२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृति संरक्षण गर्न धाननाच स्तम्भ बनाइने



अ+ अ-

फुङ्लिङ । लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको पहलमा सो स्तम्भ निर्माण गर्न लागिएको हो ।

धाननाच लिम्बू समुदायको परम्परागत संस्कृति हो । यसले विगतमा युवायुवतीलाई एकीकृत गर्दै सांस्कृतिक सामूहिकता प्रदर्शन गर्न भूमिका खेल्थ्यो । तर, आधुनिकताको प्रभाव र समयको परिवर्तनसँगै धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । धाननाच स्तम्भ निर्माण गर्न करिब रु ५० लाख लाग्ने किरात याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङबोले बताउनुभयो । लाखे जात्राका अवसरमा यो निर्माण कार्य सुरु गरिने छ ।

“तोक्मेडाँडाको भित्तामा निर्माण गरिने उक्त स्तम्भको पछाडिपट्टि कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको दृश्य समावेश गरिने छ”, उहाँले भन्नुभयो । स्तम्भको अगाडि धाननाच प्रस्तुत गर्दै गरेका दुई पुरुष र दुई महिलाको आकृति राखिने छ । प्रत्येक आकृति ६ फिट अग्ला हुनेछन् । यसले धाननाचको मौलिकतालाई प्रदर्शन गर्नेछ । धाननाच स्तम्भ निर्माण गर्न रु ३२ लाखमा स्थानीय कालीगढसँग समझदारी भएको अध्यक्ष मेन्याङबोले बताउनुभयो । स्तम्भ निर्माणस्थल वरिपरि सिँढी बनाइनेछ र घेराबेरा गरेर स्थललाई आकर्षक बनाउन अतिरिक्त संरचना थपिनेछन् ।

किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष डम्बर पालुङवाका अनुसार, स्तम्भ निर्माणले लिम्बू समुदायको सांस्कृतिक सम्पदाको संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्ने छ । “स्तम्भ चार महिनाभित्र निर्माण सम्पन्न गर्ने योजना छ”, उहाँले भन्नुभयो । यसअघि पनि पाथीभरा मन्दिरको बाहिर लिम्बू संस्कृति झल्कने च्याबु्रङ स्तम्भ बनाइएको थियो । धाननाच, लिम्बू समुदायको महत्त्वपूर्ण सांस्कृतिक अभ्यास हो । यो विशेषगरी वैवाहिक क्रियाकलापमा नाचिन्छ । रासस