• ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
  •   Unicode
Logo
Latest
★   जापानमा गर्मीको उच्च रेकर्ड कायम ★   सिरियाको नयाँ प्रधानमन्त्रीमा जलाली नियुक्त ★   फिल्मी शैलीमा अस्पतालको शौचालयबाटै भागे कैदी ★   सप्तरीमा माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, पूर्व–पश्चिम राजमार्गमा अवरोध ★   इन्द्रजात्रा प्रारम्भ: हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइयो -फोटो फिचर ★   भारतको खुद्रा मुद्रास्फीति ३.६५ प्रतिशत ★   इजिप्टमा रेल ठोक्किँदा ३ जनाको मृत्यु, ४९ घाइते ★   बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्योः अध्यक्ष दाहाल ★   इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा कांग्रेसनिकट सिडेनका बराल निर्वाचित ★   मेसी र स्वारेजको गोलमा मियामीको जित

माओवादीबाट ‘डेथ वारेन्ट’ जारी भएका पाठक बने मन्त्री



गण्डकी : तत्कालीन सशस्त्र द्वन्द्वको क्रममा नेकपा (माओवादी केन्द्र)बाट डेथ वारेन्ट जारी भएका बागलुङका कृष्णप्रसाद पाठक गण्डकी सरकारको मन्त्री बनेका छन् ।

नेकपा (एमाले)का सांसद उनी मन्त्री बनेका हुन् । २०७९ सालको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य बनेका पाठक संसदका सक्रिय सदस्यमध्ये एक हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलनिकट पाठक केन्द्रकै निर्देशनअनुसार मन्त्री बनेका हुन् ।

उनलाई मन्त्री बनाउन पार्टी केन्द्रीय सचिव पद्मा अर्याल र गण्डकी प्रदेश इन्चार्ज किरण गुरूङले विशेष पहल गरेका थिए ।

को हुन् पाठक ?

पाठक २०१९ साल माघ ११ गते बागलुङको अमलाचौर गाउँ (हाल बागलुङ नगरपालिका १२) मा जन्मिएका हुन् । उनी १२ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय छन् । २०३१ सालमा उनी नेकपा (मसाल)को विद्यार्थी संगठनमा जोडिएका थिए । बागलुङमा मसालको राम्रो पकड थियो । सात वर्ष विद्यार्थी राजनीति गरेपछि उनले नेकपा (मसाल)को सेल कमिटीमा संगठित भए । त्यहाँ उनलाई विद्यार्थी क्षेत्र हेर्ने जिम्मेवारी दिइएको थियो ।

२०४१ सालमा नेकपा (मसाल) परित्याग गरे । त्यसपछि नेकपा (माले)मा आबद्ध भए । राजतन्त्रको विरोध गरेको अभियोगमा उनले २०४५ सालमा राजकाज मुद्दा व्यहोर्नुपरेको थियो । त्यतिबेला उनी सात दिन हिरासतमा बसेर तारेखमा रिहा भएका थिए । हिरासतमुक्त भएपछि पनि उनी राजनीतिक गतिविधिमा सक्रिय थिए । २०४६ सालमा प्रथम जनआन्दोलन भयो । जनआन्दोलनकै वर्ष उनी नेकपा (एमाले) जिल्ला संगठन कमिटी बाग्लुङको संस्थापक सदस्यमा निर्वाचित भए । बहुदलीय व्यवस्थाको पुनर्वहाली गर्न र पञ्चायती सरकारविरुद्ध पाठक सक्रिय रहे । २०४८ को संसदीय निर्वाचनमा बाग्लुङ जिल्लाको क्षेत्र नं. २ बाट नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य उम्मेदवार बने । चुनाव हारे पनि उनी संठगन निर्माणमा खटिरहे ।

