• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   बागलुङ दुर्घटना: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु ★   सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, तोलामा कति पुग्यो ? ★   कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार, कांग्रेसका ४ मन्त्रीले लिए शपथ ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब ★   अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय ★   काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर ★   कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी ★   वनहराका भूमिहीनको जीवन जोखिममा ★   बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु ★   ६४ इन्स्पेक्टर र २३६ असइ भर्ना गर्न आवेदन माग

गण्डकी महासभाको ३०औँ शृङ्खला पञ्चकोटमा



गण्डकी: विश्वशान्ति गण्डकी महासभामा बोल्ने विद्वत वक्ताहरूले कालीगण्डकी नदी र यस नदी क्षेत्रमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणमा जोड दिएका छन् ।

बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आज आयोतिज ३०औँ गण्डकी महासभामा वक्ताहरूले प्राकृतिक स्रोतमाथि भइरहेको दोहनले प्राणी जगत् सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरे ।

विश्वहिन्दू महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष शङ्कर खरालले कालीगण्डकी नदीमात्र नभएर सभ्यता भएको बताउनुभयो । उहाँले कालीगण्डकीको उद्गमस्थल दामोदर कुण्ड मानव विकासक्रमसँग जोडिएको उल्लेख गर्नुभयो ।

गण्डकी महासभाका प्रवक्ता सुदर्शन आचार्यले कालीगण्डकी नदी र यस आसपासका तीर्थस्थलहरूको ऐतिहासिक पृष्ठभूमि र महिमा रहेको बताउनुभयो । “यो ऋषिमुनि र महर्षीले तपस्या गरेको पुण्यभूमि हो, धर्मग्रन्थ र पुराणहरूमा समेत यस क्षेत्रको वर्णन छ”, उहाँले भन्नुभयो, “शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी यही मुक्तिक्षेत्र भएर बग्छिन् ।” गण्डकी महासभाको मूल उद्देश्य कालीगण्डकी नदी बचाउनु रहेको बताउनुहुँदै प्रवक्ता आचार्यले पूर्वी नेपालमा कोशी सभ्यता र पश्चिममा कर्णाली सभ्यता भएझैँ मध्यनेपालमा गण्डकी सभ्यता रहेको उल्लेख गर्नुभयो । “कालीगण्डकी नदी सङ्कटमा परे सिङ्गो गण्डकी सभ्यता नै हराउने छ । त्यसैले जनस्तरसम्म सचेतना विस्तार गर्दै सरोकार भएका पक्षलाई कालीगण्डकी नदी र शालिग्राम संरक्षणमा जिम्मेवार बन्न दबाब दिने उद्देश्यले गण्डकी महासभा आयोजना गरिएको हो”, प्रवक्ता आचार्यले भन्नुभयो । उहाँले गण्डकी प्रदेशका ११ जिल्ला र ८५ वटै स्थानीय तहमा गण्डकी महासभा सञ्चालन गरिने बताउनुभयो ।

हालसम्म बागलुङ, पर्वत, म्याग्दी, कास्की, तनहुँलगायत जिल्लामा महासभा आयोजना गरिएको पञ्चकोट विकास परिषद्ले जनाएको छ । परिसद्का अध्यक्ष जगन्नाथ आचार्यले जल, जमिन र जङ्गलबिना प्राणी जगत्को अस्तित्व नरहने भन्दै उहाँले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालको हिमालय क्षेत्र हुँदै बग्ने नदीहरू विश्वका दुई अर्ब मानिसको पानीको स्रोत रहेको भन्दै विज्ञहरूले पनि कालीगण्डकीलगायत नदीको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै आएका छन् ।

कालीगण्डकीको दोहनले यहाँको सौन्दर्य र सभ्यतामात्र नासिने नभई समग्र मानव–प्रकृति चक्रलाई खल्बल्याउने भएकाले संरक्षण अभियान चलाउनुपरेको अभियानकर्मीहरूले बताएका छन् । धार्मिक, सांस्कृतिक गरिमा, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरुपमा बग्न दिनुपर्ने उनीहरुको माग छ ।

हिन्दू धर्मसंस्कारमा विष्णु भगवान्को अवतारका रूपमा पूजिने शालिग्राम पाइने विश्वकै एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ । हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकी देशको मध्यभागको प्रमुख नदी प्रणाली हो ।रासस