४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वमा परिवार खोजिरहेका आँखाहरुसँग तीज-फोटो फिचर



अ+ अ-

काठमाडौँ । काठमाडौँको मीनभवनमा रहेको नि:सहाय सेवा सदनमा तीजको गीत बज्न थालेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकहरु कोही फुरफुर गर्न र कोही टोल्हाउन थाल्नुभयो ।

सधैँ जस्तै बिहानको खाना खाने समय उहाँहरुका लागि अन्य दिनभन्दा फरक रहेको थियो जहाँ हालै मात्र हरितालिका तीज पर्वलाई ध्यानमा राखेर सार्वजनिक गरिएको ‘यसपालिको तीज रमाइलो’गीत बजिरहेको थियो ।

गीतकार निर्मलराज पौडेलले यसपटकको तीजलाई भिन्न ढङ्गले मनाउने सन्दर्भमा बुधबार उक्त सेवा सदनका ज्येष्ठ नागरिकहरुसँग तीज मनाउन पुग्नुभएको थियो । त्यस अवसरमा श्री पौडेलले ज्येष्ठ नागरिकलाई आफू र गायिका शान्तिश्री परियारको स्वरबद्ध तीज गीत सुनाउँदै दरमा सामेल हुनुभएको थियो । ‘चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर’ बोलको गीत सुनेर ज्येष्ठ नागरिकहरुको मुहारमा खुसी छचल्किएको थियो ।

त्यस अवसरमा काठमाडौँ महानगर–३१ का वडाध्यक्ष सरोज ढकालले पनि ज्येष्ठ नागरिकहरुका लागि वडाले सक्दो सहयोग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नि:सहाय सेवा सदनले ज्येष्ठ नागरिकहरुलाई आफ्ना परिवारको अभाव हुन दिइरहेको छैन, यो ज्यादै खुसीको कुरा हो र यहाँको व्यवस्थापन निकै लोभलाग्दो छ ।”

सेवा सदनका सह–प्रशासकीय अधिकृत योगेश अधिकारीका अनुसार सदनमा ६५ देखि १०० वर्षसम्मका ३९ जना ज्येष्ठ नागरिकहरु रहनुभएको छ । अधिकारीले भन्नुभयो, “यो अवस्थामा उहाँहरुलाई सबैभन्दा खड्किने कुरा भनेकै परिवार रहेछ । हामीले सक्दो गरिरहेका हुन्छौँ तर पनि नौलो मान्छे र केटाकेटी देख्नेबित्तिकै टोल्हाउने, झ्यामिने गर्नुहुन्छ । आँखाबाट बरर आँसु झार्नुहुन्छ ।”

गीतकार पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत केही समयअघि सार्वजनिक भएको थियो । रासस