१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
तपाईं के खोज्दै हुनुहुन्छ ?

तलब नपाएपछि शिक्षक आन्दोलित



अ+ अ-

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि तलब नै नपाएपछि आन्दोलनमा उत्रिन बाध्य भएका छौँ ।”

विसं २०७६ चैतदेखिको तलब निकासा हुनुपर्ने, सिगास स्वयंसेवक शिक्षक कार्यविधि, २०७५ लागू हुनुपर्ने, दशैँ भत्ता, पोसाक भत्तालगायतका सुविधा आफूहरुलाई पनि उपलब्ध गराउनुपर्ने, श्रम ऐनअनुसार तलब भत्ताको व्यवस्था गर्नुपर्ने र शिक्षक सिकाइ अनुदान कोटामा कार्यरत शिक्षकको तलबभत्ता निकास गर्नुपर्ने उनीहरुको माग रहेको छ  । गाउँपालिकाले २४ घण्टाभित्र आफूहरुका मागका विषयमा सुनुवाइ नगरे आन्दोलनमा जाने समितिले चेतावनीसमेत दिएको छ । पटकपटक तलबभत्ताका विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउँदासमेत केही चासो नदिएको भन्दै शिक्षक रुष्ट भएका छन् ।

सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा १९१ निजी स्रोतका शिक्षक कार्यरत छन् । कोरोना भाइरसको महामारीका बीच पनि तलब निकासा नहुँदा साह्र्र्रै समस्या भएको उनीहरुले बताएका छन् । उता गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले राजस्व बाँटफाँड शीर्षकमा रकम निकासा नभएकाले निजी स्रोतका शिक्षकलाई तलब खुवाउन नसकिएको बताउनुभयो । 

निजी स्रोतका शिक्षकलाई तलब खुवाउनका लागि सोही शीर्षकबाट तलब दिने गरेकाले रकम निकासा नहुँदा समस्या भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शिक्षक साथीहरुले मसँग पनि गुनासो गर्नुभएको थियो । एक चौमासिक भए पनि तलब खुवाउने तयारी गरेका थियौँ तर राजस्व बाँटफाँड शीर्षकमा बजेट निकासा कम हुँदा खुवाउन सकेनौँ ।”