• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   महाकाली नदीको जलसतह उच्च, सतर्कता अपनाउन अनुरोध ★   जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने ★   प्रधानमन्त्रीसँग खेलकुदमन्त्रीको आग्रह: आगामी आ.व.मा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस् ★   दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँमा ट्याक्सीसहित चालकको प्रदर्शन ★   एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने ★   उपसभामुखलाई पदबाट हटाउन सम्भव छैन: पूर्वसभामुख सापकोटा ★   जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा ★   नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको छ: प्रधानमन्त्री ★   नेपाल प्रिमियर लिग: मार्की प्लेयरको नाम सार्वजनिक ★   ‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’

पलायनको वार्षिकोत्सव मनाउँदै रोहिङ्ग्या शरणार्थीहरू



एजेन्सी । बङ्गलादेशका शिविरहरूमा बस्ने म्यान्माका दशौँ हजार रोहिङ्ग्या शरणार्थीहरूले आइतबार आफ्नो सामूहिक पलायनको सातौँ वार्षिकोत्सव मनाएका छन् ।

उनीहरूले म्यान्माको रखाइन राज्यमा सुरक्षित फिर्तीको मागसमेत गरेका छन् ।

कक्स बजार जिल्लाको कुटुपलोङ शिविरको खुला मैदानमा ‘रोहिङ्ग्या नरसंहार दिवस’ भनेर चिनिने दिन आइतबार शरणार्थीहरू वर्षाको पर्वाह नगरी ‘होप इज होम’ र ‘हामी रोहिङ्ग्या म्यान्माका नागरिक हौँ’ लेखिएको ब्यानर र तोरण बोकेर भेला भएका थिए ।

सन् २०१७ अगस्ट २५ मा म्यान्माको रखाइन राज्यमा अन्धाधुन्ध हत्या र हिंसाका बीच दशौँ हजार शरणार्थीहरू पैदल र डुङ्गाबाट सीमा पार गरेर बङ्गलादेश जान थालेका थिए ।

विद्रोही समूहले सुरक्षा चौकीमा आक्रमण गरेपछि म्यान्मामा क्रुर कारवाही सुरु भएको थियो । सङ्गठन र उग्रताका कारण कारबाहीको मापनलाई संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायले जातीय सफाया र नरसंहारको आरोप लगाएका थिए ।

बङ्गलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाले सीमा रक्षकहरूलाई सीमा खोल्न आदेश दिनुभएपछि सात लाखभन्दा धेरै शरणार्थीहरूलाई मुस्लिम बहुल बङ्गलादेशमा शरण लिन अनुमति दिइएको थियो । उक्त आगमन पहिलानै म्यान्माको सेनाले गरेको हिंसाबाट दशकौँदेखि बङ्गलादेशमा बस्दै आएका तीन लाख अतिरिक्त शरणार्थीबाहेकको थियो ।

सन् २०१७ पछि बङ्गलादेशले शरणार्थीहरूलाई फर्काउन कम्तीमा दुई पटक प्रयास गरेको छ र अन्तर्राष्ट्रिय समुदायसँग म्यान्माभित्र शान्तिपूर्ण वातावरणका लागि दबाब सिर्जना गर्न आग्रह गरेको छ । हसिनाले मध्यस्थताका लागि चीनसँग पनि सहयोग माग्नुभएको थियो ।

तथापि हालका दिनमा अराकन आर्मी (एए) नामक समूहले म्यान्माको सुरक्षा बलविरुद्ध लडाइँ सुरु गरेपछि रखाइन राज्यमा अवस्था अझ अस्थिर बनेको छ । नयाँ सिराबाट फैलिएको अराजकताले थप शरणार्थीहरूलाई आफ्नो ज्यान बचाउन बङ्गलादेश र अन्य स्थानमा भाग्न बाध्य बनाएको छ ।

म्यान्माका सयौँ सैनिक र सीमा रक्षकहरूले पनि हिंसाबाट बच्नका लािग बङ्गलादेशभित्र शरण लिएका छन् तर पछि बङ्गलादेशले उनीहरूलाई शान्तिपूर्वक म्यान्मालाई हस्तान्तरण गरिदियो ।

आइतबार बङ्गलादेशका शिविरहरूमा विरोध प्रदर्शन हुँदै गर्दा संयुक्त राष्ट्रसङ्घ र अन्य अधिकार समूहहरूले म्यान्मामा चलिरहेको अराजकताप्रति चिन्ता व्यक्त गरेका छन् ।

वासिङ्टनस्थित शरणार्थी इन्टरनेसनलले आइतबार विज्ञप्तिमा अवस्थाको वर्णन गरेको छ । “रखाइन राज्यमा पछिल्लो वर्षमा म्यान्माको सैन्य जुन्टा र एएबीच बढेको लडाइँले रोहिङ्ग्याहरूलाई बीचमा पारेको छ र उनीहरूलाई निशाना बनाएको छ”, विज्ञप्तिमा भनिएको छ, “एएले हालै गाउँहरूमा बमबारी गर्न ड्रोनको प्रयोग गर्दै बुथिडाउङ, मङ्डाउ र अन्य सहरहरूमा घरहरू जलाइदिएको छ ।”

“जुन्टाले रोहिङ्ग्यालाई जबर्जस्ती भर्ती गरेको छ र जवाफी कारबाहीमा गाउँहरूमा बमबारी गरेको छ, दशौँ हजार रोहिङ्ग्या भर्खरै विस्थापित भएका छन् र तीमध्ये धेरैजसो बङ्गलादेशमा भाग्न खोजेका छन्”, विज्ञप्तिमा उल्लेख छ ।

युनिसेफले सर्वसाधारण विशेषगरी बालबालिका र परिवारहरूलाई गोलीबारीमा निशाना बनाइँदा मृत्यु र गम्भीर चोटका चिन्ताजनक रिपोर्ट प्राप्त भएको बताएको छ । युनिसेफले रखाइनमा मानवीय पहुँचलाई अत्यन्त चुनौतीपूर्ण बनाएको बताएको छ ।