१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

माओवादीबाट ‘डेथ वारेन्ट’ जारी भएका पाठक बने मन्त्री

माओवादीबाट ‘डेथ वारेन्ट’ जारी भएका पाठक बने मन्त्री
अ अ+ अ-

गण्डकी : तत्कालीन सशस्त्र द्वन्द्वको क्रममा नेकपा (माओवादी केन्द्र)बाट डेथ वारेन्ट जारी भएका बागलुङका कृष्णप्रसाद पाठक गण्डकी सरकारको मन्त्री बनेका छन् ।

नेकपा (एमाले)का सांसद उनी मन्त्री बनेका हुन् । २०७९ सालको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य बनेका पाठक संसदका सक्रिय सदस्यमध्ये एक हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलनिकट पाठक केन्द्रकै निर्देशनअनुसार मन्त्री बनेका हुन् ।

उनलाई मन्त्री बनाउन पार्टी केन्द्रीय सचिव पद्मा अर्याल र गण्डकी प्रदेश इन्चार्ज किरण गुरूङले विशेष पहल गरेका थिए ।

को हुन् पाठक ?

पाठक २०१९ साल माघ ११ गते बागलुङको अमलाचौर गाउँ (हाल बागलुङ नगरपालिका १२) मा जन्मिएका हुन् । उनी १२ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय छन् । २०३१ सालमा उनी नेकपा (मसाल)को विद्यार्थी संगठनमा जोडिएका थिए । बागलुङमा मसालको राम्रो पकड थियो । सात वर्ष विद्यार्थी राजनीति गरेपछि उनले नेकपा (मसाल)को सेल कमिटीमा संगठित भए । त्यहाँ उनलाई विद्यार्थी क्षेत्र हेर्ने जिम्मेवारी दिइएको थियो ।

२०४१ सालमा नेकपा (मसाल) परित्याग गरे । त्यसपछि नेकपा (माले)मा आबद्ध भए । राजतन्त्रको विरोध गरेको अभियोगमा उनले २०४५ सालमा राजकाज मुद्दा व्यहोर्नुपरेको थियो । त्यतिबेला उनी सात दिन हिरासतमा बसेर तारेखमा रिहा भएका थिए । हिरासतमुक्त भएपछि पनि उनी राजनीतिक गतिविधिमा सक्रिय थिए । २०४६ सालमा प्रथम जनआन्दोलन भयो । जनआन्दोलनकै वर्ष उनी नेकपा (एमाले) जिल्ला संगठन कमिटी बाग्लुङको संस्थापक सदस्यमा निर्वाचित भए । बहुदलीय व्यवस्थाको पुनर्वहाली गर्न र पञ्चायती सरकारविरुद्ध पाठक सक्रिय रहे । २०४८ को संसदीय निर्वाचनमा बाग्लुङ जिल्लाको क्षेत्र नं. २ बाट नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य उम्मेदवार बने । चुनाव हारे पनि उनी संठगन निर्माणमा खटिरहे ।

२०४६ देखि २०५८ सम्म १२ वर्ष पाठक नेकपा (एमाले) को संगठन निर्माण अभियानमा सक्रिय भए । त्यतिबेला बागलुङमा नेकपा (मसाल)को दबदबा थियो । उनी पटकपटक कुटपिट र आक्रमणको सिकार भए । २०५४ सालमा वामदेव गौतमले पार्टी विभाजन गर्दा पाठक संस्थापन पक्ष (मनमोहन, माधव, केपी) सँगै थिए । उनले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल र पिपुल्स भोलेन्टियर्स नेपालको केन्द्रीय सदस्य भएर काम गरेका छन् । पाठक नेकपा (एमाले)को पाँचौं, छैटौँ, सातौँ र दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि तथा प्रथम विधान महाधिवेशन प्रतिनिधि भए । २०५२ सालपछि माओवादीको जगजगी बागलुङको गाउँगाउँमा थियो । माओवादीहरू गाउँ नजिकै र गाउँकै सार्वजनिक सम्पत्ति कब्जा गरेर बस्थे । पाठकको गाउँ अमलाचौरमा पनि माओवादीले गाविस भवन कब्जा गरेर बसेका थिए । उनले त्यसको विरोध गरे । त्यसपछि माओवादीहरू त्यहाँबाट हटे । तर, उनीहरूले पाठकको परिवारलाई दुःख दिन थाले ।

