमिले यस ठाउँको महत्व बढेको पाइन्छ । हामीहरु केही समयमा नै तिलिचो ताल पुग्यौँ । मैले तिलिचो ताललाई खुब नियालेर हेरेँ । तिलिचो ताललाई नजिकैबाट हेर्ने सपना पूरा भयो । र पवित्र भूमिमा पाइला टेक्न पाउँदा म खुसीले गदगद भएँ । जुन ठाउँको तस्वीर मेरो मानसपटलबाट कहिल्यै हट्ने छैन ।
मैले जुन धार्मिक पवित्रता पाए त्यो भन्दा पनि सङघर्ष, मेहनत र धैर्यबाट सफलता पाउन सकिने रहेछ भन्ने कुराले अहिले पनि बाइस घुम्तीले मार्गदर्शन गरिरहेको छ । जस्तोसुकै अप्ठेरो परिवेशमा पनि धैर्य भएर निरन्तर मेहनत गर्न सके सफलता पाउन सकिने रहेछ । जनै पूर्णीमाको दिन थियो । तालमा नुहाउने काम भयो । मेरो गुरु पद्मराज पन्थीबाट रक्षाबन्धन लगाई सबै साथीहरु फेरि तिलिचो, बेसक्याम्प, खाङ्सार सम्म पैदल हुँदै गाडीमा आफ्नो गन्तव्यमा फर्केका थियौँ । तिलिचो तालबाट फर्कन क्रममा मैले हाल पाएको सफलता र गरेको सङ्घर्ष गाडीको यात्रामा साथीहरुलाई सुनाएँ ।










