नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सोमबार बिहान मिथिला कला सिर्जना गर्ने स्थानीय महिलाहरुसँग भेट गर्नुभएको छ । उहाँले जनकपुर महिला विकास केन्द्र पुगेर स्वदेशी र अन्तर्राष्ट्रिय बजारका लागि सुन्दर मिथिला कला सिर्जना गर्ने महिलाहरुको प्रशंसा गर्नुभयो ।
राजदूत पोलिटले ट्विट गर्दै मिथिला कला सिर्जना गर्ने स्थानीय महिलाहरुको आम्दानीलाई कोभिडले प्रभावित बनाए पनि उनीहरुले त्यस्ता अवरोधहरुलाई तोडिसकेको र उनीहरुको नेतृत्व अगाडि बढेको बताउनुभयो ।
मैथिली भाषा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी जिल्लाहरूमा बोल्ने गरिन्छ । यही भाषाभाषीहरुका बिचमा पाइने कलालाई मिथिला लोककला भनिन्छ ।
मिथिला कला मुख्यतयाः गाउँका महिलाद्वारा अभ्यास गरिने र आमाबाट छोरीलाई सिकाइने मातृवंशीय भितेचित्र आधारित परम्परागत कला हो। माटो, गोबर र भुस मिसाएर माटोको भित्तामा विभिन्न ढाँचा, जनावर र पौराणिक पात्र चित्रित गर्नको लागि प्रयोग गरिन्थ्यो।
विस्तारै प्रतिमा र छविहरू भित्तामा बनाउने कामबाट कागजमा बनाउने अभ्यास थालियो।
मिथिला कलाको छुट्टै मौलिकता छ । मानवीय अनुभुति अर्थात रुपचित्र यस शैलीअन्तर्गत पर्दछन । प्रतीकात्मक र साङ्केतिक विम्बहरुकै समष्टि मिलन रेखाबाट यस लोककलाले पौराणिक कथावस्तुका रोचक घटनावलीलाई पछ्याएर प्रस्तुत गर्ने गर्दछ । मिथिला कला नै त्यहाँका जीवनशैलीका यथार्थ नमूना हुन् भनिन्छ । यसको मौलिक विषेशता र जीवित परिपाटी हो । महिला शिल्पीहरुका अनुसार यसको कथा बुझेको छ र हात बसिसकेको छ भने एउटा कृति एकै दिनमा तयार हुन्छ । कलाकारमा लामो साधना अध्ययन वा कलाकारीतामा गहिराई पनि हुनु जरुरी छैन । तर यस्ता चित्रहरु त्यहाँ अनिवार्य मानिन्छ ।
मैथिली समुदायमा मिथिला चित्रकला पवित्र मानिन्छ । मिथिला चित्रकलाको प्रयोग सबैजसो शुभकार्यमा गरिन्छ । भूमिचित्र, अडिपन, भित्तेचित्रलगायतका चित्र धार्मिक तथा सामाजिक कार्यमा प्रयोग गरिन्छ । मिथिला चित्रकलाले मैथिली क्षेत्रको जनजीवन र धार्मिक परम्परालाई ग्रहण गरेको छ ।