२०४६ देखि २०५८ सम्म १२ वर्ष पाठक नेकपा (एमाले) को संगठन निर्माण अभियानमा सक्रिय भए । त्यतिबेला बागलुङमा नेकपा (मसाल)को दबदबा थियो । उनी पटकपटक कुटपिट र आक्रमणको सिकार भए । २०५४ सालमा वामदेव गौतमले पार्टी विभाजन गर्दा पाठक संस्थापन पक्ष (मनमोहन, माधव, केपी) सँगै थिए । उनले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल र पिपुल्स भोलेन्टियर्स नेपालको केन्द्रीय सदस्य भएर काम गरेका छन् । पाठक नेकपा (एमाले)को पाँचौं, छैटौँ, सातौँ र दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि तथा प्रथम विधान महाधिवेशन प्रतिनिधि भए । २०५२ सालपछि माओवादीको जगजगी बागलुङको गाउँगाउँमा थियो । माओवादीहरू गाउँ नजिकै र गाउँकै सार्वजनिक सम्पत्ति कब्जा गरेर बस्थे । पाठकको गाउँ अमलाचौरमा पनि माओवादीले गाविस भवन कब्जा गरेर बसेका थिए । उनले त्यसको विरोध गरे । त्यसपछि माओवादीहरू त्यहाँबाट हटे । तर, उनीहरूले पाठकको परिवारलाई दुःख दिन थाले ।

माओवादीले २०६१ चैत २९ गते गाउँबाट लखेटे, पाठकलाई डेथ वारेन्ट जारी गरे । ‘माओवादी नेता दिनानाथ शर्मा, देवेन्द्र पौडेल र मेरो गाउँ एउटै हो । २०६१ सालतिर अमलाचौर गाविसको भवनमा माओवादी सेनाले आफ्नो क्याम्प राखेको थियो,’ उनी सम्झन्छन्, ‘गाउँ नै उठाएर मैले त्यो हटाएँ । त्यसपछि मेरो परिवार गाउँबाट विस्थापित भयो ।’ माओवादीले लखेटेपछि पाठकको परिवार बागलुङ बजार पस्यो । डेथ वारेन्ट जारी भएकाले उनी खुलेआम हिँड्न मिल्ने परिस्थिति थिएन । उनी लुक्दै, पार्टीका कार्यक्रममा सहभागी हुन्थे । २०६२ साल चैत अन्तिममा दोस्रो जनआन्दोलन सुरू भयो ।

त्यो आन्दोलनको क्रममा पाठक प्रहरीबाट गिरफ्तार भए । त्यतिबेला उनी १९ दिन हिरासतमा बसेका थिए । २०६२/२०६३ सालको जनआन्दोलनमा प्रहरी हस्तक्षेपमा परी उनी गम्भीर घाइते भएका थिए । उनको मेरूदण्डमा चोट लागेको थियो । २०६३ साल मंसिरमा सरकार र माओवादीबीच शान्ति सम्झौता भयो । यसपछि बल्ल पाठक खुलेर हिँड्न पाए । ‘गाउँबाट लखेटेपछि हाम्रो परिवार नै बागलुङ बजार सरेको हो,’ पाठकले थपे, ‘मलाई वारेन्ट जारी भएपछि म पनि बाहिर खुलेआम हिँड्न डर भयो । म पनि बागलुङ बजारतिरै बसेँ ।’ उनले २०६७ सालमा नेकपा (एमाले) धौलागिरी अञ्चल समन्वय कमिटी सदस्यको जिम्मेवारी पाए ।

२०७४ सालमा भएको नेकपा (एमाले) जिल्ला कमिटी बाग्लुङको आठौँ जिल्ला अधिवेशनबाट उनी उपाध्यक्ष पदमा निर्वाचित भए । माओवादीसँगको एकता सफल नभएपछि २०७७ फागुनमा नेकपा विभाजन हुँदा संस्थापन पक्षमै रहिरहे । २०७८ सालमा कार्यबहाक अध्यक्षको जिम्मेवारी पाए । २०७८ साल भदौमा एमाले विभाजन हुँदा मूलधार नेकपा (एमाले)मै रहेर बागलुङमा माधव नेपालसँग जान लागेका धेरैलाई एमालेमै राख्न पाठकले सक्रिय भूमिका खेलेका थिए । त्यही वर्ष पुसमा भएको नेकपा (एमाले) जिल्ला कमिटी बाग्लुङको नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदको उम्मेदवार थिए । तर, चुनाव जित्न सकेनन् ।

पाठक २०७९ सालमा नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटीको सचिवालय सदस्य बने । साथै प्रदेशको विज्ञान तथा प्रविधि विभाग प्रमुखको जिम्मेवारी पाए । २०७९ सालको संसदीय निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट गण्डकी प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार भई गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भए । उनी संसदीय गतिविधिमा सक्रिय, स्पष्ट र निडर वक्ताका रूपमा चिनिन्छन् । २०८० साल असोजमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट उनी सदस्य निर्वाचित भएका थिए ।