२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम क्षेत्रको विकासका लागि प्रतिबद्ध छुः परराष्ट्रमन्त्री डा राणा



अ+ अ-

धनगढी : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । गौरा पर्व मनाउन आज धनगढी पुग्नुभएकी परराष्ट्रमन्त्री डा राणाले आफू सो क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउँदै सो क्षेत्रको विकासबारे हालै भारत भ्रमणका क्रममा भारत सरकारसँग पनि कुरा उठाएको बताउनुभएको हो ।

धनगढी उपमहानगरपालिका वडा नं ४ मा निर्मित आधारभूत स्वास्थ्य केन्द्र एवं वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । आफ्नो हालै सम्पन्न भारत भ्रमणका क्रममा यहाँको गौरीफन्टा नाकालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्नेगरी स्तरोन्नति गर्ने विषयमा आफूले कुरा राखेको जानकारी पनि उहाँले दिनुभयो ।

मन्त्री डा राणाले भन्नुभयो “केही बर्षमात्र अघि पनि तत्कालीन प्रधानमन्त्री श्रद्धेय शेरबहादुर देउवा भारत भ्रमण गएका बेला यो नाकाका बारेमा कुरा राख्नुभएको थियो । यो नाका हाम्रो सुदूरपश्चिम क्षेत्रकै एक ‘लाइफा लाइन’ नै हो । त्यसैले यस पटकको भ्रमणमा मैले हाम्रा तर्फबाट यस विषयमा कुरा राखेको छु । भारतीय पक्षबाट पनि केही लिखित प्रस्ताव आओस् भन्ने कुरा आएको छ । हामी यो नाकाको स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी प्रक्रिया अघि बढाउने छौँ ।”

त्यसैगरी भारत भ्रममणकै क्रममा धनगढीको फाप्लुमा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानका विषयमा पनि आफूले कुरा उठाएको उहाँले जानकारी दिनुभयो ।

उहाँले बिगत लामो समयदेखि नै नेपाली कांग्रेसको नेतृत्वको सरकारले नेपालमा विकास निर्माणका कामहरु गर्दै आएको स्मरण गर्दै स्थानीय सरकारलाई बलियो बनाउने गरी संवैधानिक व्यवस्था गर्ने, स्थानीय सरकारलाई सशक्त र सुविधासम्पन्न बनाउने एवं महिलाको प्रतिनिधित्वसहित समावेशी प्रकृतिको स्थानीय सरकार बनाउने अभियानको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको चर्चा गर्नुभयो ।

भवन तथा अन्य संरचनाहरुको निर्माण पनि एक प्रकारको विकासको सूचक हो भन्दै तर निर्माण भएका यी सरकारी सम्पत्तिको संरक्षण गर्न तथा समय समयमा तिनको मर्मत सम्भार गर्न पनि उहाँले सम्बद्ध व्यक्ति तथा पदाधिकारीलाई सुझाव दिनुभयो । उहाँले कुनै पनि संरचना निर्माण गरेर मात्र नहुने र ती भवन अथवा संरचनाहरुबाट नागरिकले स्थानीय स्तरमा दिइने सेवा सुविधाहरु प्राप्त गर्न पाउनुपर्ने धारणा पनि राख्नुभयो ।

धनगढी उपमहानगरपालिकामा विकास निर्माणका कामहरु भइरहेका बताउँदै मन्त्री डा राणाले भन्नुभयो “विकास निर्माण एक प्रक्रिया हो र यो विस्तारै हुँदै जान्छ । यस उपमहानगरमा यहाँका मेयरको नेतृत्वमा विकासका कामहरु भइरहेका छन्, मलाई खुसी लागेको छ ।”

गौरा पर्व मनाउन आज बिहान धनगढी पुग्नुभएकी मन्त्री डा राणाले धनगढीस्थित आफ्नो निवासमा पूजा गर्नुभएको थियो । बिहान उहाँलाई धनगढी विमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु, सो प्रदेशका उच्च सरकारी अधिकारी तथा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताहरुले स्वागत गर्नुभएको थियो ।