माओवादीले २०६१ चैत २९ गते गाउँबाट लखेटे, पाठकलाई डेथ वारेन्ट जारी गरे । ‘माओवादी नेता दिनानाथ शर्मा, देवेन्द्र पौडेल र मेरो गाउँ एउटै हो । २०६१ सालतिर अमलाचौर गाविसको भवनमा माओवादी सेनाले आफ्नो क्याम्प राखेको थियो,’ उनी सम्झन्छन्, ‘गाउँ नै उठाएर मैले त्यो हटाएँ । त्यसपछि मेरो परिवार गाउँबाट विस्थापित भयो ।’ माओवादीले लखेटेपछि पाठकको परिवार बागलुङ बजार पस्यो । डेथ वारेन्ट जारी भएकाले उनी खुलेआम हिँड्न मिल्ने परिस्थिति थिएन । उनी लुक्दै, पार्टीका कार्यक्रममा सहभागी हुन्थे । २०६२ साल चैत अन्तिममा दोस्रो जनआन्दोलन सुरू भयो ।

त्यो आन्दोलनको क्रममा पाठक प्रहरीबाट गिरफ्तार भए । त्यतिबेला उनी १९ दिन हिरासतमा बसेका थिए । २०६२/२०६३ सालको जनआन्दोलनमा प्रहरी हस्तक्षेपमा परी उनी गम्भीर घाइते भएका थिए । उनको मेरूदण्डमा चोट लागेको थियो । २०६३ साल मंसिरमा सरकार र माओवादीबीच शान्ति सम्झौता भयो । यसपछि बल्ल पाठक खुलेर हिँड्न पाए । ‘गाउँबाट लखेटेपछि हाम्रो परिवार नै बागलुङ बजार सरेको हो,’ पाठकले थपे, ‘मलाई वारेन्ट जारी भएपछि म पनि बाहिर खुलेआम हिँड्न डर भयो । म पनि बागलुङ बजारतिरै बसेँ ।’ उनले २०६७ सालमा नेकपा (एमाले) धौलागिरी अञ्चल समन्वय कमिटी सदस्यको जिम्मेवारी पाए ।

२०७४ सालमा भएको नेकपा (एमाले) जिल्ला कमिटी बाग्लुङको आठौँ जिल्ला अधिवेशनबाट उनी उपाध्यक्ष पदमा निर्वाचित भए । माओवादीसँगको एकता सफल नभएपछि २०७७ फागुनमा नेकपा विभाजन हुँदा संस्थापन पक्षमै रहिरहे । २०७८ सालमा कार्यबहाक अध्यक्षको जिम्मेवारी पाए । २०७८ साल भदौमा एमाले विभाजन हुँदा मूलधार नेकपा (एमाले)मै रहेर बागलुङमा माधव नेपालसँग जान लागेका धेरैलाई एमालेमै राख्न पाठकले सक्रिय भूमिका खेलेका थिए । त्यही वर्ष पुसमा भएको नेकपा (एमाले) जिल्ला कमिटी बाग्लुङको नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदको उम्मेदवार थिए । तर, चुनाव जित्न सकेनन् ।

पाठक २०७९ सालमा नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटीको सचिवालय सदस्य बने । साथै प्रदेशको विज्ञान तथा प्रविधि विभाग प्रमुखको जिम्मेवारी पाए । २०७९ सालको संसदीय निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट गण्डकी प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार भई गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भए । उनी संसदीय गतिविधिमा सक्रिय, स्पष्ट र निडर वक्ताका रूपमा चिनिन्छन् । २०८० साल असोजमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट उनी सदस्य निर्वाचित भएका थिए ।