काठमाडौं । संघीय सरकारले प्रदेश सरकारलाई सरुवासम्बन्धी थप अधिकार दिने गृहकार्य अघि बढाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरिरहेको कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने प्रस्ताव गर्न लागिएको हो । जसअनुसार स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवाको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी अगाडि बढाइएको मन्त्रायल स्रोतले जानकारी दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नीतिगत कामभन्दा पनि सधैंभरि कर्मचारी सरुवामै व्यस्त रहनुपरेपछि सरुवासम्बन्धी कार्यबोझलाई घटाउने उद्देश्यसहित यस्तो व्यवस्था गर्न लागिएको हो ।
स्रोतका अनुसार प्रस्तावित नयाँ मापदण्डमा स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय अधिकृतलाई एकमुष्ट रूपमा सरुवा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र त्यहाँ गएका अधिकृतलाई मुख्यमन्त्री कार्यालयबाटै खटनपटनको व्यवस्था गर्ने गरी नयाँ प्रावधान ल्याउन लागिएको हो । स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृत भने संघ मातहतका कर्मचारी हुन् । राजधानी दैनिक










