• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमान् नरेश अदालतमा पेश, मागे दोभासे



काठमाडौं । अमेरिकाको भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भाट (भट्ट) लाई शव लुकाएको अभियोगमा पक्राउ गरेर अदालतमा पेश गरिएको छ ।

प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टको रेकर्ड अनुशार शुक्रबार विहान ८ बजेर ३१ मिनेटमा उनलाई अदालतमा पेश गरिएको हो । अर्को सुनुवाई अक्टोबर २४ का लागि तय गरिएको छ ।

नरेशमाथि हत्याको अभियोग लगाइएको छ । ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको प्रहरीले अदालतमा पेश गरेको कागजातमा उल्लेख छ ।

अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ ।

नरेशले तीनवटा चक्कु र सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको खुलेको छ । किनेका तीनवटा चक्कुमध्ये २ वटा फेला नपरेको जनाइएको छ । अनुसन्धानकर्ताहरुले मास्टर बेडरूम र बाथरुममा रगतका टाटाजस्ता देखिने प्रमाणहरु पनि फेला परेको छन् ।

पहिलोपटक अदालतमा पेश गर्दा उनी भौतिक रुपमा नै अदालतमा उपस्थीत रहेका थिए । उनले आफू अँग्रेजीमा धेरै धाराप्रवाह नभएको भन्दै नेपाली दोभाषेका लागि अनुरोध गरेका थिए । उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ । तर प्रहरीले अभियोगमा संसोधन वा थप हुनसक्ने समेत बताएको छ ।